BIZMANDU
www.bizmandu.com

हेल्थ सिल्क रोडः अवधारणा पुरानै चर्चा कोभिड -१९ सँगै, नेपालले कसरी पाउँछ फाइदा?


हेल्थ सिल्क रोडः अवधारणा पुरानै चर्चा कोभिड -१९ सँगै, नेपालले कसरी पाउँछ फाइदा?
हेल्थ सिल्क रोडः अवधारणा पुरानै चर्चा कोभिड -१९ सँगै, नेपालले कसरी पाउँछ फाइदा?

Tata
GBIME
Nepal Life

काठमाडौँ। कोभिड-१९ महामारीसँगै विश्वमा 'भ्याक्सिन डिप्लोमेसी'को चर्चा चुलिँदै गएको छ। यति बेला पश्चिमा राष्ट्रहरू चीनमाथि 'भ्याक्सिन डिप्लोमेसी' चलाइरहेको आरोप लगाइरहेका छन्। अर्कोतर्फ विश्वका अन्य देशहरू पनि भ्याक्सिन डिप्लोमेसीमा लागिरहेका छन्।

महामारीकै बीच चीनको अर्को परियोजना पनि चर्चामा छ -हेल्थ सिल्क रोड। चीनले अगाडि सारेको परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नै रहनेगरी बीआरआई सदस्य राष्ट्रको स्वास्थ्य पूर्वाधारमा सुधारका लागि अगाडि सारिएको यो परियोजनाको प्रभाव र फाइदा नेपालमा पनि हुने पक्का छ। नेपाल बीआरआई प्रोटोकलमा हस्ताक्षर गरिसकेको राष्ट्र हो।

'हेल्थ सिल्क रोड (एचएसआर)' के हो?

एचएसआर अहिले सुरु गरिएको परियोजना भने होइन। कोभिड-१९ महामारीसँगै यसको चर्चा भने बढेको हो। महामारी बढेसँगै चिनियाँ नेतृत्वले एचएसआरको पक्षमा वकालत गर्दै आएका छन्।

सन् २०१६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले उज्बेकिस्तानको संसदमा पुगेर हरित, स्वस्थ, बौद्धिक तथा शान्तिपूर्ण सिल्क रोड निर्माणको  आह्वान गरेका थिए।

त्यहीँबाट हेल्थ सिल्क रोडको अवधारणा आएको थियो। कोभिड-१९ महामारी नआउँदासम्म एचएसआर बीआरआईकै सीमाभित्र रहँदै आएको थियो। कोभिड-१९ सँगै यसको छुट्टै चर्चा हुन थालेको हो। एचएसआर अहिलेको चीनको महत्त्वपूर्ण नीतिको रूपमा अगाडि आएको छ। र, यही नीति अनुरूप विश्वभर स्वास्थ्य साहायता प्रदान गर्दै आएको छ।

यही अवधारण अनुसार बीआरआई लगानीमार्फत् सदस्य राष्ट्रहरूमा आधारभूत जनस्वास्थ्यका क्षेत्रमा लगानी बढाउँदै लैजाने बताएको छ। सन् २०१७ मा नै एचएसआरको चर्चा विश्व स्वास्थ्य संगठनसम्म भएको थियो। चीन र विश्व स्वास्थ्य संगठनबीच एचएसआर सम्बन्धी एमओयूमा हस्ताक्षरसमेत गरिसकेका छन्। डब्लुएचओ चीनसँग यस्तो सहमतिमा हस्ताक्षर गर्ने पहिलो अन्तर्राष्ट्रिय संगठन हो।

त्यति बेला चिनियाँ राष्ट्रपति सीले संयुक्त रूपमा हेल्थ सिल्क रोड निर्माणमा हातेमालो गर्ने बताएका थिए।

विश्व स्वास्थ्यमा चिनियाँ राष्ट्रपति सीले प्रस्ताव गरेको एचएसआरको चर्चासँगै प्रशंसा गर्दै डब्लुएचओका तत्कालीन महासचिवले मानव स्वास्थ्यलाई केन्द्रमा राखेर बीआरआईले दस्ताबेज प्रस्तुत गरेको बताएकी थिइन्।

