BIZMANDU
www.bizmandu.com

नेशनल हाइड्रोमा के हुँदैछ चमत्कार- जसले लगानीकर्तालाई तानिरहेको छ!


नेशनल हाइड्रोमा के हुँदैछ चमत्कार- जसले लगानीकर्तालाई तानिरहेको छ!
नेशनल हाइड्रोमा के हुँदैछ चमत्कार- जसले लगानीकर्तालाई तानिरहेको छ!

Tata
GBIME
Nepal Life

काठमाडौं। एक वर्ष अगाडि नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड (एनएचपीसी) को सेयर मूल्य प्रति कित्ता ५० रुपैयाँ थियो।

वर्ष दिनमा सेयर बजार सूचक दोब्बर हुँदा एनएचपीसीको सेयर मूल्य भने ६ गुणाभन्दा बढीले उक्लिएको छ। 

निर्माण भएदेखि न कहिले लाभांश दिएको छ, न त कम्पनीले जगेडा कोष धनात्मक नै छ। तैपनि कम्पनीले आफ्नो सेयरमा लगानीकर्तालाई तानिरहेको छ।

नेपाल धितोपत्र बोर्डको ५१ वटाको 'जोखिमयुक्त' सूचीमा रहँदासमेत कम्पनीको सेयर मूल्य आइतबार १० प्रतिशतले बढेको छ। जबकी दिनभरी कारोबार भएका १८३ मध्ये १७५ कम्पनीको मूल्य घटेको छ।

बोर्डको जोखिमयुक्त सूची आउनुअघि सेयर मूल्य ३२९ रुपैयाँसम्म पुगेको थियो। सूचीको असर अरु कम्पनीमा यथावत छ- तर नेशनल हाइड्रोमा आइतबारबाट असर सकिएको छ। पछिल्लो एक सातायता मात्रै १० लाख कित्ताभन्दा बढीका दरले कारोबार भइरहेको छ।

एनएचपीसीको सेयर मूल्य कुनै बेला घटेर प्रति कित्ता ३४ रुपैयाँसम्म आएको थियो। सेयर बजारमा एकदमै चलायमान एनएचपीसी 'स्पेकुलेसन' का लागि प्रयोग हुने कम्पनी हो।

पछिल्लो समय भने कम्पनीको अवस्थामा आएको सुधारका कारण लगानीकर्ताको आकर्षण देखिएको हो। एनएचपीसीका बारेमा बुझ्न यसको सुरुवात कसरी भयो भन्ने जान्नै पर्छ।

एनएचपीसीमा नेपाल बंगलादेश (एनबी) बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कर्मचारी सञ्चय कोषले लगानी गरेका थिए। 

एनबीबाट नबिलमा

एनबी बैंकमा एनबी समूहका जितबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठको लगानी छ। उनीहरुको लगानीमा एनएचपीसी निर्माण थालिएको हो। त्यही बेला नेपालमा वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु भयो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (अध्यादेशमार्फत) आयो। ऐनले संस्थापकले लगानी गरेको कुनै पनि संस्था तथा कम्पनीमा ऋण दिन नपाउने व्यवस्था गरिएको थियो।

एनबी समूहको संस्थागत सुशासनमा पनि प्रश्न उठिरहेको थियो। राष्ट्र बैंकको निगरानी समूहमाथि निकै बढेको थियो। 

त्यसबेलासम्म नबिल बैंक जलविद्युतमा थिएन। नबिलले जलविद्युतमा जानु पर्छ भनेर इन्फ्रास्ट्रक्चर एण्ड हाइड्रोपावर डिभिजन नै खोल्यो। नबिलले बनिरहेको र नयाँ जुन भए पनि लगानी गर्ने रणनीति लियो।

एनएचपीसी आफैंमा राम्रो परियोजना थियो तर संस्थापकहरुको कमजोर आर्थिक अनुशासनका कारण समस्यामा परेको थियो। विद्युत उत्पादन सुरु भइसकेको थियो।  नेपाल राष्ट्र बैंकसमेतको पहलमा नबिलले एनएचपीसीको ऋण एनबी बैंकबाट आफ्नोमा ल्यायो। 

