BIZMANDU
www.bizmandu.com

विद्युत प्राधिकरणको ५० ठाउँका लागि उपकरण तयार पार्दै चिनियाँ कम्पनी,निजी क्षेत्रको पनि प्लान


विद्युत प्राधिकरणको ५० ठाउँका लागि उपकरण तयार पार्दै चिनियाँ कम्पनी,निजी क्षेत्रको पनि प्लान
विद्युत प्राधिकरणको ५० ठाउँका लागि उपकरण तयार पार्दै चिनियाँ कम्पनी,निजी क्षेत्रको पनि प्लान

Tata
GBIME
Nepal Life

काठमाडौं। विद्युतीय सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेशन पूर्वाधार बिस्तारको गति सुस्त छ। सरकारले कर घटाउनेबित्तिकै आयात, बिक्री र प्रयोगकर्तामा चासोसँगै चार्जिङ स्टेशन राख्न निजी क्षेत्रले योजना अघि सारेका छन्।

यो सँगसँगै निजी क्षेत्रको ध्यान नेपाल विद्युत प्राधिकरणले अघि सारेको मुलुकका ५० ठाउँमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन बनाउने योजनामा छ। मुलुकका प्रमुख स्थानमा प्राधिकरणको स्टेशन सञ्चालनमा आए धेरैजसो निजी कम्पनीहरु वैकल्पिक ठाउँ रोज्ने सुरमा देखिएका छन्। 

नेपालका लागि विद्युतीय सवारी आधिकारिक बिक्रेता कम्पनीहरुले आआफ्नै पहलमा चार्जिङ स्टेशन राख्ने भएका हुन्। हुण्डाइ, महिन्द्रा, किया, एमजी, टेस्ला, टाटा लगायत विभिन्न गाडीका आधिकारिक बिक्रेता कम्पनीहरुको चार्जिङ स्टेशन निर्माण गर्न छुट्टाछुट्टै योजना छ। 
अब कम्पनीहरुले शोरुममा चार्जिङ सुविधा सहज बनाउँदैछन्, साथमा आफ्ना ग्राहकको सविधाअनुसारका स्थानमा उनीहरुको ध्यान छ। विद्युत सुविधा भरपर्दो भएसँगै अबको दुई वर्षमा विद्युतीय सवारीका लागि चार्जिङ सुविधा मुलुकका धेरै ठाउँमा हुने कम्पनीहरूले जनाएका छन्।

हुण्डाइका कोना र आइकोनिक इभी बिक्री गर्दै आएको लक्ष्मी इन्टरकटिनेन्टलले मुलुकका  २१ ठाउँमा चार्जिङ प्वाइन्ट निर्माण गर्ने जनाएको छ। हुण्डाइका इभी प्रयोग गर्ने ग्राहकलाई लक्षित गर्दै निःशुल्क चार्जिङको व्यवस्था गर्ने जनाएको छ। काठमाडौंमा ६  वटा, पोखरामा ३, भैरहवा, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, वीरगंज, विराटनगर, इटहरी, भरतपुर र बिर्तामोडमा एउटा/एउटा चार्जिङ प्वाइन्ट स्थापना गर्ने योजना कम्पनीको छ। 

महिन्द्रा इटुओ प्लसको बिक्रेता अग्नि इनर्जीले विद्युत प्राधिकरणले जडान गर्न लागेको   चार्जिङ स्टेशनलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ। मुलुकमा बढ्दो ऊर्जा उत्पादनसँगै खपत बढाउन केहीअघि प्राधिकरणले विद्युतीय सवारीका लागि मुलुकका ५० स्थानमा चार्जिङ स्टेशन बनाउने योजना अघि सारेको थियो। जल प्रवाहमा आधारित आयोजनाको संख्या धेरै भएकाले मुलकमा हिउँदमा आन्तरिक उत्पादन अपुग हुन्छ, वर्षामा धेरै हुन्छ। 

माग व्यवस्थापनमा संकटको सामना गरिरहेको प्राधिकरणले कोरोना महामारी सुरु भएयता उक्त योजनालाई तीव्रता नदिए पनि ठेकेदार कम्पनीले काम थालिसकेको जनाएको छ। स्टेशन निर्माणको योजना टेन्डर भइसकेकाले अघि बढ्नेमा प्राधिकरणका अधिकारीहरू ढुक्क देखिन्छन्। सरकारले सार्वजनिक यातायातमै विद्युतीय सवारी चलाउने योजना ल्याइसकेकाले चार्जिङ स्टेशन बनाउनै पर्ने दबाब प्राधिकरणलाई छ। त्यसैले निजी क्षेत्रका कम्पनीले पूर्वाधारमा लगानी गरिहाल्नुभन्दा सरकारी योजना अघि बढेको खण्डमा वैकल्पिक ठाउँ छनोट गर्न सकिने भन्दै पर्खिरहेका छन्।  