उनले त्यति बेला ६० देशका स्वास्थ्य नेतृत्व भेला भई सामूहिक रूपमा स्वस्थ सिल्क रोड निर्माणको आह्वानसमेत गरेकी थिइन्। २०१७ को मेमा बेइजिङमा सम्पन्न बेल्ट एण्ड रोड फोरममा चिनियाँ राष्ट्रपति सीले सिल्क रोडको भावनालाई आत्मसात गर्दै बीआरआईमा सहभागी राष्ट्रहरू हेल्थ सिल्क रोड र एजुकेशनल सिल्क रोड निर्माण गर्ने हाम्रो प्रयासमा बल गरेको बताएका थिए।

उनले विज्ञान, शिक्षा, संस्कृति स्वास्थ्य तथा जनसम्बन्ध आदानप्रदानमा साझेदारी गर्ने उनले बताएका थिए। उनले त्यति बेलै बीआरआईमा सहभागी राष्ट्रहरूमा १०० खुसी घर परियोजना, १०० गरिबी निवारण परियोजना र १०० स्वास्थ्य स्याहार तथा पुनर्स्थापना केन्द्र परियोजना सुरु गर्ने घोषणा गरेका थिए।

कोभिड-१९ र हेल्थ सिल्क रोड

२०१९ को अन्त्यसम्म बीआरआई मातहतमा मात्र चर्चामा रहँदै आएको हेल्थ सिल्क रोड, कोभिड-१९ सँगै २०२० यता एकल रूपमा पनि चर्चामा आइरहेको छ। विश्व राजनीति तथा परराष्ट्र नीतिमा पनि प्रभाव पार्दै अगाडि गएको छ।

कोभिड-१९ पान्डेमिकसँगै विकसित तथा विकासशील राष्ट्रहरूको जनस्वास्थ्य पूर्वाधारमा भएको कमजोरीलाई समेत उजागर गरेको छ। अनपेक्षित रूपमा कोभिड-१९ को संक्रमणको गतिले उचाइ लिँदा स्वास्थ्य पूर्वाधारहरू अपर्याप्त भए।

२०२० को मार्चमा चीनमा कोभिड-१९ को महामारी नियन्त्रणमा आउँदै गर्दा विश्व कोभिड-१९ महामारीको चपेटामा परिरहेको थियो। मार्च २०२० मा चिनियाँ राष्ट्रपति सीले इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टेसँग टेलिफोन वार्ता गर्दै चीन इटालीसँग महामारीविरुद्ध लड्न तथा हेल्थ सिल्क रोड निर्माणका लागि इटालीसँग मिलेर काम गर्न चाहेको बताएका थिए।

त्यसयता हरेक चिनियाँ नेतृत्वले हेल्थ सिल्क रोडको निर्माणमा जोड दिँदै आएका छन्। चीनले आफ्ना हरेक स्वास्थ्य सहयोगमा यही अवधारणलाई अगाडि सार्दै आएको छ।

पिटर्सन इन्स्टिच्युट अफ इन्टरनेशनल इकोनोमिक्सको एक अध्ययनले कोभिड -१९ महामारीको समयमा विश्व बजारमा स्वास्थ्य सुरक्षाका उपकरणहरूको करिब पचास प्रतिशत चिनियाँ उत्पादन भएको देखाएको छ।

महामारीका बीचमा पनि कोभिड-१९ प्रतिरक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री उत्पादन तथा वितरणमा चीनको सामर्थ्यले कोभिड-१९ सँग जुधिरहेका गरिब देशहरूका सहयोगी सिद्ध भयो। डब्लुएचओलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोग बन्द गर्ने घोषणा गरेसँगै चीनले अन्तर्राष्ट्रिय जगतमा साझेदारीलाई बढाउँदै लगेको छ।

हेल्थ सिल्क रोड र नेपाल

कोभिड -१९ विरुद्ध लड्न नेपाललाई उत्तरी छिमेकी चीनले भ्याक्सिनसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। सन् २०२० को जुलाईमा चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले चीन नेपाल, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीबीच भिडियो कन्फ्रेन्सको आयोजना गरे।

पछिल्लो समय पश्चिमा राष्ट्र तथा भारतमा यो भिडियो कन्फ्रेन्सलाई 'ट्रान्स-हिमालय क्वाड' तयारीको रूपमा चर्चा भएको थियो।सो कन्फ्रेन्समा कोभिड -१९ महामारीविरुद्ध साझेदारीलाई बढाउँदै लैजाने र चार राष्ट्रबीच संयुक्त संयन्त्र निर्माण, निर्बाध सञ्चालन हुने व्यापार तथा यातायातको रुट सुनिश्चित गर्ने, हेल्थ सिल्क रोडलाई अगाडि बढाउने सहमति भएको थियो।

