सन् २०२१ को पहिलो छ महिनामा विश्वभर कच्चा तेलको भाउमा ४५ प्रतिशतले बृद्धि भैसकेको छ। झण्डै अढाई वर्षपछि पहिलोपटक कच्चा तेल प्रति ब्यारेल ८० डलर नजिक पुगेको हो।
अन्तराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेल शुक्रबार ७५.७६ डलर प्रतिब्यारेलमा कारोबार भयो। शुक्रबार यसको मूल्य थोरै अर्थात ०.११ प्रतिशत तल झरेको देखिन्छ। गत जनवरी १ तारिखमा प्रति ब्यारेल ५१.८० डलरमा कारोबार भएको कच्चा तेल गत जुनको अन्त्यसम्ममा आइपुग्दा ४५ प्रतिशतले बृद्धि भैसकेको छ।
यस्तै शुक्रबार युएस वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई)को मूल्य ०.१ प्रतिशत तल झर्दै प्रतिब्यारेल ७४.२८ डलरमा कारोबार भएको छ। डब्लुटिआईको सन् २०२१ सुरु भएयता ५१.४ प्रतिशतले बृद्धि भएको रेकर्ड देखिएको छ।
गत जुनमा ब्रेन्ट ८ प्रतिशत र डब्लुटिआई १० प्रतिशतले बढेको छ। यो दुबै बेन्चमार्कको सन् २०१८ अक्टोबर यताकै उच्च रेकर्ड हो।
विश्लेषकहरुले बिबिध कारकहरुको संयोजनलाई तेलको मूल्य बढ्नुको कारण बताएका छन्। कोभिड १९ को खोप, लकडाउन बिस्तारै खुकुलो हुँदै जानु र ओपेक तथा गैर ओपेक सदस्यहरुको उर्जा संगठन ओपेक प्लसका सदस्यहरुले तेलको उत्पादनमा भारी कटौती गर्नुलाई तेलको मूल्य बृद्धिको कारक मानिएको छ।
मूल्य अब कतातिर?
गोल्डम्यान साचले ब्रेन्टको मूल्य सन् २०२१ को तेस्रो त्रैमासमा औसतमा ८० डलर प्रति ब्यारेलकै हाराहारीमा रहने बताएको छ। मागमा फेरि भारी मात्रामा बृद्धि हुने आँकलन गर्दै उसले तेलको मूल्य राम्रै बढ्ने प्रक्षेपण गरेको हो।
जेपी मोर्गानले पनि कच्चा तेलको मूल्य ८० डलर प्रति ब्यारेलको हाराहारीमै रहने अपेक्षा गरेको छ।
बैंक अफ अमेरिकाका विश्लेषकहरुले भने तेलको मूल्य बुलिस ट्रेन्डमा जाने बताएका छन्। उनीहरु आगामी वर्षको गृष्म महिनासम्ममा बेन्टको मूल्य प्रति ब्यारेल १ सय डलरभन्दा माथि जाने तर्क गर्छन्। यसो भएको खण्डमा तेलको भाउमा सन् २०१४ यताकै पहिलोपटक तीन डिजिटको मूल्य कायम हुने छ।
ओपेक, द इन्टरनेशनल इनर्जी एजेन्सी र युएस इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसन यी तीनवटै प्रमुख एजेन्सीहरुले सन् २०२१ को दोस्रो सत्रमा मागमा हुने बृद्धिका कारण मूल्यमा पनि तीब्र बृद्धि हुने प्रक्षेपण गरिसकेको छ।
पिभिएम आयल एसोसियट्सका तेल विश्लेषक तामस भार्गाका अनुसार वैश्विक तथा क्षेत्रीय तेलको मौज्दात यस वर्ष कम भैरहेको कारण तेलको मूल्यबृद्धिलाई सहयोग पुगिरहेको हो। 'यो ट्रेन्ड सन् २०२१ भरी नै निरन्तर रहिरहने छ।'- उनले आँकलन गरे।
