BIZMANDU
www.bizmandu.com

चीनको प्रसिद्ध अटाे ब्राण्ड ‘ग्रेट वाल’ नेपाल भित्रियो, दुईवटा एसयुभी र एउटा पिकअप आयो बजारमा

२०७८ साउन ५

चीनको प्रसिद्ध अटाे ब्राण्ड ‘ग्रेट वाल’ नेपाल भित्रियो, दुईवटा एसयुभी र एउटा पिकअप आयो बजारमा
चीनको प्रसिद्ध अटाे ब्राण्ड ‘ग्रेट वाल’ नेपाल भित्रियो, दुईवटा एसयुभी र एउटा पिकअप आयो बजारमा

काठमाडौं। चीनको प्रसिद्ध एसयुभी गाडी निर्माता कम्पनी ग्रेट वाल मोटर्स (जिडब्लुएम) नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि जीडब्लुएमको आधिकारिक बिक्रेता विशाल ग्रुपअन्तर्गतको सहायक कम्पनी भिजी इम्पेक्स हो ।

Tata
GBIME
Nepal Life

भिजिले जिडब्लुएमको बिक्री सुरु गर्दै दुईवटा एसयुभी र एउटा पिकअप नेपालमा सार्वजनिक गरेको जानकारी दिएको छ।

काठमाडौैंको थापाथलीमा भिजिले जिडब्लुएमको आधिकारीक शोरुम राखेको छ। शोरुमसँगै अन्तर्राष्ट्रियस्तरको सर्भिस सेन्टरमार्फत कम्पनीले हेभल एच सिक्सको तेस्रो संस्करण, हेभल जोलियन लगायत दुई एसयुभी र पिकअप सेगमेन्टअन्तर्गत पोयरको  बिक्री सुरु गरिसकेको जनाएको छ।

कोभिड असरको अहिलेको अवस्था सामान्य भएसँगै कम्पनीले मुलुकभर आफ्नो क्षमता विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ। ग्राहक सेवा सहजतालाई मध्यनजर गर्दै कम्पनीले मुलुकभर फोर एस  (सेल्स, सर्भिस, स्पेयर्स, सर्वे) सेवा लक्षित केन्द्र विस्तार गर्दै लैजाने योजना रहेको जनाएको छ।       

अन्य एसयुभी र पिकअपको तुलनामा ग्रेटवालको उत्पादन थप आकर्षक रहेको कम्पनीले दाबी गरेको छ।   

यस्तो छ कम्पनीले सार्वजनिक गरेको दुईवटा एसयुभी र एउटा पिक अपको विशेषताः

थर्ड जेन हेभल एच सिक्स
एसयुभी (स्पोर्ट्स युटिलीटी भेहिकल) सिरिज अन्तर्गत रहेको यो लक्जरियस गाडी हो। २.० लिटरको टर्बो पेट्रोल इन्जिनयुक्त यस गाडीमा १५० किलोवाटको शक्ति र ३२० एनएम 'नुटन मिटर' टर्क क्षमता रहेको छ। बनोटमा ७२ प्रतिशत स्टिल प्रयोग गरिएको यो गाडी अन्य एसयुभीको तुलनामा स्थिर र थप मजबुत रहेको कम्पनीको दाबी छ।

गाडीमा सनरुफ, अटोमेटीक वाइपर, मल्टी फंसनल स्टेरिङ, आठवटा तरिकामा मिलाउन सिने ड्राइभर सिट, वायरलेस चार्जिङ लगायत सुविधा जडान गरिएको छ।

चालक र यात्रु सुरक्षालाई मध्यनजर गर्दै गाडीमा आठवटा एयर ब्याग, ३६० डिग्रीको क्यामेरा, हिल असिस्ट कन्ट्रोल, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स सिस्टम, एन्टी कोजन सिस्टम लगायत सुविधा जडान गरिएको छ।   

गाडीको इन्टेरियरमा लेदर सिट र बडी लेग स्पेशले चालक र यात्रुलाई शानदार गाडी सवारको अनुभुति हुने कम्पनीको दाबी छ। हेमिल्टन व्हाइट, अयेर्स ग्रे र अटलान्टिक ब्लु लगायत तीनवटा रङमा उपलब्ध गाडीको नेपाली बजार मूल्य ९७ लाख रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