पहिलो विदेशी संयुक्त लगानीको नबिल बैंकको संस्थागत सुशासन बलियो थियो। परियोजनाले बिजुली उत्पादनबाट भएको आम्दानीबाट ऋण तिर्न सक्ने अवस्था थियो। साथै एनएचपीसीले साढे चार मेगावाटको सुनकोशी परियोजना पनि बनाइरहेको थियो। 

उत्पादन थालेको १३ वर्षपछि ऋण भुक्तानी

सुरुमा एनएचपीसीको चुक्ता पुँजी ६९ करोड रुपैयाँ थियो। त्यसमा शत प्रतिशत हकप्रद दिएर चुक्ता पुँजी एक अर्ब ३८ करोड रुपैयाँ पुर्‍याइयो। प्यारेन्ट कम्पनी एनएचपीसीको ९५ प्रतिशत स्वामित्व रहने गरी सुनकोशी निर्माण सुरु गरिएको थियो।

सुनकोशी बनाउन परियोजनाले ४५ करोड रुपैयाँ विभिन्न बैंकहरुसँग ऋण लिने सम्झौता गर्‍यो। यसमा प्रमुख लगानी नबिलको थियो। तर आधा बन्दा बन्दै परियोजना रोकियो। संस्थापकहरुको बदमासीका कारण ऋण डुब्यो। चिनियाँ ठेकेदार पनि बीचमै भाग्यो। नबिल बैंकले ठेकेदारको बैंक ग्यारेन्टी जफत गरेर आफ्नो भागको आधाउधी ऋण उठायो।

बैंकहरुले ४० करोड परियोजनालाई दिने सम्झौता गरेका थिए। नेशनल हाइड्रो पावरले ४० करोड रुपैयाँ 'प्रोभिजनिङ' (नोक्सानी व्यवस्थापन) गर्‍यो, यही कारण अहिले पनि जगेडा कोष ऋणात्मक छ।

तर परियोजनाको सबै वित्तीय पाटो नबिल बैंकको नियन्त्रणमा थियो। नेपाल विद्युत प्राधिकरणले बिजुली खरिद गरेबापतको पैसा नबिल बैंकको खातामा हाल्दिन्थ्यो। नबिलले प्रशासनिकलगायत अन्य आवश्यक खर्चका लागि परियोजनालाई खटाइ खटाइ पैसा दिँदै आएको थियो।

कम्पनीले व्यवसायिक उत्पादन सुरु भएको १३ वर्षपछि अर्थात पाँच वर्षअघि सम्पूर्ण कर्जा समाप्त भएको घोषणा गरेको थियो। एनएचपीसी प्रवर्द्धक रहेको सुनकोशीको ऋण डुबेको थियो। दुई वर्ष अगाडि त्यसको ऋण पनि पूर्ण रूपमा भुक्तानी भइसकेको छ। 

नेशनल हाइड्रोका प्रबन्ध निर्देशक कुमार पाण्डेका अनुसार नेशनल हाइड्रोको कुल ऋण एक अर्ब २० करोड रुपैयाँ थियो। यसमध्ये सुनकोशीको ३० करोड रुपैयाँ थियो। 

'प्रशासनिक काम, क्षमता बिस्तारलगायत अन्य मर्मतसम्भारका लागि लिएको ५/७ करोडबाहेक सबै ऋण तिरिसकिएको छ,' उनले भने, 'सुरुमा लिएको सबै ऋण भुक्तानी भइसकेको छ।'

राम्रो परियोजना छानियो भने जलविद्युतमा कसरी राम्रो गर्न सकिन्छ भनेर एनएचपीसीलाई उदाहारणका रुपमा लिने गरिन्छ। 

सुनकोशीको दुर्दशा
सुनकोसी बीचमै रोकिएको थियो। सुरुङ निर्माण धमाधम भरहेको थियो। परियोजना बीचमा बन्न बन्द भएपछि विद्युत विकास विभागले एनएचपीसीबाट सुनकोशीको लाइसेन्स खोस्यो।

