BIZMANDU
www.bizmandu.com

जाग्यो आशा: गौतम बुद्ध विमानस्थलको कर्मचारी दरबन्दी स्वीकृत, कहिले आउँछ संचालनमा?


जाग्यो आशा: गौतम बुद्ध विमानस्थलको कर्मचारी दरबन्दी स्वीकृत, कहिले आउँछ संचालनमा?
जाग्यो आशा: गौतम बुद्ध विमानस्थलको कर्मचारी दरबन्दी स्वीकृत, कहिले आउँछ संचालनमा?

Tata
GBIME
Nepal Life

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि आवश्यक कर्मचारी दरबन्दी टुंगो लागेको छ। भौतिक निर्माण अन्तिम चरणमा पुगेको यो विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ सय ५१ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो।

यो विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत छ। यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक कर्मचारीको दरबन्दी प्राधिकरणको संचालक समितिबाट पारित हुन बाँकी छ।

यो विमानस्थलका लागि १ सय १० कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ। यसको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ। यो विमानस्थलमा तीन सय कामदार परिचालित छन्।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले नयाँ विमानस्थलका लागि कर्मचारी दरबन्दी स्वीकृत भइरहेको र निर्माण समेत अन्तिम चरणमा रहेको बताए। ‘अहिले हाम्रो दरबन्दी १ हजार ६५ जना हो। नयाँ विमानस्थललाई समेत मध्यनजर कर्मचारी राख्न दरबन्दी स्वीकृतसमेत भइसकेको छ,’ उनले बिजमाण्डूसँग भने।

दुई विमानस्थलका लागि एटीसी माग

प्राधिकरणले केही दिन अघि ३४ जना एयर ट्राफिक कन्ट्रोलर मागेको छ। क्षत्रीका अनुसार दुई विमानस्थलका लागि समेत एटीसी मागिएको हो। प्राधिकरणले १ सय ६४ जना खुला र ३२ जना आन्तरिक गरेर १ सय ९६ कर्मचारी मागेको थियो।

विशेष प्रकारको जहाजमार्फत फ्लाइट क्यालिब्रेसन
फ्लाइट क्यालिब्रेसनका लागि बिचक्राफ्टको विशेष किसिमको जहाज प्रयोग गरिनेछ, जसमा विशेष एभियोनिक्स राखिएको हुन्छ।

उपकरण जडानका तालिकाहरु सबै आइसकेको छ। अब फ्लाइट क्यालिब्रेसन बर्खापछि हुनेछ।

 भारतसँग छलफल हुँदै

प्राधिकरणका अनुसार, पछिल्लो समय श्रीलंकन एयरलाइन्स, म्यानमार एयरवेज, कतार एयरवेज र फ्लाइ दुबई लगायतका वायुसेवा कम्पनीले यो विमानस्थलबाट उडान गर्न चासो देखाइरहेका छन्।

आयोजनाले थाइल्याण्डको थाइ एयरवेजका साथै भारत, अस्ट्रेलिया लगायत मुलुकका वायुसेवा कम्पनीसँग पनि उडान संचालनका लागि पत्राचार गरिरहेको छ। तर यो विमानस्थल संचालनमा आउनका लागि भारतले एयर रुटको अनुमति पनि दिनुपर्ने छ ।

अहिलेसम्म भारतले यसमा 'ग्रीन सिग्नल' दिएको छैन। यसकारण गौतम बुद्ध विमानस्थल तयार भएर पनि संचालनमा ल्याउनका लागि भारततर्फको एयर रुट पर्मिट सबैभन्दा ठूलो समस्या देखिएको छ।

यसका लागि प्राधिकरणले भारतसँग समन्वय गरिरहेको क्षत्रीको भनाइ छ। 'आइएफआर डिपार्चर हुँदा इण्डियामा अलिकति छोएको कुरा भएको छ। त्यो विषयमा नेगोसिएसन गर्नु पर्नेछ,' उनले भने।

यसबाहेक यो विमानस्थलबाट उडान संचालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को पनि स्वीकृति लिन बाँकी नै छ। भारत र आईकाओ दुवैबाट स्वीकृति पाएपछि यो विमानस्थलमा नियमित उडान सुरु हुने प्राधिकरणको भनाइ छ। तर यी सबै प्रक्रिया पूरा गरेर उडान संचालन आउने मिति भने निश्चित छैन।