तीन देशहरू चीनसँग मिलेर बेल्ट एण्ड रोड साझेदारीलाई अगाडि बढाउँदै कोभिड-१९ महामारीपछि सामाजिक-आर्थिक पुन: उत्थानका लागि चीनसँग मिलेर काम गर्ने सहमतिसमेत भएको थियो।

त्यस्तै २०२१ को अप्रिलमा पनि चिनियाँ विदेशमन्त्री यीले नेपालसहित दक्षिण एसियाका पाँच देशका विदेशमन्त्रीसँग भिडियो कन्फ्रेन्स आयोजना गरे।

सो कन्फ्रेन्समा पनि उनले महामारीविरुद्ध लड्न जनताकको जीवन तथा स्वास्थ्यको रक्षा गर्न, जनस्वास्थ्यलाई कायम राख्न संयुक्त रूपमा बेल्ट एण्ड रोड साझेदारीलाई अगाडि बढाउने बताएका थिए।

सो कन्फ्रेन्समार्फत् नेपालसहित दक्षिण एसियाका पाँच देशहरूले महामारी नियन्त्रणका लागि बेल्ट एण्ड रोड साझेदारीमार्फत् चीनसँग मिलेर काम गर्ने चाहना व्यक्त गरेका थिए।

त्यस्तै जुन १९, २०२० मा चीनका विदेशमन्त्री यीले बीआरआईमा सहभागी नेपालसहित २५ देशका विदेशमन्त्री डब्लुएचओका महासचिव, राष्ट्र संघका उपमहासचिव सम्मिलित कन्फ्रेन्स आयोजना गरेका थिए।

सो सम्मेलनमा पनि यीले हेल्थ सिल्क रोडमार्फत् भ्याक्सिनको वितरण, स्वास्थ्य सहायतालगायतलाई अगाडि बढाउने बताएका थिए।

सो भिडियो कन्फ्रेन्सले १९ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो। संयुक्त वक्तव्यको हेल्थ सिल्क रोड खण्डमा तीन बुँदामार्फत् कोभिड-१९ विरुद्धको साझेदारीको विषयमा जनाएको छ।

त्यस्तै संयुक्त वक्तव्यमा स्वास्थ्य पूर्वाधार निर्माणसहित टेलिमेडिसिनको विकासका लागि लगानी आह्वान गरिएको छ। साथै बेल्ट एण्ड रोड तथा अन्य कार्यक्रममा सहभागी देशहरूलाई राष्ट्रिय कानुनले निर्दिष्ट गरेको नियम अनुरूप कोभिड -१९ विरुद्ध लड्न एक अर्का देशलाई सहयोग गर्ने उल्लेख छ।

बीआरआई अन्तर्गतका परियोजना कोभिड -१९ महामारीका कारण प्रभावित हुँदै गर्दा चीनले हेल्थ सिल्क रोडलाई अगाडि बढाउँदै बीआरआई प्रभावित नभएको सन्देश सहभागी राष्ट्रहरूलाई दिएको छ।

सिल्क हेल्थ रोड नेपाल जस्ता स्वास्थ्य पूर्वाधार कम तथा अपर्याप्त भएका देशहरूलाई स्वास्थ्य सेवा सुधारका लागि महत्त्वपूर्ण उपलब्धि हुन सक्छ।

चीनले नेपालमा स्वास्थ्य संस्थाको निर्माणमा सहयोग पुर्‍याउँदै आएको छ। निजामती सेवा (सिभिल) अस्पतालको स्तरोन्नति परियोजना चिनियाँ सहयोगमा चलिरहेको छ। भरतपुर क्यान्सर अस्पताल, कीर्तिपुरको आयुर्वेद अनुसन्धान केन्द्रसहितका स्वास्थ्य केन्द्र स्थापना चिनियाँ सहयोगबाट भएका छन्।

बीआरआईमा सहभागी राष्ट्रको हैसियतमा हेल्थ सिल्क रोडमार्फत् नेपालले ग्रामीण स्वास्थ्य सेवा सुधारमा फाइदा लिन सक्छ।