BIZMANDU
www.bizmandu.com

कोभिडले थलिएका होटल-रिसोर्टमा घरजग्गा व्यवसायीको नजर, भित्रभित्रै चल्दैछ दरभाउ 


कोभिडले थलिएका होटल-रिसोर्टमा घरजग्गा व्यवसायीको नजर, भित्रभित्रै चल्दैछ दरभाउ 
कोभिडले थलिएका होटल-रिसोर्टमा घरजग्गा व्यवसायीको नजर, भित्रभित्रै चल्दैछ दरभाउ 

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालमा पर्यटक आगमनको बढ्दो दर र होटल रिसोर्टले गरिरहेको व्यवसाय देखेर टोपराज खड्का उत्साहित थिए। चितवनको सौराहामा २२ कट्ठा जग्गामा ४४ कोठा रहेको जंगल वर्ल्ड रिसोर्ट राम्रै चल्दै थियो। 

रिसोर्ट किनेको आठ वर्षपछि उनले अनपेक्षित स्थिति पनि सामना गर्नुपर्‍यो। कोरोना संक्रमणको पहिलो लहर सुरु भयो। सरकारले लकडाउन गर्यो। पर्यटक आवागमन पूरै ठप्प भयो। संक्रमणको प्रभाव घटेर जनजीवन सामान्य बन्न थाले पनि पर्यटकस्तरका होटल, रिसोर्ट र रेस्टुरेन्टका लागि राहत दिन फर्किएनन्। 

'हाम्रो आम्दानीको बाटो बन्द भयो, ऋणको किस्ता तिर्न बैंकको दबाब बढ्यो। रिसोर्ट बेच्ने स्थितिमा पुग्यौं,' उनले भने, '३२ करोड रुपैयाँमा डिल भइसकेको छ।' 

एक वर्षअघि नै ३५ करोड रुपैयाँमा प्रोपर्टी बिक्री गर्ने योजना बनाएका खड्कासहितका लगानीकर्ता तीन करोड घटेर ग्राहक पाउँदा पनि चित्त बुझाउने अवस्थामा आए। 'बैना गर्ने क्रममा निषेधाज्ञा जारी भयो। अहिले लेनदेनको प्रक्रियामा प्रभाव परेको छ,' उनले भने। 

बैंकसँग ऋण लिएर होटल, रिसोर्ट र रेस्टुरेन्टमा लगानी गरेका धेरैको अवस्था यतिबेला खड्काको भन्दा फरक छैन। संक्रमणको लहर शान्त भएर व्यवसायले पुनः गति लिने मिति कसैले भविष्यवाणी गर्न सक्ने अवस्थामा छैन। त्यसैले कम मूल्यांकनमै पनि आफ्नो प्रोपर्टी बेच्न चाहने बढेका छन्।

यही मौकामा प्रोपर्टी व्यवसायीका आँखा होटल-रिसोर्टमा परेको छ। यतिबेला सौराहा र पोखराका केही होटल-रेस्टुरेन्ट किनबेचका लागि मोलतोल चलिरहेका छन्।

सौराहामै रहेका वेस्ट वुड र रिभर फ्रन्ट रिसोर्ट क्रमशः २१ करोड रुपैयाँ र सात करोड रुपैयाँमा बिक्री भइसकेको खड्काले बताए। कोभिड दोस्रो लहरका कारण गरिएको निषेधाज्ञाबीचमै यतिखेर पोखरा, चितवन लगायतका पर्यटकीय गन्तव्यमा संचालित तीनतारे स्तरसम्मका होटलको खरिद बिक्री सुरु भएको पाइएको छ। 

विगत १८ महिनादेखि फुल फ्लेजमा चल्न नसकेका होटल अलपत्रमा परेपछि रियल इस्टेट व्यवसायमा आवद्ध व्यक्तिहरुले सस्तो भाउमा पोखराको लेकसाइड, चितवनको सौराहा लगायत गन्तव्यका होटल खरिद बिक्री गर्न सुरु गरिसकेको क्षेत्रीय होटल संघ नेपालले जनाएको छ। 

