BIZMANDU
www.bizmandu.com

मेलम्चीको पानी वितरण असार १ बाट बन्द हुँदै, काठमाडौंबासीले ६० दिन पानी नपाउने

२०७८ जेठ २७

मेलम्चीको पानी वितरण असार १ बाट बन्द हुँदै, काठमाडौंबासीले ६० दिन पानी नपाउने
मेलम्चीको पानी वितरण असार १ बाट बन्द हुँदै, काठमाडौंबासीले ६० दिन पानी नपाउने


Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण असार १ बाट दुई महिनासम्म बन्द हुने भएको छ।

मेलम्चीको सुरुङमार्ग निरीक्षणका लागि ६० दिन पानी वितरण बन्द गर्न लागिएको हो। यस अवधिभर पुरानै स्रोतबाट मात्र काठमाडौंबासीले पानी पाउनेछन्, मेलम्चीको पानी आउने छैन।

मेलम्ची खानेपानी विकास समितिले बिहीबार एक सूचना जारी गरेर सुरुङमा पानी भर्ने, प्रेसराइज राख्ने, सुरुङ खाली गर्ने, निरीक्षण गरी आवश्यक सुधारका कार्यहरु गर्ने लगायतका कार्यहरु गर्नुपर्ने भएकाले करिब दुई महिना पानी वितरण बन्द गर्न लागिएको उल्लेख गरेको छ।

प्राविधिकरूपमा वर्षायाम शुरु हुनुअघि नै सुरुङ खालि गरी निरीक्षण गर्ने, आवश्यक सुधारका कार्य गर्ने र पुनः पानी भर्ने कार्यहरु प्रारम्भ गर्नुपर्ने भएकाले असार १ बाट बन्द गर्न लागिएको बताइएको छ। 

दुई महिनामा निरीक्षण तथा सुधार कार्य सकेर पुन:पानी पथान्तरण गर्ने योजना छ।

यसका लागि सुरुङ खाली गर्न १६ दिन लाग्नेछ। बाँकी समय सुरुङ निरीक्षण, परीक्षण र सुधार कार्य गर्न र पुनः पानी भर्न लाग्नेछ।

'सो अवधिभर काठमाडौं उपत्यकामा मेलम्चीको पानी उपलब्ध हुने छैन। यो अन्तिम चरणको कार्य जतिसक्दो चाँडो सम्पन्न गरी पानी पथान्तरणलाई नियमित गर्न हरतरहले प्रयास गर्न समिति प्रतिबद्ध छ,' विज्ञप्तिमा भनिएको छ।

सुरुङ खाली गर्ने क्रममा मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरु साथै वागमती नदीमा पानीको बहाब बढ्न सक्ने भएकाले असारबाट नदी किनारमा नजान र काम विशेषले जानुपर्ने भएमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

मेलम्ची खानेपानी विकास समितिले प्रधानमन्त्री कार्यालयसँग स्वीकृति मागेको थियो। बिहीबार आयोजनाका अधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। उनले बन्द गरेर निरीक्षण गर्न स्वीकृति दिएको आयोजनाका एक इन्जिनियरले बताए। 

सुरुङमार्गको परामर्शदाता कम्पनी, निर्माण कम्पनीका प्राविधिक र मेलम्ची खानेपानी विकास समितिको सयुक्त टोलीले निरीक्षण गर्नेछ।

निरीक्षणका क्रममा कुनै समस्या देखिए मर्मतसम्भार गरिने छ। नदेखिए पुन: पानी हालिनेछ। फागुन १० बाट सुरुङमार्गमा पानी हाल्न सुरु गरिएको थियो। त्यसको १२  दिनपछि फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो।

पानी चैत १५ गतेबाट वितरण सुरु गरिएको थियो। महाकांलचौरस्थित ट्याङकीबाट वितरण सुरु गरिएको पानी उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)‍ले चक्रपथभित्रको अधिकांश स्थानमा वितरण भइरहेको छ।