BIZMANDU
www.bizmandu.com

कोभिड संक्रमण घटेपछि हवाई सेवा संचालनका लागि दबाब, हवाई कम्पनी चलाउन तयारी अवस्थामा


कोभिड संक्रमण घटेपछि हवाई सेवा संचालनका लागि दबाब, हवाई कम्पनी चलाउन तयारी अवस्थामा
कोभिड संक्रमण घटेपछि हवाई सेवा संचालनका लागि दबाब, हवाई कम्पनी चलाउन तयारी अवस्थामा


Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड संक्रमणको दर घट्दै गएपछि आन्तरिक हवाई सेवा संचालनका लागि दबाब सुरु भएको छ।

वायु सेवा संचालक संघले केही दिन अघि पर्यटनमन्त्री उमाशंकर अरगरियालाई भेटेर हवाई सेवा संचालनको माग गरेको थियो।

संघले असारदेखि नै हवाई सेवा संचालनमा ल्याउन माग गरे पनि सरकारले निर्णय गरेको छैन्। कोभिड संक्रमणका बेलामा पनि अन्तर्राष्ट्रिय क्षेत्रमा आन्तरिक उडान रोकिएन। तर नेपालमा भने संक्रमण दर बढ्दै गएपछि आन्तरिक उडान समेत रोक्ने गरिएको छ।

आन्तरिक उडानका बारेमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बल्ल सेफ्टी प्रोटोकल तयार पार्दैछ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर प्रोटोकल तयार पार्ने बताए। उनका अनुसार प्रोटोकल पालना सम्बन्धी छलफल भर्चुअल मिटिङ  बिहीबार बस्ने भएको छ। प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागले जहाज निर्माता कम्पनी र अन्तर्राष्ट्रिय नगरिक उड्डयन संगठन सँग छलफल सुरु गरिसकेको जनाएको छ।

'यो बैठकमार्फत अहिले पालना गर्दै आएको स्वास्थ्य सुरक्षा मापदण्डमा थपघट गर्नुपर्ने नपर्ने जानकारी आउनेछ,' प्रवक्ता क्षेत्रीले भने, 'यो छलफलमा सुविधा, सहजीकरण, सार्वजनिक स्वास्थ्य, सुरक्षा लगायत क्षेत्रमा पालना हुँदै आएको मापदण्डमा केही परिवर्तन आउने सम्भावना रहेको छ।' स्वास्थ्य सुरक्षा अवलम्बन अनुगमनका लागि प्राधिकरणले गत वर्षदेखि नै विभिन्न वायुसेवा कम्पनीसँग प्रोटोकल पालनाको विवरण लिँदै आएको छ।

पहिलाको तुलनामा कोभिड दोस्रो लहर थप जोखिमपूर्ण रहेका कारण प्राधिकरणले स्वास्थ्य मन्त्रालय, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र जहाज निर्माता कम्पनीसँग छलफल गरेको हो।

उडान संख्या कम

सरकारले आन्तरिक उडान खुला गरे पनि सुरुमा न्युनतम उडानमार्फत सेवा दिने प्राधिकरणले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले न्युनतम उडानमार्फत उडान गर्ने गरि तयारी भइरहेको बताए।

उनले भने, 'उडान खुले पनि एकदम कम उडान संचालन गर्न आवश्यक छ। कम उडान भए मात्रै यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गराउन सकिन्छ। अवस्था सामान्य भएसँगै उडान संख्या बढाइन सकिन्छ।'

वायुसेवा कम्पनीको तयारी कस्तो छ?

अधिकांश वायुसेवा कम्पनी सेवा संचालनका लागि तयारी अवस्थामा छन्। कम्पनीहरु सीमित उडानका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका छन्। कोभिड पहिलो लहरमा आकर्षक भ्रमण प्याकेज ल्याएका कम्पनीले अहिले भने कुनै कार्यक्रम भने नल्याउने भएका छन्।

निषेधाज्ञा खुले लगत्तै सीमित उडानमार्फत यात्रु सेवा दिने योजना रहेको बुद्ध एयरले जनाएको छ। कम्पनीका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले भने '२१ जुन देखि नियमित उडान पुनः सुरु भएमा जुलाई पहिलो सातादेखि फुलफ्लेजमा उडान संचालन गर्ने योजना बनाएका छौं। हामी सरकारको निर्णयको प्रतीक्षामा छौं।'

कम्पनीले यात्रु लक्षित आकर्षक भाडादर र भ्रमण प्याकेज सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिए। यती एयरलाइन्सले पनि सरकारले निर्णय गरेलगत्तै उडान थाल्न तयार रहेको जनाएको छ। कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले उडान थाल्न तयारी अवस्थामा रहेको बताउँदै उडान संख्याको आधारमा भाडा निर्धारण हुने जानकारी दिए।

उनका अनुसार उडान संख्या कम भएमा भाडा महँगो हुन सक्नेछ। श्री एयरलाइन्सले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा दिन तयार रहेको जनाएको छ। कम्पनीका प्रवक्ता अनिल मानन्धरले सरकारको निर्णयपछि यात्रुको माग अनुसार सेवा दिने जानकारी दिए।