BIZMANDU
www.bizmandu.com

कुखुरा उत्पादन घट्दा दाना उद्योग सकसमा, मासु महँगियो, उत्पादन क्षमता ४० प्रतिशतमा खुम्चियो


कुखुरा उत्पादन घट्दा दाना उद्योग सकसमा, मासु महँगियो, उत्पादन क्षमता ४० प्रतिशतमा खुम्चियो
कुखुरा उत्पादन घट्दा दाना उद्योग सकसमा, मासु महँगियो, उत्पादन क्षमता ४० प्रतिशतमा खुम्चियो


Tata
GBIME
Nepal Life

काठमाडौं । वैशाख १६ बाट देशका अधिकांश स्थानमा लगाइएको निषेधाज्ञाका कारण कुखुराको खुराक (दाना) उत्पादन गर्ने उद्योगहरुको उत्पादन क्षमता ६० प्रतिशतले खुम्चिएको छ।

नेपाल दाना उद्योग संघका अनुसार निषेधाज्ञापछिको डेढ महिना दाना उद्योगहरु मात्र ४० प्रतिशत उत्पादन क्षमतामा संचालन भइरहेका छन्।

पछिल्लो समय चल्ला  उत्पादनमा कमी आउँदा यसको असर दाना उद्योगमा  परेको हो। 

कोभिड संक्रमणको दोस्रो लहर तीव्र हुन थालेसँगै सरकारले निषेधाज्ञा लागू गरेपछि आर्थिक गतिविधि ठप्पप्रायः भएपछि पोल्ट्री व्यवसायमा पनि यसको गहिरो असर देखियो। जसले गर्दा कुखुराको मासुको मूल्य २६० रुपैयाँ प्रतिकिलोसम्म झर्‍यो। 

यसरी कुखुराको माग तथा बिक्री न्यून हुँदा किसान तथा पोल्ट्री व्यवसायीहरुले चल्ला हाल्न नै कम गरेकाले दानाको खपत पनि घट्न थालेको संघले जनाएको छ।

अहिले देशभर संचालित एक सय १८ वटा दाना  उद्योग संघमा आबद्ध छन्।  यी उद्योगहरुको उत्पादन अहिले औसतमा क्षमताको ४० प्रतिशतमा झरेको संघका अध्यक्ष रविन पुरीले बताए। 'डेढ महिनादेखिको बन्दले कुखुरा उत्पादनमा कमी आएपछि यसको असर दाना उद्योगमा परेको हो,' उनले भने, 'अहिले ६० प्रतिशत उत्पादन घटेको छ। भएको उत्पादन पनि सबै बिक्री भएको छैन। तैपनि बजारमा दानाको माग र खपत भएन भनेर उद्योग बन्द गर्न सकिँदैन।'

बन्दका कारण चल्ला  बिक्री नहुने भएकाले ह्याचरी संघले पनि चल्ला उत्पादन आधा नै घटाएका छन्। पोल्ट्री तथा किसानहरुबाट कुखुरा उत्पादन यतिबेला न्यून छ। यसकारण दाना उत्पादन क्रमिक रुपमा घटेको छ। तर प्यारेन्ट कुखुराका लागि दाना चाहिने भएकाले त्यसका लागि भए पनि उद्योग संचालन गरिरहेको पुरीको जिकिर छ। अहिलेको अवस्थामा नाम मात्रको उद्योग चलाउने काम भइरहेको उनी दुखेसो गर्छन्।

यसअघि गत वर्ष चैतबाट लकडाउन गरेका बेला पनि दाना उद्योगहरुले क्षमताको ५०% मात्रमा उद्योग चलाउन बाध्य भएको संघको भनाइ छ। संघका अनुसार, अझ कतिपय उद्योगहरु त बन्द समेत  भएका थिए। 

सामान्य अवस्थामा  कुखुराका विभिन्न खुराक उत्पादन गर्ने यस्ता उद्योगहरुले दैनिक सात हजार मेट्रिक टन दाना उत्पादन  गर्दै आएका थिए। गत वर्षको लकडाउनपछि यो दैनिक तीन हजारदेखि ३५ सय टन हाराहारीमा झरेको थियो।

पछिल्‍लो डेढ महिनायताको निषेधाज्ञापछि भने दाना उद्योग दैनिक १४ सय टन उत्पादनमा सीमित हुनु परेको संघको भनाइ छ। दानाको उत्‍पादन मात्र नभएर खपत समेत गत वर्षको  तुलनामा आधा भन्दा बढीले कम भएको संघले जनाएको छ। 

कच्चा पदार्थको मूल्य बढ्दा महँगियो दाना 
नेपाल दाना उद्योग संघका अनुसार कच्चा पदार्थको मूल्‍य बढेर आएकाले पछिल्लो समय दानाको मूल्य पनि बढेको छ। 

कुखुरा उत्पादन घट्दै गएर माग न्यून भएपनि निषेधाज्ञाको समयमा किसानहरु महँगोमा दाना खरिद गर्न बाध्य छन्। यद्यपि संघले निषेधाज्ञामा दानाको मूल्य नबढाएको जनाएको छ। 

हाल दानाको मूल्य बोरा (५० केजी) मै करिब पाँच सय रुपैयाँ बढेर बोराको ३४ सयदेखि ३५ सय रुपैयाँ  पुगेको छ। यसअघि दानाको मूल्य प्रतिबोरा २९ सयदेखि ३१ सय रुपैयाँ थियो।