उनी भन्छन्-'तेलको मूल्य बढ्ने क्रम त्यसबेला मात्रै अन्त्य हुनेछ जब केन्द्रीय बैंकहरुले मुद्रा स्फितीको अवस्था पैदा हुने डरले ब्याजदर बढाउन थाल्छन् वा ओपेकले आफ्नो उत्पादन माग भन्दा बढी गर्न थाल्छन् वा पर्सियन गल्फ ओपेक सदस्यहरुको बजारमा कमब्याक हुने अवस्था आयो र ओपेकले थप इरानी तेललाई होल्ड गर्न सक्यो भने मात्र तेलको मूल्य कम हुन संभव हुन्छ।' र हालको अवस्था हेर्दा ओपेक प्लसले थप इरानी तेलको निर्यात होल्ड गर्न नसक्ने संभावना असाध्यै कम देखिएको पनि तामस दावी गर्छन्।
तथापि तेल बजारमा अनेकौं अनिश्चितताहरुको निरन्तरतापनि देखिएको छ।
विश्वभर फैलिइरहेको कोभिड १९ को डेल्ट भेरियन्टका कारण तेलको माग बढ्ने वा इरानी तेल बजारमा फेरि आउनेबारे यसै भन्न सकिने स्पष्ट अवस्था छैन ।
लकडाउन तथा बढ्दो मूल्यबृद्धिका कारण चीनमा पनि फ्याक्ट्री ग्रोथ सुस्ताएको अवस्था छ।
मोर्गान स्टानलेका प्रमुख तेल विश्लेषक मार्टिन र्याटस् भन्छन्-'कच्चा तेलको बजारले मूल्य बृद्धिका लागि प्रभावकारी उपायहरु खोजिरहेको अवस्थामा यसले तेलको मागमा हुने बृद्धिलाई नोक्सानी पुर्याउन सुरु गरिरहेको छ।'
'यो विश्लेषण गर्न निकै अफ्ठेरो अवस्था हो। त्यसैले हामीले यसलाई ८० डलर प्रतिब्यारेल वा यसकै वरिपरी रहने आँकलन गरेका छौं।'- र्याट्सले भने। -'त्यसभन्दा पर हामी डिमान्ड डिस्ट्रक्सन हुने पनि आँकलन गर्न सक्छौं।'
यदि चाँडै नै तेलको माग बढेन भने यसले आर्थिक बृद्धिमा समेत प्रभाव पार्ने देखिन्छ किनभने अन्य धेरै किसिमका औद्योगिक आर्थिक प्रक्रियाहरु समेत यसैमा निर्भर रहेका हुन्छन्।
मोर्गान स्टानले सन् २०२२ को मध्यसम्म ब्रेन्ट तेलको ७५ देखि ८० डलर प्रति ब्यारेलमा कारोबार हुने विश्वास गर्छ।
बिहीबार मात्रै भएको वार्तामा ओपेक र यसका गैर ओपेक साझेदारहरु (ओपेक प्लस)ले तेलको आपूर्ति बढाउने विषयमा तत्काल कुनै निर्णय नगर्ने भएका छन्। तत्काल आपूर्ति सहज बनाउन यूएईले बनाइरहेको योजना पनि हाललाई रोकेको छ। मध्यपूर्वका उत्पादक समूहहरु यस बारेमा छलफल गर्न वार्तामा बस्दैछन्।
एस एण्ड पि ग्लोबल प्लाट्सका प्रमुख विश्लेषक क्रिस मिडग्लेका अनुसार ओपेक प्लसको बैठकले तेलको मूल्यमा प्रभाव पार्न सक्ने बलियो आधार देखिन्छ किनभने उनीहरुको निर्णयले आगामी महिनादेखि तेलको आपूर्तिमा कस्तो प्रभाव पर्छ त्यसलाई निर्धारण गर्छ।
उनी भन्छन् -'ओपेक तेलको भाउ ७० डलर प्रतिब्यारेल होल्ड गर्ने प्रयासमा छ तर "फरवार्ड कर्भ"ले के देखाउँछ भने तेलको फेयर भ्यालू त्यो भन्दा पनि तलै हुनुपर्छ।' (सिएनबिसीबाट)