BIZMANDU
www.bizmandu.com

१८६ स्वदेशी तथा विदेशी लगानीका उद्योगको माग स्वीकृत, १ खर्ब ४६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता

२०७८ जेठ २५

१८६ स्वदेशी तथा विदेशी लगानीका उद्योगको माग स्वीकृत, १ खर्ब ४६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता
१८६ स्वदेशी तथा विदेशी लगानीका उद्योगको माग स्वीकृत, १ खर्ब ४६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता

काठमाडौं। उद्योग विभागबाट चालु वर्षको ११ महिनामा १ सय ८६ वटा उद्योगले लगानी अनुमति पाएको छ। कोरोना दोस्रो संक्रमणबीच नै स्वदेशी तथा विदेशी लगानी कर्ताले १ खर्ब ४६ अर्ब लगानी प्रतिबद्धता जनाएका हुन्। 

Tata
GBIME
Nepal Life

विभागमा लगानी अनुमति लिने उद्योगमध्ये १ सय २७ वटा स्वदेशी र ४८ वटा विदेशी लगानीका छन्। यस्तै ११ वटा स्वदेशी र विदेशी सयुक्त लगानी भएका उद्योग छन्। 

जसमा ५८ वटा उत्पादनमूलक उद्योग छन्। ऊर्जामूलक २८ वटा छन्। सेवा क्षेत्र ३१ वटा रहेका छन्।

उद्योग विभागको तथ्यांक अनुसार पर्यटन क्षेत्रमा ३२ वटा उद्योगले अनुमति लिएका छन्। १३ वटा कृषि वन पैदावर क्षेत्रसँग सम्बन्धित उद्योग छन्।

यसैगरी २४ वटा अन्य क्षेत्रबाट उद्योग रहेका छन्। यी उद्योहरुबाट १० हजार ७ सय ८० जना व्याक्तिले रोजगारी पाउने उल्लेख छ। लगानी प्रतिबद्धतामध्ये धेरै हिस्सा हाइड्रोपावरको छ।   

कोभिडले सुस्तायो नयाँ लगानी

कोभिड अघि उद्योग विभागमा १५ देखि २० जना विदेशी लगानीकर्ता तथा प्रतिनिधिहरु लगानी विषयमा बुझ्न आउने गर्थे। अहिले यो संख्या शून्यमा झरेको छ।

नेपामा सबैभन्दा धेरै लगानीमा चिनियाँ लगानीकर्ताले चासो देखाउँदै आएका थिए। तर कोभिड संक्रमण सुरु भएसँगै चिनियाँ लगानीकर्ता आएका छैनन्। 

कोभिड संक्रमणको सोझो असर स्वदेशी नयाँ लगानीकर्तामा पनि देखिएको छ। चालु वर्षमा धेरै नयाँ लगानीकर्ताले उद्योग दर्ता गराएका छैनन्।

कोभिड संक्रमणसँगै सुरु भएको महामारीमा केही मास्क, सेनिटाइजर, अक्सिजन उद्योगहरु दर्ता भइरहेका छन्। यस्तै कृषिमा केही उद्योगहरु दर्ता भएका छन्।

३१ करोड १५ लाख लगानीमा टिकापुर नगरपालिका-७ मा अक्सिजन उद्योग स्थापाना हुने भएको छ। कोभिड समयमा अधिक अक्सिजनको अभाव भएपछि नयाँ अक्सिजन उद्योग स्थापना हुने भएको हो। शीतल इन्डस्ट्रिज प्रालिले लिक्विड अक्सिजन २७ लाख ४२ हजार ८ सय ५७ सीएमयू उत्पादन गर्नेछ। 

यस्तै अक्सिजन ग्यास १० लाख ९७ हजार १ सय ४३ सीएमयु उत्पादन गर्ने लक्ष्य राखेको छ। यस्तै ७३ हजार १ सय ४३ सीएमयु नाइट्रोजन ग्यास उत्पादन गर्ने भएको छ। यो उद्योग वैशाख २७ गते विभागमा दर्ता भएको हो । 

कृषिमा लगानी बढ्दै 

जनकपुरमा खुल्न लागेको पोल्ट्रीले वार्षिक १२ करोड ९४ लाख अण्डा उत्पादन गर्ने लक्ष्य राखेको छ। १ अर्ब ४ करोड २० लाख लगानी गरिने यो उद्योगले ३ सय ५० जनालाई रोजगारी दिनेछ। यो उद्योगमा मेडिकल कलेजमा लगानी गर्दै आएका खुमाप्रसाद अर्याल, भेषराज अर्याल र शोभाकान्त ढकालको लगानी छ। 

यस्तै ४३ करोड ३५ लाख लगानीमा कुखुराको दाना उद्योग खुल्ने भएको छ। ब्रोइलर, गिरिराज, प्यारेन्ट लगायत कुखुराको दाना उत्पादनको लागी उद्योग खुल्ने भएको हो। यो उद्योगले १ सय ५० जनालाई राजगारी प्रदान गर्नेछ। यस्तै नुवाकोट जिल्लामा एग्रीकल्चरल इस्टेट नेपाल प्रालीले कफी खेती गर्ने भएको छ।

यो उद्योगमा १५ करोड लगानी हुनेछ। यसै गरी सुनसरी जिल्लामा अरिहन्त एग्रो प्रालिले हरियो तरकारी खेती गर्ने भएको छ। २२ करोड लगानीमा खेती थाल्ने भएको हो। यसले २ सय ६४ जनालाई रोजगारी दिनेछ। 

यस्तै सुनसरी जिल्लामा सुनसरी एग्रो प्रालिले कुखुरापालन गर्ने भएको छ। प्रालिले अण्डा दिने कुखुरापालन गर्ने भएको हो। वार्षिक ५ करोड ६० लाख अण्डा उत्पादनको लक्ष्य छ। जसबाट ८३ जनाले रोजगारी अवसर प्राप्त गर्नेछन्।

कोभिडले विदेशी लगानीमा असर 

चालु वर्षमा १ सय १४ वटा चिनियाँ खुद्रे कम्पनीले दर्ता गराएका छन्। धेरैजसो चिनियाँ कम्पनीले दर्ता भएर पनि सञ्चालनमा आउने गरेका छैनन्। कोभिडको दोस्रो लहर सुरु भएसँगै चालु वर्षमा होटल तथा रेस्टुरेन्ट क्षेत्रमा आउने लगानीकर्ता पनि रोकिएका छन्।

यस्तै यो अवधिमा ८ वटा मात्रै भारतीय लगानीको कम्पनीले उद्योग दर्ता गराएका छन्। कोभिड संक्रमणको कारण हाल नयाँ विदेशी लगानी शून्य छ। यस्तै प्रक्रियामा रहेका लगानीलाई भने विभागले काम अघि बढाइरहेको छ।