लाइसेन्स खोसिएपछि ४० करोड प्रोभिजनिङ गर्नु परेको हो। अहिले एउटा लाइसेन्स १०/२० करोड रुपैयाँमा बिक्री हुन्छ। 

परियोजनामा त्यो बेला नै ४० करोड रुपैयाँ खर्च भएको थियो। सुनकोशीको भारीले एनएचपीसीको वासलातलाई थिचेको छ। त्यसैले जगेडा कोष गत चैत मसान्तसम्म पनि ३३ करोड २९ लाख रुपैयाँले ऋणात्मक छ।

यहीबीचमा अहिले विभागले सुनकोशीको लाइसेन्सका लागि आह्वान गरेको छ। यसमा एनएचपीसीसहित तीन वटाले आवेदन दिएका छन्। आउँदो बुधबार यसको आर्थिक प्रस्ताव खोलिँदैछ।

एनएचपीसीकै परियोजनाबाट पानी निस्किएको छ। परियोजनाकै जग्गामा सुरुङ पनि खनिएको छ। त्यसैले पुन: लाइसेन्स एनएचपीसीले नै पाउने सम्भावना रहेको परियोजना निकटहरु बताउँछन्।

अर्को परियोजनामा पनि लगानी
नेशनल हाइड्रोले ३१ मेगावाटको इखुवा खोला पनि निर्माण गर्दैछ। इखुवा खोलामा माछापुच्छ्रे बैंकको लिडमा १ अर्ब ६८ करोड ऋण दिने सहमति भइसकेको छ। 

यसमा माछापुच्छ्रेले ७० करोड, नेपाल एसबीआइ बैंकले ५० करोड र ज्योति विकास बैंकले ४८ करोड रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ। परियोजनाको लागत २ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ। यसको काम धमाधम भइरहेको छ। 

'२० वर्षपछि फर्किएर हेर्दा नेशनल राम्रो परियोजनाका रुपमा स्थापित भएको छ,' कम्पनीको ऋणमा नजिकबाट काम गरेका एक बैंकरले भने, '१२/१५ करोड रुपैयाँको ग्यारेन्टी आम्दानी छ। ऋण कतै छैन। नयाँ नयाँ परियोजना थपिएको छ।'

इखुवा खोलामा ६७ प्रतिशत एनएचपीसीको लगानी छ। बाँकी ३३ प्रतिशत व्यक्तिगत लगानीकर्ताको छ। 

लाभांश आउँछ?
नेशनल हाइड्रोको लाभांस उसले सुनकोशीको लाइसेन्स पुन: पाउँछ कि पाउँदैन भन्नेमा निर्भर छ। यदि लाइसेन्स पाएमा कम्पनीको ४० करोड राइटब्याक हुन्छ। त्यसपछि कम्पनी लाभांश दिन क्षमतामा पुग्छ।

'प्रोभिजनिङ फिर्ता हुँदा नगद पैसा आउने होइन तर एनएचपीसीको बुक फ्री हुन्छ। ऋणात्मकबाट धनात्मक हुन्छ,' ती बैंकरले भने, 'त्यसपछि नाफाबाट लाभांश दिन सक्छ।' 

'सबै ऋण भुक्तानी भइसकेको छ। लाइसेन्स पाएपछि प्रोभिजन पनि राइटब्याक (वासलात धनात्मक बन्ने छ) हुन्छ,' परियोजनालाई नजिकबाट हेरेका उनले भने, 'त्यही कारण एनएचपीसीको सेयरमा अहिले एकाएक आकर्षण बढेको हुनु पर्छ।' 

कम्पनीका प्रबन्ध निर्देशक पाण्डेका अनुसार, सबै कुरा राम्रो भयो। लाइसेन्स पनि कम्पनीले पायो भने एनएचपीसी लाभांश बाँड्ने हैसियतमा पुग्छ।

लगानीकर्ताले निर्माण भएको २० वर्षपछि कम्पनीबाट लाभांश पाउने छन्। यदि लाइसेन्स पाएन भने लाभांस तत्काललाई टर्ने छ।

त्यही भएर एनएचपीसीमा लगानीकर्ताले विवेकपूर्ण निर्णय लिनु उपयुक्त हुन्छ।