
काठमाडौं। निषेधाज्ञाले रोकिएको १२ सय किलो सुनमध्ये ५ सय किलो नेपाल भित्रिएको छ। १० वटा बैंकले दुई सातामा ५ सय किलो सुन आयात गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। पहिलो चरणमा चार सय किलो सुन ल्याउने तयारी थियो।
निषेधाज्ञासँगै दुबईको उडान रोकिँदा आयात बन्द भएको सुन अब बल्ल आउन थालेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए। निषेधाज्ञा अवधिभर रोकिएको १५ सय किलो सुन असारभित्र ल्याउनुपर्ने भएपनि उडान नियमित नहुँदा समस्या भएको उनको भनाइ छ। आयात भएको सुन व्यवसायीले किनेर लगिसकेका छन्।
अहिले उपत्यका भित्र र बाहिरका लागि ५०/५० प्रतिशतका दरले आयातित सुन वितरण गरिँदै आएको छ। बजार खुल्न थालेपछि सुनको खपत बढ्न थालेको छ। हाल दैनिक २० देखी ३० किलोसम्म सुनको खपत हुने गरेको छ। दैनिक सुन आयात नहुँदा बजारमा सुन स्टक भने नभएको बज्राचार्यले बताए।
दैनिक २५ किलो सुनको खपत हुँदै
निषेधाज्ञा खुकुलो भएपछि सुनको कारोबार बढ्न थालेको छ। महासंघका अध्यक्ष माणिकरत्न शाक्यले दैनिक २५ किलो सुन बिक्री हुँदै आएको बताए।
उनका अनुसार बजारमा चहलपहल बढ्न थालेको छ। निषेधाज्ञा पूर्ण रूपमा नखुले पनि विवाहको सिजनले कारोबार राम्रो भएको शाक्यले बताए। सुनको सिजन भनेको वैशाखदेखि असारसम्म माग अन्य समय भन्दा दुई गुणा बढी हुन्छ।
सामान्य समयमा दैनिक २० देखि ३० किलो सुन बिक्री हुन्छ। सिजनको समय दैनिक ४५ किलोभन्दा बढी बिक्री हुन्छ। यो वर्ष भने सिजन सुरु हुनेबितिकै निषेधाज्ञा जारी भएकोले दुई महिनासम्म सुन आयात र कारोबार ठप्प भएको थियो।