BIZMANDU
www.bizmandu.com

प्रदेश २ : प्रदेशसभामा नीति तथा कार्यक्रम, स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारी प्राथमिकता

२०७८ जेठ २७

प्रदेश २ : प्रदेशसभामा नीति तथा कार्यक्रम, स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारी प्राथमिकता
प्रदेश २ : प्रदेशसभामा नीति तथा कार्यक्रम, स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारी प्राथमिकता


Tata
GBIME
Nepal Life

जनकपुरधाम।  प्रदेश २ का प्रदेश प्रमुख डा राजेश झा (अहिराज)ले प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख झाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेशसभामा प्रस्तुत गरिएका नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ। यसका अतिरिक्त चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमहरुको निरन्तरता रहे पनि केही नयाँ कार्यक्रमहरु समेत समावेश गरिएका छन्।

संघ सरकारले व्यापार घाटा न्यूनीकरणका लागि चुरे क्षेत्रबाट गिट्टी बालुवा उत्खनन् गर्ने गरी बजेट नै प्रस्तुत गरेको समयमा प्रदेश २ सरकारको नीति तथा कार्यक्रममा चुरे संरक्षणमा विशेष जोड दिइएको हो। प्रदेशसभामा प्रदेश प्रमुख राजेश झाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चुरे विनाशबाट प्रदेशका साथै पूरै देश मरुभूमितर्फ अग्रसर हुने भएकाले चुरे संरक्षणका लागि कानुनी तथा प्रशासनिक नीति अवलम्बन गर्ने उल्लेख गरेर संघ सरकारलाई काउण्टर दिइएको छ।

चुरेको फेदमा हरियो वन विकास, चुरे क्षेत्रमा जलाशय निर्माण लगायतका नीति अपनाइने बताइएको छ। यसका साथै नदिको बालुवा, ढुंगा आदि ढुवानीमा नियन्त्रण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रममा सबैभन्दा बढी जोड स्वास्थ्य क्षेत्रमा दिइएको छ। स्वास्थ्य क्षेत्र अन्तर्गत कोरोना परीक्षणको दायरा फराकिलो बनाइने, पूर्ण खोप प्रदेश अभियान चलाइने, दलित तथा सिमान्तकृत समुदायलाई निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराइने नीति लिइएको छ।

त्यस्तै, जनकपुरधामको प्रादेशिक अस्पताललाई ५ सय शय्याको अस्पतालको रुपमा विकास गरिने, ८ वटै जिल्लामा कम्तीमा एउटा स्वास्थ्य तथा आरोग्य केन्द्रको स्थापना गरिने छ। यसका साथै प्रदेशको स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन प्रदेशको आफ्नै स्वास्थ्य नीति ल्याइने, स्वास्थ्य क्षेत्रमा सुशासन र पारदर्शिता ल्याउन प्रभावकारी कदमहरु चालिने नीति तथा कार्यक्रममा उल्लेख छ।

गणतन्त्रवादी नेताद्वय दुर्गानन्द झा र रामराजा सिंहका साथै गजेन्द्रनारायण सिंहको सालिक निर्माण गरिने छ।

प्रदेश सरकारले कोरोना महामारीका कारण उत्पन्न बेरोजगारी समस्या समाधान गर्नका लागि अध्ययन गरेर प्रदेशमै रोजगारी श्रृजना गर्ने भएको छ। यसका लागि मझौला उद्योगहरुलाई प्रोत्साहन गरिने, वैदेशिक रोजगारबाट फर्केका युवाहरुका लागि नवप्रवर्द्धन कृषि परियोजनालाई निरन्तरता, कृषि बीमा कार्यक्रम, कृषि सडक निर्माण, कृषिमा आधुनिकीकरण लगायतका कार्यक्रमहरु ल्याइने छन्।

नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको पाइएको छ। प्रदेश सरकारले पछिल्लो वर्ष नै मधेसी शहीद मार्ग निर्माण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको थियो। यसका लागि बजेट समेत छुट्याइयो। तर, खासै प्रगति भने यो सडक निर्माणका लागि देखिएन।

यस वर्ष पनि नीति तथा कार्यक्रममा पर्सादेखि सप्तरी जिल्लासम्मको २ सय ५० किलोमिटर सडक खण्डलाई मधेसी शहीद राजमार्गको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ। हाम्रो प्रदेश, उज्यालो प्रदेश नाराका साथ प्रदेशलाई उज्यालो बनाउन ३ सय मेगावाट सौर्य ऊर्जा प्लान्टको स्थापना गर्ने नीति पछिल्लो वर्षहरु जस्तै यस वर्ष पनि निरन्तरता पाएको छ।

प्रदेश सरकारले आर्थिक रुपमा विपन्न, दलित तथा मुस्लिम छात्राहरुको शैक्षिक स्तर उकास्नका लागि विशेष छात्रवृति कार्यक्रम, प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा रहेको जनकपुर अस्पताललाई प्रदेश नमुना अस्पतालको रुपमा विकसित गर्न ५ सय शय्यासम्म पुर्‍याउने, जिल्ला अस्पतालहरुको स्तरोन्नति गर्ने, एउटा ट्रमा सेन्टरको स्थापना लगायतका कार्यक्रमहरुले निरन्तरता पाएका छन्। यद्यपि यस वर्षको नीति तथा कार्यक्रममा प्रदेशमा २ वटा ट्रमा सेन्टर स्थापना गर्ने नीति लिइएको छ।