BIZMANDU
www.bizmandu.com

खड्काको निधनपछि दुर्गा प्रसाईं टाइगर्स ब्रुअरीबाट अलग, नयाँ साझेदारमा वात्रा फर्किँदै

२०७८ साउन ३

खड्काको निधनपछि दुर्गा प्रसाईं टाइगर्स ब्रुअरीबाट अलग, नयाँ साझेदारमा वात्रा फर्किँदै
खड्काको निधनपछि दुर्गा प्रसाईं टाइगर्स ब्रुअरीबाट अलग, नयाँ साझेदारमा वात्रा फर्किँदै



काठमाडौं। गत कात्तिकमा टाइगर्स ब्रुअरी इन्डष्ट्रिजको आधा सेयर लिने गरी केही लगानी गरेका पूर्वका मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्यहाँबाट बाहिरिने भएका छन्।

Tata
GBIME
Nepal Life

टाइगर्सको प्रतिष्पर्धी क्षमता बढाउन भन्दै तेजेन्द्र खड्काको पारिवारिक स्वामित्वमा रहेको टाइगर्सको सेयर लिएर प्रसाईं छिरेका थिए। तर कोरोना संक्रमणका कारण खड्काको निधन भएपछि प्रसाईँ बाहिरिने भएका हुन्। टाइगर्स अहिले खड्काका दुई छोरा र एक छोरीले हेरिरहेका छन्।

'बुबासँग खास साझेदारी हो। छोराछोरीले नै टाइगर्स चलाउन्,' भनेर प्रसाईं बाहिरिन लागेका हुन्। स्रोतका अनुसार, प्रसाईँले टाइगर्समा १५ करोड रुपैयाँ लगानी गरिसकेका थिए।

प्रसाईं गएपछि टाइगर्स ब्रुअरीले 'मार्सी' बियर उत्पादन सुरु गरिसकेको थियो। प्रसाईँ बाहिरिने भएपछि पुरानो स्टक (उत्पादन प्रोसेसिङमा रहेको) सकेलगत्तै मार्सी बियरको उत्पादन टाइगर्सले गर्ने छैन। 

बियर उत्पादनका लागि अहिले ८ 'ट्याङ्क' कच्चा पदार्थ तयार छ। यो सकेपछि मार्सी ब्राण्डमा उत्पादन बन्द हुने छ। टाइगर्सले आफ्ना अन्य उत्पादनलाई निरन्तरता दिने छ। 

कुल दुई अर्ब ४० करोड रुपैयाँ भ्यालुएसनमा कम्पनीको ५० प्रतिशत स्वामित्व लिने गरी प्रसाईं टाइगर्स छिरेका थिए। कम्पनीमा एक अर्ब रुपैयाँ हाराहारीमा बैंक ऋण छ। साढे २ अर्बको भ्यालुएसनमा रहेर दुबै पक्षबीच सहमति भएको थियो। 

स्वर्गीय खड्काका छोराछोरीहरुले प्रसाईंको पैसा फिर्ता गर्ने प्रक्रिया सुरु गरिसकेका छन्। अहिले मूल्यांकनको काम भइरहेको छ। प्रसाईंले आफ्नो पैसा र ब्याज मागेका छन्। 

टाइगर्स ब्रुअरीमा भारतीय साझेदार पुन: भित्रिने छन्। सोनिपत हरियाणाका मदिरा व्यवसायी प्रिन्स वात्रा पुन: भित्रिने पक्कापक्की भइसकेको छ। उनी यसअघि पनि कम्पनीको साझेदार थिए।

प्रसाईंसँग पूर्वको बिर्तामोडमा बीएण्डसी मेडिकल कलेज, क्यान्सर अस्पताल, होटल र केही रियलस्टेट परियोजना छन्। उनीसँग पूर्वमा थुप्रै जग्गा छ, त्यही जग्गा बेच्दै र भ्यालुएसन बढाउँदै उनले विभिन्न परियोजनामा लगानी गर्दै आएका छन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनको निकट सम्बन्ध छ। त्यही सम्बन्धका आधारमा उनलाई सर्वसाधारणले आलोचना समेत गर्छन्।

कसरी जन्मियो टाइगर्स ब्रुअरी
स्वर्गीय खड्काको दुई महिनाअघि मात्र निधन भएको हो। कोरोनाका कारण उनकी श्रीमती र दुई भाइको समेत निधन भइसकेको छ।

