BIZMANDU
www.bizmandu.com

स्टार्टअप खरिदमा टाटा ग्रुप आक्रामक, तीन स्टार्टअपमा गर्‍यो डेढ अर्ब डलरमाथिको लगानी

२०७८ जेठ २७

स्टार्टअप खरिदमा टाटा ग्रुप आक्रामक, तीन स्टार्टअपमा गर्‍यो डेढ अर्ब डलरमाथिको लगानी
स्टार्टअप खरिदमा टाटा ग्रुप आक्रामक, तीन स्टार्टअपमा गर्‍यो डेढ अर्ब डलरमाथिको लगानी

Tata
GBIME
Nepal Life

भारतको सबैभन्दा पुरानो व्यापारिक घराना टाटा समूह स्टार्टअपमा लगानीतर्फ आक्रामक देखिएको छ। टाटाले यसै वर्ष तीन स्टार्टअपको बहुमत स्वामित्व खरिदमा कुल डेढ अर्ब डलरभन्दा बढी लगानी गरेको छ। यीमध्ये दुई डिल टाटाले पछिल्लो एक साताभित्रै टुङ्ग्याएको हो।

समूहअन्तर्गतको कम्पनी टाटा सन्स प्रालिको सहायक कम्पनी टाटा डिजिटलले अनलाइन फार्मेसी 'वान एमजी' (१एमजी) को अधिकांश स्वामित्व खरिद गर्ने भएको छ। 

'बिग बास्केट' पछि टाटा डिजिटलले खरिद गर्न लागेको स्टार्टअप व्यवसायको यो दोस्रो ठूलो स्वामित्व रहेको इकोनोमिक टाइम्सले जनाएको छ। 
प्राइमरी र सेकेन्डरी लगानीसहित टाटाबाट वान एमजीले कुल २२ देखि २४ करोड डलर पाउने यस डिलबारे जानकारको हवाला दिँदै इकोनोमिक टाइम्सले लेखेको छ। 

वान एमजीको कुल प्राथमिक पुँजी (लगानी रकम) १० देखि १२ करोड डलर रहेको बताइएको छ। टाटाले लगानी हाल्दा कम्पनीको कुल मूल्यांकन ४५ करोड डलर पुगेको हो।

स्रोतका अनुसार, टाटा डिजिटलले यस इ-फार्मेसी स्टार्टअपमा गरेको लगानीवापत ५१ देखि ६० प्रतिशत स्वामित्व पाउनेछ ।

'वान एमजी अब टाटा ब्रान्ड अन्तर्गत संचालन हुनेछ । नयाँ ब्रान्डमा संचालन हुने कम्पनीको नेतृत्व वान एमजीका संस्थापक प्रशान्त टन्डनले नै गर्नेछन् । र उनले टाटा डिजिटलका सीइओ प्रतिक पलसँग नजिक रहेर काम गर्नेछन्,' डिलबारे जारकार व्यक्तिलाई उद्धृत गर्दै लेखिएको छ ।

रेडवुड ग्लोबल-कोरिया ओमेगा र विश्व बैंकअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) पनि वान एमजीमा प्राथमिक पुँजी हालेका विद्यमान लगानीकर्ताहरु हुन्। 

यस्तै, टाटाको प्रवेशपछि अब यस स्टार्टअपमा लगानी गरेका भेन्चर क्यापिटल फन्ड सेकोआ क्यापिटल र ओमिद्यर नेटवर्क अब वान एमजीबाट पूर्ण रुपमा बाहिरिने छन् भने कम्पनीमा शुरुआती चरणमै लगानी गरेका लगानीकर्ताहरुले पनि आंशिक रुपमा स्वामित्व छोड्नेछन्।

गत जनवरी अन्तिममा डिल क्लोज गरेको बिग बास्केटमा टाटाले प्राइमरी र सेकेन्डरी सेयर बिक्रीमार्फत ६० प्रतिशत स्वामित्वका लागि कुल १.२ अर्ब डलर लगानी गरेको छ । यो लगानीपछि बिग बास्केटमा ठूलो लगानी रहेका दुई कम्पनी चीनको इकमर्श जायन्ट अलिबाबा र स्क्यान्डलमा फँसेको प्राइभेट इक्विटी फर्म अबराज समूहलाई बिदा गरिएको छ । यसबाहेक कम्पनीले अन्य केही साना लगानीकर्ताहरुको सेयर पनि बाइ-ब्याक गरेको छ।

बिग बास्केटमा अलिबाबाको २७.५८% र अबराज समूहको १८.०५% सेयर स्वामित्व छ। कुल १.२ अर्ब डलर लगानीमध्ये टाटाले बिग बास्केटमा शुरुआती चरणमा २० देखि २५ करोड डलर पैसा हाल्नेछ ।

यी दुईबाहेक यही साताको शुरुआततिर टाटा समूहले बैंगलुरु आधार क्षेत्र रहेको फिटनेस स्टार्टअप 'क्युर फिट' मा ७.५ करोड अमेरिकी डलर लगानी गर्ने बताएको थियो। यससम्बन्धी टाटा र क्युर फिटबीचको डिल अनुसार क्युर फिटका सह-संस्थापक मुकेश बंसल टाटा डिजिटलको प्रेसिडेन्ट हुनेछन्।

इ-फार्मेसीको प्रतिस्पर्धामा टाटा र अम्बानी
टाटा-१एमजीको डिल त्यतिबेला भयो जब भारतका सबैभन्दा धनाढ्य मुकेश अम्बानीको रियालयन्स इन्डष्ट्रिजले 'नेटमेड्स' खरिद गरेर अनलाइन फार्मेसीको दुनियाँमा प्रवेश गर्‍यो। यससँगै 'फार्मइजी' पनि योभन्दा सानो प्रतिद्वन्द्वी 'मेडलाइफ' सँग यतिबेलै मर्ज भएको थियो।

वान एमजीमा टाटाको लगानीले इ-फार्मेसी तथा इ-डाइग्नोस्टिक स्पेसमा अत्याधुनिक प्राविधिक प्लेटफर्ममार्फत उत्कृष्ट ग्राहक अनुभव र उच्च गुणस्तरीय हेल्थकेयर उत्पादन तथा सेवाहरु प्रदान गर्नेछ,' टाटा डिजिटलका सीइओ प्रतिक पलले वक्तव्यमा भनेका छन्।