BIZMANDU
www.bizmandu.com

एनबि बैंकमा रहेको आइएफआइसीको सेयर खरिद गर्न ५ समूहको पहल, चौधरीसँगै दुगड पनि अगाडि


एनबि बैंकमा रहेको आइएफआइसीको सेयर खरिद गर्न ५ समूहको पहल, चौधरीसँगै दुगड पनि अगाडि
एनबि बैंकमा रहेको आइएफआइसीको सेयर खरिद गर्न ५ समूहको पहल, चौधरीसँगै दुगड पनि अगाडि


Tata
GBIME
Nepal Life

काठमाडौं आइएफआइसी बैंक ढाकाले नेपाल बंगलादेश (एनबि) बैंकको आफ्नो सम्पूर्ण स्वामित्व बिक्री गर्ने भएपछि नेपालका पाँच भिन्न लगानीकर्ताले खरिदको चासो देखाएका छन्।

यद्यपी नियामकीय व्यवस्था अनुसार एनबि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि अग्राधिकार पाउँछन्। त्यही भएर बैंकले सेयर बिक्रीको सूचनामा 'संस्थापक सेयरधनी' लाई भनेर खुलाएको हो।

उनीहरुले खरिद गर्न नचाहेमा त्यसपछि बोलकबोलबाट बिक्री गरिने छ। आइएफआइसीले खुद्रा वा एकमुष्ट रूपमा बिक्री गर्न सक्ने छ। 

८ वर्षअघि बैंक एसिया र स्थानीय साझेदारसमेतको सेयर किनेर नेपाल बंगलादेश (एनबि) बैंकको हिस्सेदारी बढाएको आइएफआइसीले सबै सेयर (गत वर्षको नाफाबाट चालु वर्ष बोनस सेयर दिएमा त्यो पनि गरी) बिक्री गर्न लागेको हो।

गत असार २९ गते सार्वजनिक सूचना प्रकाशित गरी बंगलादेशको आइएफआइसीले आफ्नो स्वामित्वमा रहेको ४०.८९ प्रतिशत सेयर बिक्री गर्ने भएको हो। बैंकले सेयर बिक्री गर्ने भएपछि पाँचमध्ये एउटाले बंगलादेशमै बसेर डिल गर्न खोजिरहेको छ। 

दुगड समूह, चौधरी ग्रुप, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र एनआरएन डेभलपमेन्ट फण्डले सेयर खरिदका लागि इच्छुक देखिएका छन्। चौधरी समूहले भने बंगलादेशमै खरिदका लागि पहल गरिरहेको छ।

नेपाल राष्ट्र बैंकले 'बिग' मर्जरको पहल थालेपछि आइएफआइसी दबाबमा थियो। राष्ट्र बैंकले कहिले मर्जरको प्रतिबद्धता खोज्ने त कहिले प्रगति विवरण माग्ने काम गरिरहेका कारण स्थानीय सञ्चालक समितिलाई अप्ठेरो पर्दै गएको थियो। संयुक्त लगानी (जोइन्ट भेञ्चर) को बैंक भन्दै थामथुम पारिँदै आएको थियो। 

राष्ट्र बैंक बिग मर्जरको पक्षमा गइसकेको र केही संस्थाबाट प्रस्ताव पनि आइरहेको थियो। केही स्थानीय साझेदार नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जरका लागि पहलसमेत गरिरहेका थिए। आइएफआइसी भने मानेको थिएन। मर्जरका लागि नबिल बैंक पनि यसका लागि तयार देखिएको थियो।

आइएफआइसी भने राम्रो मूल्य पाए बाहिरिने सोचमा पुगेको थियो। यही कारण उसले सेयर बिक्रीमा राखेको हो। अहिलेसम्मको लाभांशका आधारमा आइएफआइसीलाई सेयरको लागत करिब ६५ रुपैयाँ हाराहारी मात्रै छ। बैंकले १५० रुपैयाँ हाराहारीमा सेयर बेच्ने छ। गत वर्षको नाफाबाट लाभांश आएमा दाम अलिकति बढेर १६०/६५ रुपैयाँसम्म पुग्ने छ। 

