BIZMANDU
www.bizmandu.com

मोबाइल एपबाटै बिजनेस प्लान बनाउन स्वरोजगार कोष सचिवालयले माग्यो दरभाउ प्रस्ताव

२०७८ जेठ २७

मोबाइल एपबाटै बिजनेस प्लान बनाउन स्वरोजगार कोष सचिवालयले माग्यो दरभाउ प्रस्ताव
मोबाइल एपबाटै बिजनेस प्लान बनाउन स्वरोजगार कोष सचिवालयले माग्यो दरभाउ प्रस्ताव

Tata
GBIME
Nepal Life

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालय मातहतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयले मोबाइल एप प्रयोग गरी व्यवसायिक योजना निर्माण गर्न दरभाउ प्रस्ताव आह्वान गरेको छ। 

सचिवालयले बिहीबार प्रस्ताव आह्वान सम्बन्धि सूचना प्रकाशित गर्दै योग्य तथा इच्छुक फर्म, संस्था वा कम्पनीबाट दरभाउ मागेको छ। देशभरका वित्तीय संस्थाहरुबाट सरकारले बेरोजगार युवाहरुलाई लक्षित गर्दै विभिन्न सहुलियत दरमा ऋण उपलब्ध गराइरहेको छ। तर उनीहरुले व्यवसायिक योजना (बिजनेस प्लान) तयार गर्न नसकेको भन्दै गुनासो आएपछि मोबाइल एप निर्माण गर्न खोजेको सचिवालयका शाखा अधिकृत भाष्करदत्त जोशीले जानकारी दिए।

'सहुलियत ऋणमा आवेदन दिन आवश्यक पर्ने व्यवसायिक योजना तयार गर्न उनीहरु अनविज्ञ छन्। बेरोजगार युवाहरुलाई ऋण दिइन्छ भन्ने थाहा छ तर आवश्यक कागजात तथा विवरणहरु थाहा हुँदैन। बिजनेस प्लान तयार गर्ने ज्ञान पनि छैन,' जोशीले भने।

सचिवालयले देशभरबाट करिब १५ सय बेरोजगार युवाहरुलाई मोबाइल एपमार्फत् बिजनेस प्लान तयार गरेर दिने लक्ष्य राखेको छ। सचिवालयले ती युवाहरुलाई एपमा डेटा इन्ट्रीदेखि सञ्चालन गर्ने तरिका बारे आवश्यक तालिमसँगै छुट्टै युजरनेम र पासवर्ड दिने जनाएको छ।

यो कदमले हस्तलिखित व्यवसायिक योजनालाई विस्थापित गर्नुका साथै योजना निर्माण गर्न अनावश्यक खर्च गर्नुपर्ने बाध्यता हट्ने दाबी जोशीले गरे। सचिवालयले आगामी असार १० गते मध्यान्न १२ बजे भित्रमा दरभाउ प्रस्ताव पेश गर्न समयसीमा दिएको छ।