BIZMANDU
www.bizmandu.com

लकडाउनले ग्राहक सीमापारि जान नपाउँदा पूर्वका चार राजस्व कार्यालयले लक्ष्यभन्दा बढी प्रगति गरे


लकडाउनले ग्राहक सीमापारि जान नपाउँदा पूर्वका चार राजस्व कार्यालयले लक्ष्यभन्दा बढी प्रगति गरे
लकडाउनले ग्राहक सीमापारि जान नपाउँदा पूर्वका चार राजस्व कार्यालयले लक्ष्यभन्दा बढी प्रगति गरे

Tata
GBIME
Nepal Life

विराटनगर। लकडाउनका बेला पनि पूर्वका चार ठूला आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको निर्धारित लक्ष्य पूरा गरेका छन्।
पूर्वमा मोरङको विराटनगर, सुनसरीका धरान र इटहरी तथा झापाको चन्द्रगढीस्थित राजस्व कार्यालयले लक्ष्य पूरा गरेका हुन्।

कर विज्ञ सिए मनोज अधिकारीका अनुसार लकडाउनका बेला सीमा नाका सिल हुँदा किनमेलका लागि सर्वसाधारण भारतीय सीमावर्ती बजार जान सकेनन्। उनीहरूले स्वदेशका बजारमै किनमेल गरे। यसका कारण भ्याट, आयकर र अन्तःशुल्कका सूचकाङ्क बढेका हुन्।

विराटनगरस्थित कार्यालयका प्रमुख विमल सापकोटाले गत आर्थिक वर्षको कुल लक्ष्य ६ अर्ब ८४ करोड ४६ लाखमा ८ अब ९३ करोड ३७ लाख असुली भई १ सय १ प्रतिशतले प्रगति भएको बताए।कार्यालयले आयकरको २ अर्ब ७१ करोड १२ लाखको लक्ष्यमा ३ अर्ब ५२ करोड १९ लाख र भ्याटको १ अर्ब ६१ करोड ९६ लाखको लक्ष्यमा २ अर्ब ५३ करोड ९० लाख असुल गरेको छ। त्यस्तै अन्तःशुल्कको ४ अर्ब ५१ करोड ३७ लाखको लक्ष्यमा २ अर्ब ८७ करोड २८ लाख सङ्कलन गरिएको छ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा १० अबै १२ करोड ५९ लाखको लक्ष्य पाएकोमा ६ अर्ब ९५ करोड ७९ लाख असुल गरेर ६९ प्रतिशत प्रगति हासिल गरेको थियो।सुनसरीस्थित आन्तरिक राजस्व कार्यालय धरानले चालु आवमा २ अर्ब २८ करोड ८६ लाखको लक्ष्यमा २ अर्ब ८६ करोड १३ लाख सङ्कलन गरेर १ सय २५ प्रतिशत प्रगति गरेको छ।

धरान कार्यालयले आयकरको ८४ करोड ७६ लाखको लक्ष्यमा ९६ करोड ६० लाख र भ्याटको ६६ करोड ९२ लाखको लक्ष्यमा ९२ करोड २७ लाख असुली गरेको छ। त्यस्तै अन्तःशुल्कतर्र्फ धरान कार्यालयले ६७ करोड ८५ लाखका लक्ष्यमा ८९ करोड  ६८ लाख सङ्कलन गरेको कार्यालय प्रमुख तीर्थ बरालले बताए।

सुनसरीको इटहरीस्थित कार्यालयले २ अर्ब ७९ करोड ७६ लाखको निर्धारित लक्ष्यमा २ अर्ब ९८ करोड ९८ लाख असुली गरेको छ। इटहरीका कार्यालय प्रमुख शान्तिराम निरौलाका अनुसार भ्याटको ८१ करोड ८६ लाखको लक्ष्यमा १ अर्ब ९ करोड ८३ लाख, आयकरको १ अर्ब ३ करोड ६० लाखको लक्ष्यमा १ अर्ब १८ करोड ७४ लाख र अन्तःशुल्कको ८२ करोड ९३ लाखको लक्ष्यमा ६३ करोड ५५ लाख सङ्कलन गरिएको छ।

त्यस्तै झापास्थित आन्तरिक राजस्व कार्यालय चन्द्रगढीले ३ अर्ब २६ करोड ४४ लाखको लक्ष्यमा ४ अर्ब ११ करोड ९४ लाख असुल गरेर १ सय २६ प्रतिशत प्रगति गरेको छ। चन्द्रगढी कार्यालयका प्रमुख युवराज श्रेष्ठले भ्याटको १ अर्ब १९ करोडको लक्ष्यमा १ अर्ब ८१ करोड, आयकरको १ अर्ब ८५ करोडको लक्ष्यमा १ अर्ब ५७ करोड र अन्तःशुल्कको ४४ करोडको लक्ष्यमा ४८ करोड असुल गरिएको जानकारी दिए। प्रमुख श्रेष्ठले स्वास्थ्य सेवा करको पुरानो बाँकी ९२ लाख रुपैयाँ पनि गत आवमा कार्यालयले सङ्कलन गरेको बताए।