बैंकले आफ्नो स्वामित्वमा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर बिक्री गर्न लागेको हो। यो सेयर १५० रुपैयाँ दरमा बिक्री भएमा ५ अर्ब ५२ करोड रुपैयाँ पर्न जान्छ भने १६५ मा बिक्री भएमा ६ अर्ब ७ करोड रुपैयाँ पर्न जाने छ। 

बैंकले ३५ दिनको सूचना दिएर सेयर बिक्रीमा राखेको छ। उसलाई विद्यमान संस्थापक सेयरधनीले खरिद गर्छन् भन्नेमा खासै विश्वास छैन। त्यही भएर उसले अन्य पाटीसँग बिक्रीका लागि हिमचिम बढाएको छ। उसले सबै प्रक्रिया ४/५ महिनाभित्र सकेर बाहिरिने सोच बनाएको छ। 

खरिदका लागि रुचि देखाएका नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको कुराकानी स्थानीयस्तरमा मात्र भएको छ। ठूलो कोष चलाउने भएकाले यी कम्पनीले बैंक तथा वित्तीय संस्थाको सेयर उठाउँदै आएका छन्। व्यक्तिगत तवरबाट भने तीन कम्पनीको कुराकानी भइरहेको छ।

चौधरी समूह
विश्वकै अर्बपतिको सूचीमा सूचीकृत एक मात्र नेपाली विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहको नबिल बैंकमा करिब ६० प्रतिशत लगानी छ। यसमध्ये ५० प्रतिशत विदेशी कम्पनी (यसको अल्टिमेट ओनरमध्ये चौधरी समूह पनि छ) को सेयर छ। बाँकी तीन छोरा, श्रीमतीलगायतको नाममा छ।

एनबि बैंकको ४० प्रतिशतभन्दा बढी सेयर एक ढिक्का लिन सकियो भने भोलि मर्जरमा जाँदा पनि आफ्नो बाहुल्यता हुने बुझाइ समूहको छ। त्यसैले समूहले आइएफआइसीको सेयर उठाउन पहल गरिरहेको छ।

यसका लागि चौधरीले बंगलादेशीहरुसँग कुराकानी अगाडि बढाएको स्रोतको दाबी छ। नबिलमै एनबि इन्टरनेशनलको नामबाट लगानी गरेका अब्दुल आलम मिन्टु पनि बंगलादेशी हुन्। यद्यपि उनी अहिलेको सत्ता पक्षका होइनन्। आइएफआइसीका अध्यक्ष भने सत्ता पक्षका हुन्। कर्पोरेट संबन्धका आधारमा सेयर खरिदका लागि पहल भइरहेको छ। मूल्य बाहिरै तय हुने सम्भावना पनि उच्च रहेको स्रोतको दाबी छ। 

चौधरीले बाहिरको बैंक तथा वित्तीय संस्था छिराएर सेयर खरिद गर्ने चर्चा भए पनि यो असम्भवप्राय रहेकमो स्रोतको दाबी छ। त्यसैले चौधरीले सेयर खरिद गरेमा नेपाली व्यक्ति तथा संस्थाकै नाममा हुने छ।

दुगड ग्रुप
मोति दुगडले नेतृत्व गर्ने एक समूहले पनि सेयर खरिदमा चासो देखाएको छ। यो समूहको लगानीमा अहिले सनराइज बैंक सञ्चालनमा छ। मोति दुगड बैंकको अध्यक्ष नै छन्। उनीहरुले पाँच/सात जनाको समूह बनाएर ७/८ प्रतिशतका दरले सेयर उठाउने योजना बनाएका छन्। 

एनआरएन डेभलपमेन्ट फण्ड
गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्न १० अर्ब रुपैयाँको एनआरएन डेभलपमेन्ट फण्ड स्थापना गरेका छन्। यसले अहिले २०० वटा परियोजना छनोट गरेको छ। त्यसमध्ये चार वटा परियोजना बैंकसँग सम्बन्धित छ।

यसको अध्यक्षमा डा. उपेन्द्र महतो छन् भने प्रमुख कार्यकारी अधिकृतमा पुराना बैंकर अनलराज भट्टराई छन्। अहिले कोषमा ५ अर्ब रुपैयाँ हाराहारी जम्मा भइसकेको छ। फण्डले आइएफआइसीसँग सेयर खरिदका लागि पहल गरेको छ। उसले 'ग्रीन सिग्नल' देखाएमा बाँकी पैसा सात दिनभित्र ल्याउन सकिने फण्ड सञ्चालकहरुले जनाउ दिएका छन्। उनीहरुले ४० प्रतिशत सेयर लिएर एनबि बैंकको नामै परिवर्तन गरेर 'एनआरएन बैंक' बनाउनेसम्मको योजना तयार पारेका छन्।