डेढ वर्षयता पोखरामा मात्र करिब आधा दर्जन होटल यसरी बिक्री भइसकेको क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन बताउँछन्।बढीमा ३५ करोड रुपैयाँसम्मको मूल्यमा दुई र तीनतारे स्तरका होटल खरिद बिक्री भइरहेको उनको भनाइ छ।

कोभिड पहिलो लहरदेखि नै प्रभावित रहेको सौराहाका होटलहरु पनि बिक्रीमा चढेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए। उनका अनुसार अहिले पनि सौराहाका आधा  दर्जनभन्दा बढी होटल बिक्रीमा राखिएको छ। जसमा कम्तिमा सात करोड रुपैयाँदेखि ३५ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने होटलहरु बिक्रीमा छन् ।

अझै डेढ वर्ष व्यवसाय र कर्मचारी टिक्न मुस्किल: होटल व्यवसायी
कोभिड संक्रमण कम हुँदै गएको अवस्थामा पनि पर्यटन क्षेत्र अझै कम्तिमा डेढ वर्ष कोभिडको असरबाट पूर्णरुपमा बाहिर आउन मुस्किल रहेको व्यवसायीहरुको अनुमान छ। यसकारण कोभिड असरले गाँजेको होटल तथा रेस्टुरेन्ट व्यवसाय र यसमा आश्रित श्रमिकहरुलाई थप डेढ वर्ष हाराहारी धान्नका लागि मुस्किल रहेको चिन्ता सम्बन्धित व्यवसायीहरुमा देखिन्छ।

कोभिड दोस्रो लहर सुरु भएयता नै नेपाली होटल उद्योगको संकट थप गहिरिन थालेको हो। त्यससँगै होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु बिलखबन्दमा छन्, किनकि – दशकौंदेखि संचालन गर्दै आएको होटल व्यवसाय सर्लक्कै पन्छाएर अर्को क्षेत्रमा हात हाल्ने पनि नमिल्ने र अबको दुई वर्षसम्म यही व्यवसायमा अडिराख्न पनि मुस्किल रहेको अवस्था छ।

कोभिड-१९ पहिलो लहर नियन्त्रणमा आउन थालेसँगै बीचमा आन्तरिक पर्यटककै भरमा होटल व्यवसाय लयमा फर्किने सम्भावना देखिन थालेको थियो। तर कोभिडको दोस्रो लहर सुरु भएसँगै सरकारले घोषणा गरेका नीतिगत सुविधाहरु समयमै कार्यान्वयनमा नआइदिँदा यो व्यवसाय पुनः कोमामा धकेलिएको होटल-रेष्टुरेन्ट व्यवसायीको गुनासो छ।

कोभिडबाट धराशायी पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन कोभिडविरुद्धको खोप व्यवस्थापन नै सबैभन्दा महत्त्वपूर्ण रहेको सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठले बताए। जबसम्म देशैभर खोप लगाउने व्यवस्था हुँदैन तबसम्म पर्यटन क्षेत्रको पुनरुत्थान हुन गाह्रो रहेको उनले बताए। 

लुम्बिनी-भैरहवा क्षेत्रको होटल व्यवसायतर्फ संकेत गर्दै उनले भने, 'यो मुख्यतः भारतीय र विभिन्न देशका बौद्ध धर्मावलम्बी आउने प्रमुख बुद्धिष्ट पर्यटकीय गन्तव्य हो। जबसम्म त्रास हट्दैन तबसम्म यहाँ त्यस्ता पर्यटक आउने वातावरण बन्दैन।' सन् २०२२ सम्म होटल उद्योग प्रभावित हुने उनको अनुमान छ ।

