BIZMANDU
www.bizmandu.com

राजदूतहरुले भने, ‘नेपालको हवाई भाडा धेरै महँगो भयो, भाडा घटाएर पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ’

२०७८ साउन ६

राजदूतहरुले भने, ‘नेपालको हवाई भाडा धेरै महँगो भयो, भाडा घटाएर पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ’
राजदूतहरुले भने, ‘नेपालको हवाई भाडा धेरै महँगो भयो, भाडा घटाएर पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ’

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ बाट सर्वाधिक प्रभावित पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ।

कोभिडका कारण थलिएको नेपाली पर्यटन उद्योगलाई उकास्न नयाँ रणनीति, उत्पादन र कार्यनीतिसँगै विभिन्न देशका दुतावासको सहयोग आवश्यक रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए।

मंगलबार आयोजित कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरुले यतिबेला कोभिडका कारण सबैतिर समस्या भएपनि त्यसपछिका लागि अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको बताए । खोपको विकास र वितरणसँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान  हुन थालेको भन्दै रजदूतहरुले नेपालका लागि छिमेकी देशहरु नै ठूलो स्रोत/बजार भएको उल्लेख गरेका छन्। 

बोर्डले मंगलवार भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका लगायत देशका राजदूत तथा राजदूतावासका अन्य अधिकारीहरुसँग भर्चुअल अन्तरक्रिया गरेको थियो। राजदूतहरुले नेपालको हवाई भाडा अति महँगो भएकाले पर्यटक आगमनमा समस्या पर्ने गरेकाले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताएका छन्।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले नेपालका लागि बंगलादेश ठूलो बजार रहेपनि नेपालको पर्यटन प्रवर्द्धन हुने कामहरु हुन नसकेको बताए। बंगलादेशमा करिब डेढ करोड हिन्दु र ८० लाख बुद्ध धर्मालम्बी भएकोले केही प्रवर्द्धनात्मक पहल र कनेक्टिभिटीमा जोड दिन आवश्यक रहेको उनले औंल्याए। नेपालतर्फ लामो समयदेखि हुन नसकिरहको उच्चस्तरीय भ्रमण गत वर्ष भएको र त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आवश्यक रहको उनले बताए। 

यसैगरी, पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीको विचारमा नेपालले सीमा पर्यटनलाई जोड दिन आवश्यक रहेको छ। अंग्रेजी अन्तरराष्ट्रिय भाषा भएपनि विश्वमा अंग्रेजी नबुझ्नेको संख्या ठूलो रहेकाले देशगत रुपमा स्थानीय भाषामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने सामग्रीहरु तयार पार्न उनले बोर्डलाई सुझाव दिए।

भारतस्थित नेपाली दुतावासका मिनिष्टर (इकोनोमिक) नीता पोखरेल अर्यालले नेपालका लागि भारत प्रमुख स्रोत बजार भएकाले भारतमा थप प्रवर्द्धनात्मक कार्यक्रम आवश्यक रहेको बताएकी छिन्। भाषा,धर्म संस्कृति र खानपानका कारण पनि भारतीयहरुलाई नेपाल सहज गन्त्वय भएकाले आकर्षक प्याकेजसहितको बजारीकरणलाई जोड दिन आवश्यक रहेको उनको भनाइ छ।

श्रीलंकास्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलंकाका लागि प्रमुख आर्कषण लुम्बिनी भएपनि साहसिक पर्यटनका लागि पनि श्रीलंकन पर्यटकलाई नेपाल लैजान सकिने बताए। पर्यटन पूर्वाधारका विषयमा नेपालले श्रीलंकाबाट धेरै सिक्न सक्ने धारणा राख्दै थप पर्यटक लैजान एयर कनेक्टिभिटीमा जोड दिन आवश्यक रहको धारणा उनले राखे। 

बोर्डले यसअघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवर्द्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ। 

'बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैली अपनाई नेपालको पर्यटकीय छविलाई अन्तराष्ट्रिय क्षेत्रमा कायम राखी प्रवर्धनात्मक कार्यहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै आएको छ,' बोर्डका मार्केटिङ म्यानेजर लक्ष्मण गौतमले भने।