BIZMANDU
www.bizmandu.com

शुभम् एभिएशनले माग्यो मन्त्रालयसँग फ्लाइङ स्कुल संचालन अनुमति, वार्षिक ५० करोड विदेशिन रोकिने

२०७८ जेठ २७

शुभम् एभिएशनले माग्यो मन्त्रालयसँग फ्लाइङ स्कुल संचालन अनुमति, वार्षिक ५० करोड विदेशिन रोकिने
शुभम् एभिएशनले माग्यो मन्त्रालयसँग फ्लाइङ स्कुल संचालन अनुमति, वार्षिक ५० करोड विदेशिन रोकिने


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालमा फ्लाइङ स्कुल संचालनका लागि नयाँ कम्पनी आउन इच्छुक देखिएको छ।

शुभम् एभिएशन एकेडेमी नामको कम्पनीले पाइलट प्रशिक्षणका लागि स्कुल संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति मागेको छ। अनुमतिका लागि कम्पनीले कागजातहरुसहित आवेदन दिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए।

उनी भन्छन्, 'शुभमले अनुमति मागेको छ। कम्पनीको डकुमेन्ट लगायतका सबै कुराहरु अध्ययन गर्न भने बाँकी नै छ। अहिले निषेधाज्ञाका कारण प्रक्रिया अगाडि बढाइएको छैन तर छिट्टै यसको अध्ययन थाल्नेछौं।'

शुभमले सानो किसिमको 'सेस्ना सिरिज'को जहाजमार्फत  दिइने प्रशिक्षणका लागि संचालन अनुमति मागेको हो। त्‍यहीअनुरुप उपयुक्‍त हुने विमानस्थल क्षेत्र उपलब्ध गराउन सकिने पराजुलीले बताए। उनका अनुसार, नेपालमा रहेका विमानस्थलमध्ये कम प्रयोगमा रहेका विमानस्थल फ्लाइङ स्कुल संचालनका लागि लिजमा दिन सकिनेछ।

अहिले राजविराज, मेघौली, बलेवा, टिकापुर, महेन्द्रनगर लगायत विभिन्न स्थानका विमानस्थल फ्लाइङ स्कुल संचालनका लागि विकल्पमा रहेको उनले जानकारी दिए। फ्लाइङ स्कुल संचालनका लागि संचालकले आफ्नै हिसाबले कतै जग्गा लिएर पनि चलाउन सक्ने उनको भनाइ छ।

गत मंसिरमा फ्लाइङ स्कुल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले दाङको टारीगाउँ विमानस्थल उपयुक्त रहेको ठहर गरेको थियो।  
प्राधिकरणले गत वर्ष मंसिर ३ मा फ्लाइङ स्कुल सम्भाव्यता अध्ययनका लागि पूर्वनिर्देशक एवं हवाई विज्ञ नारायणसिंह डंगोलको संयोजकत्वमा अध्ययन समिति गठन समेत गरेको थियो। 

जहाज उडाउन सिकाउन नेपालमा अहिले कुनै पनि फ्लाइङ स्कुल संचालनमा छैन। 

यसअघि सन् २००७ मा शिवानी नाममा पाइलट प्रशिक्षण कम्पनी संचालनमा आएको थियो । तर त्यो राम्रोसँग चल्न सकेन। तीन वर्षमा ६ जनालाई प्रशिक्षण दिएर उक्त कम्पनी सन् २०१० बाट बन्द भएको थियो । त्यसको झन्डै ११ वर्षपछि पुनः अर्को कम्पनी फ्लाइङ एकेडेमीका रुपमा सेवा थाल्न मन्त्रालयसम्म अनुमतिका लागि पुगेको हो।
 

वार्षिक ५० करोड विदेशिन रोकिने

फ्लाइङ स्कुल संचालन गर्ने कम्पनी आए नेपालभित्रै उड्डयन क्षेत्रमा प्रयोग हुने जनशक्ति उत्पादन गर्न सकिने सहसचिव लामिछानेले बताए।स्कुल संचालनमा आए पाइलट प्रशिक्षणका लागि बाहिरिने गरेको ठूलो रकम रोकिने उनको विश्वास छ। अहिले पाइलट प्रशिक्षणका लागि अन्य मुलुक जाँदा प्रतिव्यक्ति एक करोड रुपैयाँभन्दा बढी लाग्ने गरेको छ।

'मुलुकभित्रै फ्लाइङ स्कुल संचालनमा आएको अवस्थामा तुलनात्मक रुपमा नेपालमै पाइलट प्रशिक्षण लिन सक्ने वातावरण सिर्जना हुन्छ। योसँगै नेपाली मुद्रा बाहिरिन रोक लाग्नुका साथै वैदेशिक मुद्रा आर्जन गर्ने अवसर मिल्नेछ,' पराजुलीले भने, 'यहाँ फ्लाइङ स्कुल संचालनमा आएसँगै भोलिका दिनमा रोजगारी सिर्जना हुनका साथै विदेशी विद्यार्थीलाई पनि प्रशिक्षण दिन सकिनेछ।'

तीन वर्षयता पाइलट प्रशिक्षणका लागि नेपालबाट विदेश जाने विद्यार्थीको संख्या दुई सय ६२ जनाभन्दा बढी छ। वर्षमा औसत ८७ जना नेपाली विद्यार्थी पाइलट अध्ययनका लागि विदेशिएका छन्। त्यसले वार्षिक ५० करोड रूपैयाँ विदेशिने गरेको प्राधिकरणले जनाएको छ। 

पाइलट अध्ययनका लागि अधिकांश नेपाली फिलिपिन्स, दक्षिण अफ्रिका, अमेरिका लगायतका मुलुकमा जाने गरेको प्राधिकरणले जनाएको छ। पाइलटको कोर्स गर्न जानुअघि प्राधिकरणबाट अनुमति लिनुपर्ने प्रावधान छ।

यस्तो छ कार्यविधिमा प्रावधान 
प्राधिकरणको कार्यविधि अनुसार फ्लाइङ स्कुल संचालन गर्ने कम्पनीको न्यूनतम  चुक्तापुँजी १० करोड रुपैयाँ हुनुपर्नेछ।

कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट संचालन इजाजत पाएको दुई वर्षमा सेवा थाल्नुपर्ने हुन्छ। सेवा संचालन सुरु गरेको एक वर्षमै कम्पनीले प्रगति विवरण बुझाउनुपर्ने प्रावधान रहेको कार्यविधिमा उल्लेख गरिएको छ। 

यस्तै, कम्पनीले एक वर्षमा दुईवटा उपकरण (जहाज) ल्याएर सेवा संचालन गर्नुपर्ने कार्यविधिमा छ। यो इजाजतको समयावधि चार वर्ष बितिसकेपछि पुनः नवीकरण गर्नुपर्ने जनाइएको छ।