बागलुङ घर भएका खड्का सामान्य जागिरका लागि लामो समय भारतमा बसेका थिए। तीन दशक भारतमा बस्दा उनको सम्पर्क भारतीय मदिरा व्यवसायी विजय माल्यासँग बनेको थियो। 

माल्याको स्वामित्वमा रहेको स्टार बियर उत्पादन गर्ने हेटौंडा औद्योगिक क्षेत्रमा रहेको युनाइटेड ब्रुअरी खड्काको स्वामित्वमा आयो। उनले त्यो उद्योग आठ वर्ष अघि गैरआवासीय नेपाली भवन भट्टलाई बिक्री गरेका थिए।

त्यसबाट आएको पैसा लगेर उनले रुपन्देहीको मैनहियामा पाँच बिघा जग्गा किनेका थिए। कट्ठाको पाँच लाख हाराहारीमा किनेको त्यो जग्गाको मूल्यांकन पाँच गुणाभन्दा बढीले बढेको छ। 

उनले त्यहाँ २०६९ जेठमा स्थानीय गोविन्द क्षेत्रीलाई ३० प्रतिशतको साझेदार बनाएर टाइगर ब्रुअरी इण्डष्ट्रिज स्थापना गरेका थिए। त्यसको एक वर्षपछि उनले टाइगर ब्रुअरीबाट क्षेत्रीलाई हटाएर सोनिपत हरियाणाका मदिरा व्यवसायी प्रिन्स वात्रालाई २०७० जेठमा ५० प्रतिशत साझेदारका रूपमा भित्र्याएका थिए।

खड्का र वात्राले गरी त्यतिबेला ब्रुअरीमा झण्डै ७० करोड रुपैयाँ लगानी गरेका थिए। उनले त्यो कम्पनीबाट टेन्सवर्ग बियरको उत्पादन सुरु गरे। त्यसको पाँच महिनापछि उनले फेरि उद्योगमा चुक्ता पुँजी बढाएर वात्राको सेयर स्वामित्व ४० प्रतिशतमा घटाए भने श्रीमती सुन्तली खड्कासहित आफ्नो स्वामित्व बढाएर ६० प्रतिशत पुर्‍याए।

वात्रासँगको साझेदारीमा उनले आफ्नो उद्योगलाई बिस्तार गर्दै लगे। टेन्सवर्गसँगै लण्डन आइस बियर पनि उनले उत्पादन सुरु गरे। ठूला बियर उद्योगको नजर नपरेको साना शहर र ग्रामीण बजारमा उनले सस्तो स्ट्रङ बियरमार्फत आफ्नो बजार विस्तार गरे।

त्यही उद्योगबाट उत्पादन भएको बियर नेपालमा मात्रै नभएर भारतीय सीमावर्ती शहरसम्म पुग्यो। त्यसपछि २०७४ मंसिरमा टाइगर ब्रुअरीमा वात्राको सेयर २५ प्रतिशतमा झर्‍यो  भने बात्राको सेयर खड्काले आफ्ना सन्तान इश्वरी खड्काको नाममा सारे।

त्यसको केही महिनापछि २०७५ असारमा खड्का र वात्राको साझेदारी टुट्यो भने उनीसँग भएको त्यो सेयर आफ्ना सन्तान इश्वरी खड्का र भाईहरु भीमलाल, तोयानाथ तथा गुड्डु खड्काका नाममा सारे। तीनै वात्रा फेरि फर्किन लागेका हुन्। खड्काको निधन भएपछि छोराछोरीले कम्पनीलाई अगाडि बढाउने भएका हुन्।

टाइगर ब्रुअरीबाट अहिले टेन्सवर्ग, लण्डन आइस, टाइगर र रकस्टार ब्राण्डमा बियर उत्पादन भइरहेका छन्। प्रसाईं छिरेपछि 'मार्सी' बियरको पनि उत्पादन सुरु भएको थियो। प्रचण्ड र ओलीसँग मार्सी चामलको भात खाँदै गरेको फोटो सार्वजनिक भएपछि प्रसाईंलाई सर्वसाधारणले 'मार्सी' भनेर चिन्न थालेका छन्। त्यही मार्सी नामलाई उनले ब्राण्ड बनाएर बियर उत्पादन थालेका थिए।

टाइगर्ससँग एक करोड १५ लाख हेक्टोलिटर बियर उत्पादन क्षमता रहेको छ।