BIZMANDU
www.bizmandu.com

पाँच जेटस्ट्रिमबाट फेरिँदैछन् यतीको लोगो, यही साता गुण एयरलाइन्सलाई हस्तान्तरण गरिँदै

२०७८ असार १५

पाँच जेटस्ट्रिमबाट फेरिँदैछन् यतीको लोगो, यही साता गुण एयरलाइन्सलाई हस्तान्तरण गरिँदै
पाँच जेटस्ट्रिमबाट फेरिँदैछन् यतीको लोगो, यही साता गुण एयरलाइन्सलाई हस्तान्तरण गरिँदै


Tata
GBIME
NLIC

काठमाडौं। १४ वर्षदेखि उडाउँदै आएको पाँचवटा जेटस्ट्रिममार्फत अब यती एयरलाइन्सले सेवा नदिने भएको छ। पाँचैवटा जेटस्ट्रिम जहाज गुण एयरलाइन्सलाई बिक्री गरिसकेकाले जिम्मा लगाउने तयारी गरेको हो। 

कोभिड-१९ संक्रमणको दोस्रो लहरका कारण जारी भएको निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान पुनः सुरु हुने भएको छ। यतीले आफूसँग भएको पाँचवटा एटिआर-७२ जहाजमार्फत नियमित सय्चालन गर्ने उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए। गुण र यतीबीच भएको सहमति अनुसार यही साता जहाज हस्तान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए।

'आउँदो बिहीबारदेखि हामी पाँचवटै जेटस्ट्रिममार्फत सेवा दिँदैनौं। गुण एयरलाइन्सले उडाउनेछ। पाँचैवटै जेटस्ट्रिम तयारी अवस्थामा छन्। यो साता भित्र यी जहाज गुणलाई हस्तान्तरण गर्ने योजना छ,' उनले भने। उनका अनुसार गुणलाई जेटस्ट्रिम संचालनका लागि सुरुवाती चरणमा यतीले प्रविधिक सहयोग गर्नेछ। यतीले पाइलट, इन्जिनियर, एयरहोस्टेज लगायत जनशक्तिको व्यवस्थापन गरिदिनेछ। 

यतीले सन् २००७ देखि भित्र्याएको सातवटा जेटस्ट्रिममध्ये पाँच जहाज बाँकी छन् भने दुईवटा जहाज फेजआउट गरिसकेको छ। गुण समूहका अध्यक्ष राजेन्द्र  शाक्यले एक अर्बको लागतमा यती एयरलाइन्सको पाँचवटै जेटस्ट्रीम जहाज किनेर कम्पनी संचालनमा ल्याउन लागेको हुन्।

१३ वर्षको अवधिमा वित्तीय व्यवस्थापन गर्दै शाक्यले गुण एयरलाइन्सलाई आक्रामक रुपमा अघि बढाउन लागेका हुन्। आर्थिक संकटमा परेपछि बेला गुणले उडान बन्द गरेको थियो। आर्थिक संकटबाट बाहिरिएपछि शाक्यले गुणलाई ब्यूँताएर एग्रेसिभ रुपमा चलाउन लागेका हुन्।

यतीसँग खरिद गरेको पाँचवटा जहाज प्राप्ति गरेसँगै कम्पनीसँग भएको दुई बिचक्राफ्टसहित जहाज संख्या सात हुनेछ। कम्पनीले दुई वर्षभित्र नौवटा जहाजमार्फत सेवा दिने व्यवसायिक योजना बनाएको छ। दुई ट्विनअटर सिरिजका जहाज थप्ने योजना छ। हाल करिब एक सय जना जनशक्ति कार्यरत कम्पनीले पाँचवटा जहाज थपेसँगै थप डेढ सय जनाभन्दा बढी कर्मचारी भर्ना गर्ने तयारी गरेको छ।

जहाज संख्या विस्तार गरिएसँगै गुणले धनगढी बाहेक सिमरा, भरतपुर, जनकपुर, भद्रपुर, बिराटनगर, नेपालगन्ज, तुम्लिङटार लगायतका विभिन्न गन्तव्यमा उडान सेवा बिस्तार गर्नेछ। यसअघि कम्पनीले दुई बिचक्राफ्टमार्फत पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट लगायतका सेवा दिँदै आएको थियो।