BIZMANDU
www.bizmandu.com

बजारले फेरि मार्‍यो फराकिलो छलाङ, करिब १७ अर्ब रुपैयाँको किनबेच, कहाँबाट आइरहेको छ पैसा?

२०७८ जेठ २५

Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर बजारले मंगलबार फराकिलो छलाङ मार्दै २९६० अंकलाई छोएको छ। बजार ५३.४४ अंकले बढ्दा सूचक २९६०.१४ अंकमा पुगेको हो।

होटल तथा पर्यटन, लगानी र लघुवित्तबाहेक सबै उपसूचक उक्लिएका छन्। बीमा, विकास बैंकका साथै वाणिज्य बैंक समूहले बजारलाई उचालेको हो। विकास बैंकमा अस्वभाविक रूपमा लगानीकर्ताको आकर्षण देखिएको छ।

विकास बैंक समूह ६६८ अंकले बढेको छ। कारोबार भएकामध्ये नारायणी डेभलपमेन्ट, कर्पोरेट र ज्योति विकास बैंकको संस्थापक सेयरको मूल्य घटेको छ। बाँकी सबैको बढेको छ। 

मंगलबार बजारमा १६ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल २१८ कम्पनीको कारोबार भएको छ। 

उच्च कारोबार वृद्धि र सूचकको फराकिलो छलाङलाई लगानीकर्ताले 'अन्य क्षेत्र ठप्प हुँदाको अवसर' भनेका छन्। उनीहरुका अनुसार, अहिले स-सानादेखि ठूला र संस्थागत लगानीकर्ता एकै पटक बजार प्रवेश गरेका छन्।

'यी सर्ट टर्म लगानीकर्ता हुन्। निषेधाज्ञा खुलेपछि यो जुन जुन क्षेत्रबाट पैसा आएको हो त्यहीँ फर्किने छ, त्यो बेला कारोबार रकम घट्छ,' एक ब्रोकरले भने।