प्राधिकरणले चार्जिङ स्टेशन बनाएसँगै आवश्यक परेको स्थानमा मात्र आफूले छुट्टै स्टेशन राख्ने योजना रहेको अग्निका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले बताए। 'हामीले दुई वर्षअघि चारवटा चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएका हौं। प्राधिकरणले ५० वटा चार्जिङ स्टेशन बनाउने योजना पक्का गरिसकेको छ। यसैलाई मध्यनजर गर्दै हामीले आवश्यक पर्ने अरू ठाउँमा चार्जिङ स्टेशन राख्छौं,' उनले भने, 'प्राधिकरणले छनोट नगरेका तर इभीका लागि आवश्यक रहेको ठाउँ हाम्रो रोजाइ हुनेछ।' 

कम्पनीले राजमार्ग छेउछाउमा रहेका रिसोर्टसँगको सहकार्यमा चार्जिङ स्टेसनको व्यवस्था गर्ने उनले बताए। 'प्राधिकरणले लाइनको सप्लाइ दिएको अवस्थामा चार्जिङ स्टेशन सञ्चालनका लागि हामी तयार नै छौं,' उनले भने।   

कम्पनीहरुका अनुसार विद्युतीय गाडी चार्ज गर्नका लागि विश्वव्यापीरुपमा करिब आधा दर्जन पिनको प्रयोग गरिएको हुन्छ। जापान, अमेरिका, चीन र युरोपेली मुलुकमा पिनको प्रकार फरक फरक हुन्छ। चार्डेमो, सीसीएच-वन, सीसीएच-टु, जीबी/टी, जे-वन, टाइप वन, टाइप टु लगायतका पिनको प्रयोग गरिएको हुन्छ। प्राधिकरणले निर्माण गर्न लागेको चार्जिङ स्टेशनमा  यीमध्ये अधिकांश पिन जडान हुन आवश्यक रहेको सवारी बिक्रेता कम्पनीहरुले जनाएका छन्। 

विद्युतीय सवारीलाई सुविधा दिन सबै प्रकारको ब्रान्डका पिन जडान हुनु आवश्यक छ। यति भए जुनसुकै कम्पनीका इभीले एउटै स्टेशनबाट चार्जिंङ सुविधा लिन सक्छन्। 

चितवनको कुरिनटारमा फास्ट चार्जर स्टेशन राखिसकेको किया  मोटर्सको निरोको बिक्रेता कन्टिनेन्टल एशोसिएट्सले सिन्धुली बर्दिबासमा एउटा स्टेशन राख्ने योजना रहेको जनाएको छ। 'विद्युत प्राधिकरणले करेन्ट सप्लाइ दिएलगत्तै ४० मिनेटमै फुल चार्जिङ क्षमताको फास्ट चार्जर जडान गर्ने योजना छ,' कम्पनीका उपमहाप्रबन्धक अनिश लामिछानेले भने। 

उनले पनि प्राधिकरणको चार्जिङ स्टेशन राख्ने योजना कार्यान्जनलाई 'पर्ख र हेर' को अवस्था रहेको बताए। 'हामीले पहिलो प्राथमिकता प्राधिकरणको परियोजनालाई दिएका छौं। त्योसँगै ग्राहक सेवालाई मध्यनजर गर्दै हामीले बर्दिबासको कोमात्सुको शोरुम परिसरमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याउनेछौं,' उनले भने।

नेपालमा टेस्लाका कार बिक्रेता अरिती इन्टरनेशनलले विद्युतीय सवारी साधन प्रवर्द्धनका लागि हालसम्म काठमाडौंमा चार, विराटनगर, भरतपुर लगायत क्षेत्रमा चार्जिङ स्टेशन तयार गरिसकेको प्रबन्धक विनोद श्रेष्ठले बताए। 'यतिखेर नक्सालमा हाम्रो चार्जिङ स्टेशनसहितको अन्तर्राष्ट्रियस्तरको सेल्स एण्ड सर्भिस शोरुम निर्माणाधीन छ,' उनले भने, 'यहाँको चार्जिङ स्टेशनमा एकैपटकमा सातवटा गाडी चार्ज गर्न सकिने छ।'  

के हुँदैछ प्राधिकरणको चार्जिङ स्टेशन योजनामा?   
चार्जिङ स्टेशन निर्माण ठेक्का पाएको चिनियाँ  कम्पनीले यतिखेर डिजाइन अनुसारको उपकरण उत्पादन सुरु गरिसकेको विद्युत प्राधिकरणले जनाएको छ।

चिनीयाँ कम्पनी वानब्याङ डिजिटल इनर्जीलाई दिइएको ठेक्का सम्झौता अनुसार एक वर्षभित्रै मुलुकको ५० ठाउँमा चार्जिङ स्टेशन तयार हुनेछ। 

'अहिले निषेधाज्ञाका कारण यताको काममा केही अवरोध भइरहेको छ। तर हामीले डिजाइन गरे अनुसारको उपकरण चिनियाँ कम्पनीले उत्पादन सुरु गरिसकेको जानकारी आएको छ,' प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने, 'काममा अवरोध भएन भने विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन एक वर्षमै सञ्चालनमा ल्याउने योजना हो।'  

उनका अनुसार प्राधिकरणले ५० ठाउँमा निर्माण गर्ने स्टेशनमा एक सय ५० किलोवाट क्षमताका अधिकांश ब्राण्डका गाडीले चार्जिङ सुविधा लिन सक्नेछन्। भविष्यमा माग अनुसार चार्जिङ स्टेशनको क्षमता पनि विस्तार गर्दै लैजाने योजना छ।