(5).jpg)
काठमाडौं। नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्ने मनिराज सप्लायर्स विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले ४१ करोड ५१ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो।
सर्लाही जिल्लामा राज देवी र राजाराम महतोले मनिराज सप्लायर्स सञ्चालन गर्दै आएका थिए। विभागको अनुसन्धानमा कम्पनीले मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई बिक्री बीजक मात्र जारी गरेको भेटिएको थियो।
यसरी विभिन्न फर्महरूबाट बिक्री रकम भुक्तानी लिई सो बिजक मार्फत असुल गरेको भ्याट रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झुट्टा बिजक उपलब्ध गराई भ्याट तथा आयकर चुहावट गरेको दाबी विभागको छ। यी कम्पनीको सञ्चालकविरुद्ध राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार कारबाही प्रकृया अघि बढ्नेछ।
यस्तै विभागले नक्कली बिल प्रयोग शिव ट्रेडर्स र अल्का सप्लायर्स विरुद्ध पनि मुद्दा दायर गरेको छ। यी कम्पनी विरुद्ध विभागले २५ करोड ३५ लाख बिगो माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो। यी कम्पनीहरुले पनि वास्तविक कारोबार नदेखाई कर छली गर्ने गरेका थिए।