BIZMANDU
www.bizmandu.com

ट्राफिक नियममा कडाइको तयारी: सडक तीन जोनमा वर्गीकरण, रातोमा रोक्न र पहेँलोमा उत्रिन नपाइने

२०७८ असार १

ट्राफिक नियममा कडाइको तयारी: सडक तीन जोनमा वर्गीकरण, रातोमा रोक्न र पहेँलोमा उत्रिन नपाइने
ट्राफिक नियममा कडाइको तयारी: सडक तीन जोनमा वर्गीकरण, रातोमा रोक्न र पहेँलोमा उत्रिन नपाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। सडकमा ट्राफिक नियम पालन गराउन सरकारले नियम कडा बनाउने भएको छ। यातायात व्यवस्था विभागले 'प्रत्येक नागरिक ट्राफिक प्रहरी' कार्यक्रम अन्तर्गत सडकलाई तीनवटा जोनमा विभाजन गरेर नयाँ नियम कार्यान्वयन गराउन गृहकार्य गरिरहेको छ।  

रातो, पहेँलो, हरियो गरी ट्राफिक बत्तीकै रङमा तीन जोनमा विभाजन गर्न लागेको हो। विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मुख्य सडकलाइ रातो र त्यस बाहिरको लेनलाइ पहेँलो र सडक अनुसार हरियो जोनमा वर्गीकरण मापदण्डसहितको हुनेछ। सडक जोन छुट्याउनका लागि लागि छुट्टाछुट्टै मापदण्ड हुनेछ। 

'रेड जोनमा गाडी रोक्नै पाइदैन। पहेँलोमा रोक्न पाइन्छ, रोकेर साथीहरुसँग गफ गर्न त पाइयो तर झर्न पाइँदैन। ग्रीनमा तोकिएको समयसम्म पार्किङ नै गर्न पाइन्छ,' घिमिरेले भने,'यसबाट ट्राफिक सुधार आउने अपेक्षा छ।' कसैले वर्गीकरण गरिएको क्षेत्र पालना नगरे जो कोहीले उजुरी गरिदिन सक्नेछन्। यसका लागि विभागले एउटा एप ल्याउनेछ। उक्त एपले करिव डेढ मिटरसम्म रहेका सवारी साधन रीड गर्न सक्नेछ।

'एपबाट  सवारीको विवरणसहित उजुरी जो कोहीले पनि गर्न सक्नेछन्। एपले आफैंले डेढ मिटरसम्म रीड गर्न सक्ने भएकाले भेरिफाइ गर्छ। सेन्ट्रल सर्भरमा आएको विवरणका आधारमा आफैं एसएमएस जान्छ,' उनले भने, 'मानौं एक हजार रुपैयाँको चिट काटियो भने ९ सय ट्राफिकको खातामा र एक सय उजुरीकर्ताको खातामा जाने व्यवस्था मिलाउँछौ।'

सीसीटीभी क्यामराको सहायताले पनि अनुगमन गरिनेछ। इम्बोस्ड नम्बरमा राखिएको चिप वा जीपीएस सिस्टमलाइ एपले ट्रयाक गर्नेछ। ट्राफिक प्रहरीले पनि जीपीएस वा इम्बोस्डको चिपका आधारमा सवारी कस्तो जोनमा छ भनेर भेरिफाइ गर्न सक्छन्।

विस्तारै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै लैजाने योजनामा विभाग छ भने आगामी वर्ष जीपीएस सिस्टम पनि जडान गर्ने योजना पनि छ। 'हामीले ट्राफिक खटाएर चिट काटिरहनै पर्दैन। सिधै सवारीधनी वा चालकलाई चिट काटिएको एसएमएस जान्छ,' महानिर्देशक घिमिरेले भने, 'तपाइले रेड जोनमा पार्क गर्नु भएको रहेछ, त्यसैले चिटका काटिएको छ, तोकिएको समयभित्र तिर्नुहोला नत्र थप जरिवाना लाग्छ भनेरै नोटिस पठाउँछौं।'  सवारी साधनहरु जथाभावी रोक्ने,पार्किङ गरेर हैरान पारेका कारण ट्राफिक नियम कडा बनाउन लागिएको हो।
 

'लेन अनुशासन स्कुलमै पढाउनुपर्छ'
घिमिरेका अनुसार दुई कारणले नेपालमा ट्राफिक जाम बढेको छ। पहिलो, सरकारले उचित पूर्वाधार विकास गर्न  सकेको छैन। दोस्रो, सर्वसाधारणले लेन अनुशासन पालना गर्दैनन्। 'पूर्वाधार तत्कालै विकास गर्न सकिदैन। समय लाग्छ,' उनले भने,'तत्कालका लागि ट्राफिक अनुशासन पालना गराउने नै हो।'

घिमिरेले ट्राफिक अनुशासन शिक्षा र कारबाहीबाट पालना गराइने बताए। 'हाम्रो उमेरको मान्छेलाई शिक्षाले काम गर्दैन। कारबाही नै हो,' उनले भने,'विद्यालय शिक्षामा नै समावेश गर्न खोजेका हौं। आगामी वर्ष केही स्कुलमा हामी क्याम्पेनिङ नै गर्न लागेका छौं।' चालकले रातो बलेपछि रोकिनुपर्छ। स्कुलमा रातो बलेपछि रोकिनुपर्छ। पहेँलो बलेपछि स्ट्राट मात्रै गर्नुपर्छ। ग्रीन भएपछि हिड्नुपर्छ भनेर सानैदेखि स्कुलमै पढाउन सकिए लेन अनुशासन पालना गर्न सकिने भनाइ घिमिरेको छ।