निषेधाज्ञाका कारण कुखुराको माग तथा बजार विस्तार हुन नसके पनि केही समयदेखि दानाको मूल्य बढ्दै गएको छ। यसरी दानाको भाउ बढ्दै जाँदा कुखुरा उत्पादनप्रति किसानहरुको मनोबल भने घटेको छ।

यसलाई दृष्टिगत गरेर संघले  दानाको मूल्य घटाउने तयारी समेत गरेको जिकिर गरेको छ। तर अन्तर्राष्ट्रिय बजारमा दानाको कच्चा पदार्थ भटमास र मकैको मूल्य बढेर आएपछि दाना पनि महँगिएको संघको भनाइ छ।

डेढ महिनापछि ब्रोइलरको मासु महँगियो, अब किलोको तीन सय 
लगातार लामो समयदेखिको निषेधाज्ञाले बजारमा आपूर्ति कसिलो हुँदै गएपछि ब्रोइलर कुखुराको मासुको मूल्य बढ्न थालेको छ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो कुखुराको मूल्य किलोमा १० रुपैयाँ र मासुमा १५ रुपैयाँको दरले मूल्य बढेको जानकारी दिएको छ। यो मूल्य शनिबारबाटै बजारमा लागू भएको छ। 

यससँगै जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकेजी २ सय २० रुपैयाँ पुगेको छ भने तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ३ सय रुपैयाँ भएको छ।

यसअघि संघले जिउँदो कुखुरा २ सय १० रुपैयाँ र मासु प्रतिकेजी २ सय ८५ रुपैयाँ तोकेको थियो।

'कुखुरा उत्पादनमा कमी आएपछि मूल्य बढ्न  थालेको हो। खपत र माग धेरै भएर दाम बढाएको होइन,' संघका सचिव देव गिरीले भने।

निषेधाज्ञा जारी भएसँगै पोल्ट्री फार्म तथा किसानले कुखुरा बिक्री नहुने डरले चल्ला हाल्न छाडेका थिए। त्यसले कुखुरा उत्पादन नै अहिले घटेको छ। मागभन्दा कम आपूर्ति कम हुँदा मासुको मूल्य पुनः बढ्न थालेको छ।

यसअघि मागभन्दा आपूर्ति धेरै हुँदा कुखुरा बिक्री हुन समस्या थियो। त्यसैले स्टक सक्नका लागि पछिल्लो एक महिनामा कुखुरा तथा यसको मासुको मूल्य किलोमा एक सय रुपैयाँभन्दा बढी घटेको थियो। बिक्री गर्ने अवधि पुगेका कुखुरा लामो समयसम्म  स्टक राख्न नमिल्ने भएकाले पनि सातामै दुई/तीन पटकसम्म मूल्य घटाइएको थियो।

यतिबेला कुखुराको उत्पादन कम भएसँगै जिउँदो कुखुरा र मासुको मूल्य बढ्न थालेपछि अब भने बिस्तारै पोल्ट्री फार्म तथा किसानहरुले चल्ला राख्न थाल्ने संघले जनाएको छ।

यद्यपि, अहिले हालिने चल्ला खानयोग्य कुखुराका रूपमा उत्पादन भएर बजारमा आउन अझै डेढ महिना लाग्ने हुनाले अबको केही  समय कुखुराको मूल्य उकालो लाग्ने संघका सचिव गिरीले बताए। 

कुखुरा तथा यसको मासुको मूल्यमा यो समस्या बारम्बार दोहोरिँदै आएको छ। खासगरी  उत्पादन धेरै भएको बेला होल्ड गरेर राख्नका लागि स्तरीय कोल्डस्टोरको व्यवस्था नभएकाले उत्पादित कुखुरा निश्चित समयभित्र बिक्री नगर्दा नोक्सान हुने हुँदा किसान तथा पोल्ट्री व्यवसायीलाई चाप पर्छ। यसले गर्दा बजारमा कुखुराको आपूर्ति तलमाथि भइरहन्छ भने त्यहीअनुरुप मूल्यमा यसको प्रभाव देखिन्छ।

निषेधाज्ञाबीच अहिले सीमित समयमा मासु पसल खोल्न दिइएकाले आपूर्तिमा समस्या नहुने भएपनि एक त उत्पादन नै कम छ भने माग पनि सामान्य अवस्थाको भन्दा कम छ। तर अब निषेधाज्ञा खुकुलो हुँदै जाने सम्भावना छ। यसपछि मासुको माग पनि बढ्ने भएकाले नयाँ कुखुरा उत्पादन नहुन्जेल सीमित आपूर्तिका कारण जिउँदो कुखुराको मूल्य नै किलोको तीन सय रुपैयाँसम्म पुग्न सक्ने संघको अनुमान छ।
 
अर्कोतर्फ, सामान्य अवस्थामा काठमाडौं उपत्यकामा कुखुरा पठाउने तराई क्षेत्रमा बन्दका कारण कुखुरा उत्पादन ठप्पजस्तै छ। यसैले अहिले तराईका जिल्लाहरुबाट नै कुखुराको माग भइरहेको र उपत्यकाबाट कुखुरा तराई जान थालेको व्यवसायीहरुले बताएका छन्।