डर लक्ष्मीबहादुरको 
एनबि बैंकमा लक्ष्मीबहादुर श्रेष्ठ (एनबि समूह) को ८ प्रतिशत लगानी छ। उनीहरुको पहलमा आइएफआइसी नेपालमा आएको थियो। लक्ष्मीबहादुर समूह यो सेयर बिक्री गर्न दिने पक्षमा छैन। उनीहरु एनसीसी बैंकसँग मर्जको पक्षमा छन्।

त्यसैले आइएफआइसी र अन्य संस्थापकहरुलाई समूहले अदालतमा मुद्दा हालेर प्रक्रिया अवरुद्ध गर्छ कि भन्ने डर छ। किनभने एनबि समूह पहिलेदेखि नै अदालतमा गएर बखेडा गर्ने समूहका रूपमा स्थापित छ। अहिले पनि कतिपय मुद्दा अदालतमा छन्। 

यसको जनाउ समूहले दिइसकेको छ। लक्ष्मीबहादुरले २९ गते प्रकाशित सूचनालाई आफूले नमान्ने भन्दै आफूलाई छुट्टै पत्र पठाउन भनेको छ। 

राष्ट्र बैंक पनि एनबि समूहको बर्चस्व नहोस् भन्ने पक्षमा छ। एनसीसी जाँदा एनबि समूहको बर्चस्व बढ्छ। त्यसैले राष्ट्र बैंक पनि अन्य समूहबाटै सेयर खरिद होस् र मर्जर पनि एनसीसीबाहेकसँग होस् भन्नेमा सचेत देखिन्छ। 

८ वर्षअघि स्वामित्व वृद्धि
२०७० माघमा आइएफआइसीले नेपाल बंगलादेश बैंकको थप २७ लाख ६७ हजार पाँच सय कित्ता सेयर खरिद गरेको थियो । बैंक एसिया ढाकाको नाममा रहेको सेयर खरिद गरेको थियो। यसबाहेक उसले अन्य स्थानीय लगानीकर्ताको पनि सेयर उठाएको थियो। 

त्यसबेला बैंकले दुई सय ६० रुपैयाँका दरले सेयर खरिद गरेको थियो। बैंक एसियाको १४.८८ प्रतिशत सेयर खरिदपछि आइएफआइसीको स्वामित्व ३८ प्रतिशत पुगेको थियो। त्यसपछि केही स्थानीय लगानीकर्ताको खरिद गरेर स्वामित्व ४०. ८९ प्रतिशत पुगेको हो। अहिले यो सबै सेयर बिक्री गरेर बाहिरिन खोजेको हो। 

त्यसबेला गभर्नर डा. युवराज खतिवडा थिए भने डेपुटी गभर्नरमा महाप्रसाद अधिकारी थिए। अधिकारी अहिले गभर्नर छन्। अधिकारी राष्ट्र बैंकको निर्देशक हुँदा एनबि बैंकको व्यवस्थापन हेर्न गएका थिए। त्यसबेला एनबि समूहको बदमासीका कारण बैंक समस्यामा परेको थियो।

एनबि समूहलाई पाखा लगाउन त्यसबेला अधिकारीको डिजाइनमा विद्यमान सेयरधनीबाहेकले मात्र भर्ने गरी हकप्रद सेयर खुला गरिएको थियो। त्यसबेला आइएफआइसी बैंकले आफ्नो नाममा सेयर नहाली बैंक एसिया ढाकाको नाममा हालेको थियो। उसकै सिको गरेर एनबि समूहले पनि नयाँ कम्पनी खोलेर सेयर भरेको थियो।

आइएफआइसीले बैंक एसिया ढाकाको नाममा रहेको आफ्नो सेयर किन्न खोज्दा तत्कालिन गभर्नर खतिवडाले 'एनबि समूह जत्तिकै तिमीहरु पनि बदमास रहेको' भन्दै हप्काएका थिए।