हेभल जोलियन  
तीनवटा संस्करणमा उपलब्ध १.५ लिटरको टर्बो पेट्रोल इन्जिनयुक्त गाडीमा ११० किलोवाट शक्ति र २२० एनएम टर्क क्षमता रहेको छ। चार किसिमको ड्राइभ मोड, इलेक्ट्रिक पार्किङ ब्रेकिङ लगायत सुविधा भएको गाडीको संरचनामा ७३ प्रतिशत स्टिल प्रयोग गरिएको छ।

गाडीमा पानारोमिक सनरुफ, अटोमेटिक, वाइपर, मल्टी फङ्सनल स्टेरिङ,पैडल सिफ्टर, छ तरिकाले मिलाउन सकिने ड्राइभर सिट लगायत सुविधा रहेका छन्। चालक र यात्रु सुरक्षालाई मध्यनजर गर्दै गाडीमा आठवटा एयरब्याग, नापा लेदर सिट लगायत छ।

गाडीमा एन्टिलक ब्रेकिङ सिस्टम, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, ड्राइभर ड्राउजिनेस डिटेक्सन, इवेन्ट डाटा रेकर्डर र एन्टी कोलिजन कन्ट्रोल लगायत सुविधा जडान गरिएको छ। 

कम्पनीका अनुसार जडान गरिएको एलइडी लाइटिङ, टच स्क्रिन, रियर फग लाइट लगायत प्रयोगले गाडी चलाउने अनुभवलाई थप उत्कृष्ट बनाउने छ। ब्लु, ग्रे, हेमिल्टन व्हाइट, मार्स रेड लगायत पाँच रङमा उपलब्ध रहेको यो गाडीको सुरुवाती मूल्य नेपालमा ५५ लाख ५० हजार रुपैयाँ तोकिएको छ। 


पोएर पिक-अप
एलिट र पाइलट लगायत दुईवटा संस्करणमा रहेको पिक-अपमा २.० लिटरको डिजल इन्जिन राखिएको छ। गाडीमा १२० किलोवाटको शक्ति र ४००  एनएम टर्क पावर रहेको कम्पनीले जनाएको छ। ८४ प्रतिशत उच्च गुणस्तरको स्टील संरचनाले गाडीलाई अधिक भारवहन क्षमता, स्थिरता र मजबुती प्रदान गर्ने कम्पनीको दाबी छ। 

कम्पनीका अनुसार पिक-अप सेगमेन्ट अन्तर्गत पोएर नै सनरुफ युक्त पहिलो गाडी रहेको छ। गाडीमा साँचोरहित स्टार्ट, ६ तरिकाले मिलाउन सकिने ड्राइभिङ सिट, आठवटा एयरब्याग, नापा लेदर लगायत विशेषता रहेका छन्।

चालक तथा यात्रु सुरक्षालाई मध्यनजर गर्दै यो पिक-अपमा एन्टी लक ब्रेकिङ सिस्टम, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, भेहिकल स्टेबिलीटी कन्ट्रोल, लगायत विशेषता समावेश गरिएको छ। गाडीमा समावेश गरिएको स्पिड वार्निङ सिस्टममार्फत चालकलाई उच्च गति नियन्त्रण गर्न मद्दत हुने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यो गाडीको नेपाली आधिकारिक बजार मूल्य ६५ लाख रुपैयाँ निर्धारण गरिएको छ। 

सन् १९९८ देखि सवारीसाधन बिक्री सुरु गरेको जिडब्लुएमले चीनबाहेक ६० भन्दा बढी देशमा पाँच सयभन्दा बढी आधिकारिक डिलरको संजाल खडा गरिसकेको छ। कम्पनीले नेपाली बजारको मागलाई मध्यनजर गर्दै छिट्टै विद्युतीय गाडी 'ओरा'को पनि बिक्री थाल्ने योजना रहेको जनाएको छ।