BIZMANDU
www.bizmandu.com

आउन थाल्यो नेपाली मालदह आँप बजारमा, पोहोरभन्दा ३० रुपैयाँ महँगो, थोकमै किलोको ९० रुपैयाँसम्म

२०७८ जेठ २६

आउन थाल्यो नेपाली मालदह आँप बजारमा, पोहोरभन्दा ३० रुपैयाँ महँगो, थोकमै किलोको ९० रुपैयाँसम्म
आउन थाल्यो नेपाली मालदह आँप बजारमा, पोहोरभन्दा ३० रुपैयाँ महँगो, थोकमै किलोको ९० रुपैयाँसम्म

Tata
GBIME
Nepal Life

काठमाडौं। यस वर्ष आँपको सिजन लागेपछि नेपाली मालदह आँपको पहिलो लट बजारमा भित्रिएको छ। स्वदेशी आँप बजारमा आउन थालेसँगै भारतीय आँपको आयात लगभग रोकिएको छ।

स्वदे‍शी आँपको सिजन सुरु भएलगतै यसले नै बजार मागको ठूलो हिस्सा धान्ने भएकाले भारतीय आँप भित्रिन कम भएको हो। 

अहिले काठमाडौं उपत्यकामा स्वदेशी आँप नै दैनिक एक सय टन भित्रिन थालेको छ। तराईका विभिन्न जिल्लामा फलेका आँप कुलेश्वर फलफूल बजारमा थालेका हुन्।

हरेक वर्ष नेपालीभन्दा पहिले वर्ष भारतीय आँप बजारमा आउने गरेको छ। भारतमा नेपालमा भन्दा धेरै जातका आँप पाइने र ती चाँडै फल्न थाल्ने किसिमका समेत भएकाले पनि भारतीय आँप बजारमा पहिले आउने गरेको हो।

स्वदेशी आँपको सिजन सुरु भएपछि भने केही हप्ता नेपाली बजारमा भारतीय आँपको प्रवेश न्यून हुन्छ। काठमाडौं उपत्यकामा पनि गत सातासम्म भारतीय आँप मात्र पाइन्थ्यो ।

स्वदेशी आँप आउन थालेपछि भारतीय आँपको आयात घटेको  कुलेश्वर फलफूल बजारका अध्यक्ष अमर बानियाँले बताए। उनका अनुसार, नेपाली आँप नै अहिले उपत्यकामा दैनिक कम्तिमा ५० देखि एक सय टन हाराहारीसम्म भित्रिरहेको छ। बजारको मागअनुसार भरपुर मात्रामा आँप आएको उनको भनाइ छ।

यसअघि भारतबाट विभिन्न जातका आँप दैनिक ५० टनभन्दा बढी आयात हुँदै आएको थियो। अहिले भने भारतीय पहेंलो मालदह आँप मात्र सानो परिमाणमा आइरहेको बताइएको छ। अब भने केही समय स्वदेशी आँपले नै बजारको माग धान्ने कुलेश्वर फलफूल बजार विकास समितिले जनाएको छ।

यद्यपि, अझै पनि तराईका आँप राम्रोसँग पाक्ने बेला नभएकाले अहिले स्वदेशी आँपको आपूर्ति अलि कम छ भने अबको केही सातामा ठूलो परिमाणमा आँप आउन थाल्ने बानियाँ बताउँछन्। 

पछिल्लो वर्षसम्मको अनुभवका आधारमा स्वदेशी आँपको सिजनमा नेपाली उत्पादनले नै पुग्ने भएकाले आयात गर्नु नपर्ने देखिएको छ। यो वर्ष पनि निषेधाज्ञा जारी भएकोले धेरै आँप आयात गर्नु नपर्ने देखिएको बानियाँको भनाइ छ।

उपभोक्ताले भारतीय पहेंलो आँपभन्दा स्वदेशी मालदह नै रुचाउने गरेका छन्। साथै माग धेरै हुने भएपनि स्वदेशी मालदह आँप नै भारतीय भन्दा सस्तो समेत हुने गरेको छ।

नेपाली मालदह किलोको ९० रुपैयाँ, किसानलाई राहत

हाल नेपाली मालदह आँपको मूल्य प्रतिकेजी ८० देखि ९० रुपैयाँ छ। भारतीय आँपको मूल्य भने किलोको एक सय रुपैयाँदेखि एक सय ३० रुपैयाँ रहेको छ।

अघिल्लो वर्षको भन्दा यसपालि नेपाली आँपले राम्रो भाउ पाएकाले किसानलाई राहत मिलेको छ। पोहोर किलोको ५० देखि ६० रुपैयाँमा बिक्री भएको मालदह आँपको थोक मूल्य यतिबेला ८० देखि ९० रुपैयाँ रहेको बानियाँले जानकारी दिए। यसअनुसार गत वर्षभन्दा आँपको मूल्य किलोमै ३० रुपैयाँले महँगो भएको छ।

यस्तै, पोहोर कार्टुनको एक हजार रुपैयाँमा रहेको मालदह आँप अहिले एक हजार ६ सय रुपैयाँ पुगेको छ। यद्यपि, अर्को साताबाट आपूर्ति बढ्ने हुँदा मूल्यमा पनि कमी आउने बताइएको छ।

हाल भारतमै फलफूलको माग धेरै भएकाले पनि नेपाली बजारमा मूल्य पहिलेभन्दा महँगिएको छ। सोही कारण पनि यहाँ स्याउ ,केरा, अनार मौसम लगायतका फलफूलको मूल्य घट्न सकेको छैन। अहिले प्रतिकेजी थोक मूल्य स्याउको २८० रुपैयाँ, अनार ३०० रुपैयाँ, मौसम १३० रुपैयाँ, लिच्ची १८० रुपैयाँ र केरा दर्जनको १२० रुपैयाँ छ। यी फलफूलको मूल्य उपभोक्तासम्म पुग्दा किलोमा थप ५० रुपैयाँसम्म महंगो पर्छ।