BIZMANDU
www.bizmandu.com

चिनियाँ स्याउ अवैध रुपमा भारत जाँदा तीन प्रहरी निलम्बनमा, भारतबाट चिनीको अवैध आयातले हैरानी 


चिनियाँ स्याउ अवैध रुपमा भारत जाँदा तीन प्रहरी निलम्बनमा, भारतबाट चिनीको अवैध आयातले हैरानी 
चिनियाँ स्याउ अवैध रुपमा भारत जाँदा तीन प्रहरी निलम्बनमा, भारतबाट चिनीको अवैध आयातले हैरानी 


Tata
GBIME
Nepal Life

विराटनगर। प्रदेश नम्बर १ को प्रदेश प्रहरी कार्यालयले गत साता चिनियाँ स्याउको अनधिकृत निकासीमा लाइन दिएको अभियोग लगाउँदै ३ प्रहरीलाई निलम्बन गरेको छ।

नेपालबाट तस्करी भएर गएको स्याउ भारतीय भूमिमा प्रहरीले पक्राउ गरेपछि प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरीलाई निलम्बन गरेको हो।
प्रदेश प्रहरी प्रमुख डिआईजी इश्वरबाबु  कार्कीका अनुसार सीमा प्रहरी चौकी भन्टाबारीका प्रमुख सई गंगा थापा र भन्टाबारी मातहतमा रहेको अस्थायी प्रहरी चौकी कोशी कटानका इन्चार्ज असई आशनारायण माझी र श्रीपुर प्रहरी चौकीका असई टेकहादुर कार्कीलाई निलम्बन गरिएको हो। थापा, माझी र कार्कीलाई कारबाही गर्न एसएसपी राजेन्द्र चौधरीका संयोजकत्वमा छानबिन समितिको गठन गरिएको र समितिले प्रतिवेदन दिन बाँकी रहेको कार्कीले बताए।

मोरङ, सुनसरी र झापाका सीमान्त क्षेत्रबाट चाइनिज स्याउ, सुपारी, मटर, मरीच भारततर्फ अवैध रूपमा लैजाने र भारतबाट चिनी, बिस्कुट, कपडा, रजनीगन्धा, तुलसी जर्दा, पास्ता, खाने तेल लगायतका सामग्री अवैध आयात भइरहेको छ। भन्टाबारीसहित सुनसरीको श्रीपुर, लौकही, साहेबगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज लगायतका नाकादेखि पनि तस्करी हुने गरेको छ । त्यस्तै मोरङको रतुवामाई नगरपालिकाको झुर्किया, सुनबर्सी गाउँपालिकाको सिक्टी, रङ्गेली नगरपालिकाको चोप्रा, धनपालथान गाउँपालिकाको खयरबोना र नोचा तथा विराटनगर महानगर क्षेत्रभित्रका बुधनगर, इस्लामपुर, मटेरवा र दरैया तस्करीका मुख्य नाका मानिन्छन्। 

झापाको काँकडभिट्टा, ज्यामिर गढीसहित सबै छोटी नाकाबाट तस्करी हुन्छ। ‘विराटनगर–जोगबनीको मुख्य नाका नेपाल प्रहरीले २४ सै घण्टा सिल गरेर देखाउने दाँतलाई बलियो बनाएको छ’, सीमा क्षेत्रका रहिम आलमले भने, ‘तर यही मुख्य नाकाबाट एक किलोमिटर दायाँबायाँका नाकाबाट खुलेआम तस्करी चलाएर खाने दाँतलाई पनि सक्रिय बनाएको छ।’

क्वालिटी बिस्कुट प्रालिका सञ्चालक श्याम काबराले गत वर्षको लकडाउनमा तस्करी धन्धा बन्द गरिएको र यस वर्ष सञ्चालन गरिएको दाबी गरे।‘गत वर्षको लकडाउनमा हामीले माग बमोजिमको बिस्कुट र कन्फेक्सनरी उत्पादन गर्न सकेका थिएनौँ’, उद्योगी काबराले भने, ‘यस वर्षको लकडाउनमा ३० देखि ४० प्रतिशतमात्र उत्पादन भइरहेको छ । अवैध रूपमा पैठारी गरिएका बिस्कुट र कन्फेक्सनरीले हाम्रो बजारलाई असर पुर्याभएका छन्।’

व्यवसायी जीवन रिजालले पनि अवैध रूपमा आयातीत चिनीका कारण स्वदेशी उद्योगबाट उत्पादित चिनीको विक्री ठप्प भएको बताए।‘हामी दैनिक ४ ट्रयाक्टर चिनी विक्री गर्दै आएका छौँ’, व्यवसायी रिजालको भनाइ छ, ‘गत वर्षको लकडाउनमा पनि यो अनुपात घटेन। चिनीको विक्री राम्रो थियो। तर यस वर्ष विगत २ महिनादेखि हप्तामा एक ट्रयाक्टर पनि विक्री हुन मुस्किल भइरहेको छ।’

रिजालले सुनसरीको इस्टर्न मिलसित प्रति किलोग्राम ८२ रुपैयाँ ५० पैसामा खरिद गरेको चिनी खुद्रा पसलेलाई प्रति किलो ८४ रुपैयाँ ५० मा विक्री गर्छन्। यस हिसाबले विराटनगरका खुद्रा किराना पसलमा चिनीको मूल्य कम्तीमा पनि प्रति किलो ८५ रुपैयाँ हुनुपर्नेमा ८० देखि ८४ मा नै पाइन्छ। चिनीका अवैध कारोबारीले सीमा क्षेत्रबाट क्यारिङ गरेर ल्याएको चिनी विराटनगरका पसलमा प्रति किलो ७२ रुपैयाँले विक्री गरिरहेका छन्।

जोगबनी बजारमा चिनीको मूल्य प्रति किलो ६२ रुपैयाँ छ। यसरी विराटनगरको बजारमा स्वदेशी उद्योगबाट ल्याइएको भन्दा तस्करीको चिनी सस्तो परिरहेको छ। जुन ट्रक वा ट्रयाक्टरमा अवैध रूपमा स्याउ भारत पुर्याइन्छ, त्यही साधनमा चिनी, बिस्कुट, खानेतेल आदिको अवैध आयात भइरहेको छ। चामलका होलसेलर जितु बोथडाले गत वर्षको लकडाउनमा विराटनगरको सीमान्त बजार रानीका उपभोक्ता चामल खरिद गर्न विराटनगर आएको बताए।

‘गत वर्ष नाका पूर्णतः ठप्प पारिएको थियो’, व्यवसायी बोथडाको कथन थियो, ‘त्यसैले जोगबनी छेउका उपभोक्ता चामल, दाल, तेल, चिनी आदि खरिद गर्न विराटनगर आउँथे। यस पटक तस्करीको सामान बजारमा फालाफाल छ। अझ लकडाउनको मौका छोपेर अनधिकृत व्यापार अझ माथि पुगेको छ।’

प्रदेश प्रहरी प्रमुख कार्की सीमा क्षेत्रमा तस्करी मौलाएको भनाईमा सहमत छैनन्।‘हामीले सम्पूर्ण सीमा क्षेत्रमा कडा सुरक्षा उपाय अपनाएका छौँ’, कार्कीले बिजमाण्डूसँग भने, ‘हाम्रो सिस्टम र निर्देशनमा नआउने प्रहरी कर्मचारी निर्ममताका साथ कारबाहीको भागी बन्नेछन्। त्यस्तै मोरङका एसपी सन्तोष खड्का र सुनसरीका कमल थापाले पनि सीमा क्षेत्रलाई कडा बनाइएको दाबी गरे।