BIZMANDU
www.bizmandu.com

सर्वोत्तम सिमेन्टले १९% बोनस सेयर दिने, पुँजी ६५ करोडले बढ्ने, डाक्यो असार १० गते साधारणसभा

२०७८ जेठ २६

सर्वोत्तम सिमेन्टले १९% बोनस सेयर दिने, पुँजी ६५ करोडले बढ्ने, डाक्यो असार १० गते साधारणसभा
सर्वोत्तम सिमेन्टले १९% बोनस सेयर दिने, पुँजी ६५ करोडले बढ्ने, डाक्यो असार १० गते साधारणसभा

Tata
GBIME
Nepal Life

काठमाडौं। बुक बिल्डिङ प्रणालीमार्फत सर्वसाधारणमा सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले त्यसअघि नै बोनस सेयर दिने भएको छ।

गत माघ ६ गते भएको दोस्रो वार्षिक साधारणसभाबाट बुक बिल्डिङमार्फत सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गराएको कम्पनीले बोनस सेयर वितरणका लागि विशेष साधारणसभा डाकेको छ।

कम्पनीले असार १० गते विशेष साधारणसभा डाकेको छ। सभामा कम्पनीको चुक्ता पुँजी तीन अर्ब ४० करोड रुपैयाँको १९.११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लगिँदैछ। यससँगै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांस दिइने छ।

बोनस सेयर पारित भएपछि चुक्ता पुँजी ६५ करोड रुपैयाँले बढ्ने छ। चुक्ता पुँजी ४ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ।

कम्पनीले गत फागुनमै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको थियो। तर कोभिड संक्रमण फैलिएको र तयारी नपुगेपछि प्रक्रिया अगाडि बढ्न सकेको छैन। कम्पनीले सेयरको प्राथमिक निष्कासन (आइपीओ) का लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ६० लाख कित्ता साधारण सेयरको बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटलसँग चैत ४ गते बुधबार सम्झौता गरेको थियो। यस्तै, एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटल यसको सह-बिक्री प्रबन्धकमा नियुक्त भएका थिए।
 

सेयर जारी गर्नु पूर्व नै कम्पनीले बोनस सेयर वितरण गरेर चुक्ता पुँजी बढाएको छ। अब सर्वसाधारणले पाउने सेयर संख्या पनि करिब १२ लाख कित्ताले बढ्ने छ।

यसअघि कम्पनीले संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्लाबासीलाई ८ लाख कित्ता र कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई गरि २८ लाख कित्ता छुट्याइएको थियो। थपिएको १२ लाख कित्ता समानुपातिक रुपमा बाँडिने छ। 

बोनस सेयर जारीपछि चुक्ता पुँजी ४ अर्ब ५ करोड पुग्ने छ। यसको १५ प्रतिशत सेयर जारी हुँदा चुक्ता पुँजी ६० करोड ७५ लाख रुपैयाँले वृद्धि हुने छ। 

सर्वोत्तम सर्वसाधारणलाई कम्पनीको हिस्सेदार बनाउन लागेको नेपालको दोस्रो सिमेन्ट कम्पनी हो। यसअघि शिवम् सिमेन्टले थप दुई सय रुपैयाँ प्रिमियम जोडेर सर्वसाधारणलाई कम्पनीको मालिक बनाएको थियो भने सर्वोत्तमले त्योभन्दा फरक विधिबाट प्रिमियम मूल्यमै सेयर जारी गर्न लागेको छ।

सर्वोत्तमले नेपालमै पहिलोपटक बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरेर सेयर जारी गर्न लागेको हो। यस विधिबाट सेयर बिक्री गर्नका लागि कम्पनीले आन्तरिक मूल्यांकनबाट प्रतिकित्ता जारी मूल्य ७५० रुपैयाँभन्दा बढी हुने दाबी गरेको छ। यो गत पाँच महिना अगाडिको हिसाब हो। यो मूल्यमा केही थपघट हुन सक्ने छ।

संस्थागत लगानीकर्ताले बोलकबोलबाट यसको 'कट अफ' मूल्य तय गर्नेछन् भने त्यसको १० प्रतिशत कममा सर्वसाधारणलाई सेयर जारी गर्नुपर्ने हुन्छ। सर्वोत्तमले ७५० रुपैयाँलाई नै कट अफ मूल्य मानेर सर्वसाधारणलाई पर्ने मूल्य त्यसको १० प्रतिशत (रु. ७५) कम अर्थात् प्रतिकित्ता ६७५ रुपैयाँ हुने जिकिर गरेको थियो।

कम्पनीका अनुसार, प्रतिकित्ता सेयर मूल्य ७५० रुपैयाँ हुनुका पछाडि केही आधारहरु छन्। जस्तो कि- सर्वोत्तमले आयकरमा छुट पाउने अवधि अझै तीन वर्ष बाँकी रहेकाले प्रतिफलका दृष्टिले यसको सेयर लगानीकर्ताका लागि आकर्षक रहेको जिकिर कम्पनीको छ।

यसले उत्पादनको पहिलो वर्षदेखि नै नाफा कमाउन थालेको र विगत तीन वर्षयता भने वार्षिक औसत नाफा रकम एक अर्ब चार करोड रुपैयाँभन्दा बढी रहेको बताएको छ। यो नाफाको आधारमा विगत तीन वर्षको औसत प्रतिसेयर आम्दानी ५२ रुपैयाँ रहेको छ भने आगामी तीन वर्षको प्रक्षेपण ४५ रुपैयाँभन्दा बढी हुने देखिएको कम्पनीको भनाइ छ। 

यति मात्र नभएर आइपीओ जारी गरेको पहिलो तीन महिनाभित्रै १० प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएकाले यसबाट लगानीकर्ताले तुरुन्तै प्रतिसेयर १०० रुपैयाँ आम्दानी गर्ने महत्त्वाकांक्षा पस्किएको छ। तर कम्पनीले सर्वसाधारण सेयर जारी गर्नुअघि नै नाफाबाट बोनस सेयर बाँड्ने निर्णय गरिसकेको छ।

प्राथमिक सेयर निष्कासनबाट प्राप्त रकममध्ये ४० प्रतिशतले कम्पनीले विद्यमान सबै ऋण भुक्तानी गरेर ऋणमुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर पार्ने योजना अघि सारेको छ। यसबाट चार वर्षपछि सर्वोत्तमको लगानीमा वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुने प्रक्षेपण रहेको पनि जिकिर गरिएको छ।

सर्वोत्तमको संचित कोष (रिजर्भ) गत माघ मसान्तसम्ममा २ अर्ब ३१ करोडभन्दा बढी रहेको छ। यस्तै साधारण सेयरधनीले तिर्ने प्रतिकित्ता ६७५ रुपैयाँको १५ प्रतिशतले हुन आउने (प्रतिकित्ता ९७.५ रुपैयाँ) रकम पनि कम्पनीको रिजर्भमा नै रहने भएकाले त्यसबापत थप बोनस सेयर जारीको सम्भावना समेत सर्वोत्तमले विज्ञप्तिमा उल्लेख गरेको छ।