BIZMANDU
www.bizmandu.com

फाइबर इन्टरनेट सब्स्क्राइबर १२ लाख नजिक, क्लासिक टेकले १० हजार ग्राहक थप्दै उछिन्यो भायनेटलाई

२०७८ जेठ २६

फाइबर इन्टरनेट सब्स्क्राइबर १२ लाख नजिक, क्लासिक टेकले १० हजार ग्राहक थप्दै उछिन्यो भायनेटलाई
फाइबर इन्टरनेट सब्स्क्राइबर १२ लाख नजिक, क्लासिक टेकले १० हजार ग्राहक थप्दै उछिन्यो भायनेटलाई

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १२ लाख नजिक पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको फागुनसम्मको तथ्यांक अनुसार फाइबर इन्टरनेट सब्स्क्राइबर ११ लाख ८२ हजार एक सय १४ पुगेका छन्।

माघमा यो संख्या ११ लाख ४५ हजार ६ सय ७७ थियो। एकै महिना इन्टरनेट सेवा प्रदायकहरुले फाइबर इन्टरनेट ग्राहक ३६ हजार चार सय ३७ ले थपेका छन्। 

फाइबर इन्टरनेट सबैभन्दा बढी ग्राहक वर्ल्डलिंकसँगै छ। फागुन २०७७ सम्म वर्ल्डलिंकका चार लाख ५८ हजार नौ सय ४३ रहेको प्राधिकरणले जनाएको छ। माघमा वर्ल्डलिंकसँग चार लाख ४९ हजार पाँच सय २८ फाइबर इन्टरनेट सब्स्क्राइबर थिए। वर्ल्डलिंकले एकै महिना नौ हजार चार सय १५ फाइबर इन्टरनेट ग्राहक थपेको प्राधिकरणले जनाएको छ।

फाइबर इन्टरनेट ग्राहक संख्यामा वर्ल्डलिंकपछि सुबिसु छ। सुबिसुले फागुनमा चार हजार तीन सय ४५ ग्राहक थप्दै फाइबर इन्टरनेट प्रयोगकर्ता एक लाख ५१ हजार एक सय २७ पुर्‍याएको छ। गत माघमा सुबिसुसँग एक लाख ४६ हजार सात सय ८२ ग्राहक रहेको प्राधिकरणले जनाएको छ। 

सुबिसुपछि कुल ग्राहक संख्याको तेस्रो स्थानमा क्लासिक टेक छ। भायनेटलाई ग्राहक संख्यामा उछिन्दै क्लासिक टेक तेस्रो स्थानमा उक्लिएको छ। क्लासिक टेकसँग फागुनसम्म एक लाख ३६ हजार ५३ ग्राहक रहेको प्राधिकरणले जनाएको छ। माघमा क्लासिक टेकसँग एक लाख २५ हजार आठ सय ३१ ग्राहक थिए।

क्लासिक टेकले एकै महिना १० हजार दुई सय २२ फाइबर इन्टरनेट ग्राहक थपेको प्राधिकरणले जनाएको छ। भायनेटसँग भने फागुनसम्म एक लाख ३५ हजार पाँच सय फाइबर इन्टरनेट ग्राहक पुगेका छन्। अघिल्लो महिनाको तुलनामा भायनेटले तीन हजार ५८ ग्राहक थपेको छ।

त्यसैगरी, सरकारी स्वामित्वको नेपाल टेलिकमको फाइबर इन्टरनेट ग्राहक एक लाख नजिक पुगेको छ। माघको भन्दा सात हजार तीन सय २५ ग्राहक थप्दै टेलिकमले फागुनमा ९८ हजार दुई सय एक फाइबर इन्टरनेट ग्राहक पुर्‍याएको प्राधिकरणले जनाएको छ। 

वायरलेस र केबल इन्टरनेट प्रयोकर्ता घट्दै

प्राधिकरणका अनुसार फागुनमा वायरलेस र केबल दुवै इन्टरनेट प्रयोगकर्ता घटेका छन्। फागुनमा वायरलेस इन्टरनेट प्रयोगकर्ता ४७ हजार एक सय ७८ पुगेको छ। माघमा यो संख्या ४७ हजार चार सय ३८ थियो।

वायरलेस इन्टरनेट ग्राहक सबैभन्दा बढी ग्राहक टेलिकमसँग छ। टेलिकमसँग वायरलेस इन्टरनेट प्रयोगकर्ता १८ हजार पाँच सय ५७ पुगेका छन्। 

त्यसैगरी, केबल इन्टरनेट प्रयोगकर्ताको संख्या पनि फागुनमा घटेको छ। माघमा दुई लाख सात हजार आठ सय ६३ ग्राहक संख्या रहेकोमा फागुनमा घटेर दुई लाख एक हजार नौ सय ८९ पुगेको प्राधिकरणले जनाएको छ। केबल इन्टरनेट प्रयोगकर्ता पनि टेलिकमकै धेरै छन्।

फागुनसम्म टेलिकमसँग केबल इन्टरनेट ग्राहकको संख्या एक लाख ६६ हजार चार सय ६७ रहेको छ। पछिल्लो समय वायरलेस र केबल इन्टरनेटको विकल्पको रुपमा फाइबर इन्टरनेटको प्रयोग बढ्दै गएको छ।

फाइबर इन्टरनेटको गुणस्तर वायरलेस र केबल इन्टरनेट भन्दा बढी हुने भएकाले पनि प्रयोगकर्ता बढ्दै गएका छन्।