थप डेढ वर्षसम्म उद्योग र कर्मचारीको रोजगारी टिकाउने विकल्प नै नदेखिएको उनले बताए। यसअघि डेढ वर्ष अन्योलमै गुजारिसकेको होटल उद्योगलाई आउने दिनमा  कर्मचारी ल्याएर तलब दिएर पनि काममा लगाउन असम्भव रहेको उनको भनाइ छ। 

होटल व्यवसाय पछिल्लो १८ महिनादेखि नै राम्रोसँग संचालन हुन नसकेको भनाइ व्यवसायीहरुको छ। यस्तोमा पछिल्लो बजेटले केही उपयुक्त घोषणाहरु गरेको भए पनि यसको कार्यान्वयनको पर्खाइमा उनीहरु छन्।

'यसअघि पनि राष्ट्र बैंकले दिएको नीतिगत सुविधा ३० प्रतिशतले मात्र पाए भने ७० प्रतिशतले हेरेरै बस्नुपर्‍यो। अहिले पनि प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण छ,' श्रेष्ठ भन्छन्, 'डेढ वर्षदेखि नचलेका होटललाई ९० दिन नाघेपछि प्रोभिजन गर भन्नु जायज नभएकाले राष्ट्र बैंकले यो हटाइदिनुपर्छ ।'

भैरहवामा साना ठूला गरी डेढ सय हाराहारीमा रहेका होटलहरुमा करिब २० अर्ब लगानी रहेको उनले बताए। यी होटलहरुमा कुल तीन हजार जना श्रमिक रहेकोमा अहिले डेढ सय मात्र परिचालित रहेको बताइएको छ।

कोभिड पहिलो लहरको तुलनामा दोस्रो लहरको प्रभाव अझै बढ्ने देखिएकाले निषेधाज्ञा खुलेपछि पनि पोहोर जस्तो आन्तरिक पर्यटकको चहलपहल नहुने क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनको भनाइ छ। 'यतिखेर व्यवसाय भन्दा पनि निष्फिक्री घुमघामको  वातावरण बनाउनका लागि सबै नागरिकलाई खोपको व्यवस्था गर्न आवश्यक छ,' उनी भन्छन्।

अबको डेढ वर्षसम्म उद्योग संकटमै गुज्रने भएले ब्याकअपका लागि बैंक तथा वित्तीय संस्थाले ऋणको अवधि बढाएर पुनर्तालिकीकरण, सस्तो  ब्याजदरमा पुनर्कर्जा लगायतको सहयोग आवश्यक रहेको उनले बताए। 

उनका अनुसार, पोखराका होटलमा कार्यरत ६५ प्रतिशत जनशक्तिको रोजगारी यतिबेला संकटमा छ। पोखराको लेकसाइडमा रहेका करिब साढे पाँच सय होटलमा यतिखेर सरसफाई र हेरचाहका लागि मात्र भनेर ३५ प्रतिशत जनशक्ति परिचालित रहेको उनले जानकारी दिए।

कोभिड दोस्रो लहरका कारण पुनः थलिएको होटल उद्योगलाई उकास्नका लागि क्षेत्रीय होटल संघ सौराहाले भने निषेधाज्ञा खुलेलगत्तै देशव्यापी रुपमा 'घुमौं सौराहा' अभियान सुरु गर्ने भएको छ। प्रदेश र महानगरपालिकाको समन्वयमा संघले 'आन्तरिक पर्यटन प्रवर्द्धन निरन्तरता दिनका लागि यो अभियान पुनः सुरु गर्न लागेको संघका अध्यक्ष भट्टराईले बताए।

कोभिडअघि सौराहाका करिब एक सयभन्दा बढी होटलहरुमा ५५ सयजनाले रोजगारी पाएको आँकडा संघको छ। तर कोभिडको दोस्रो लहरसँगै जारी निषेधाज्ञासँगै अहिले प्रत्येक होटलमा दुईदेखि तीनजना मात्र  कर्मचारी परिचालन रहेको भट्टराईको भनाइ छ।