BIZMANDU
www.bizmandu.com

कुखुराको अण्डाको मूल्य घट्न तत्काल छैन संकेत, ‘लागत खर्च महँगियो, कसरी घट्छ मूल्य?’

२०७८ जेठ २४

कुखुराको अण्डाको मूल्य घट्न तत्काल छैन संकेत, ‘लागत खर्च महँगियो, कसरी घट्छ मूल्य?’
कुखुराको अण्डाको मूल्य घट्न तत्काल छैन संकेत, ‘लागत खर्च महँगियो, कसरी घट्छ मूल्य?’

Tata
GBIME

काठमाडौं। गत वैशाख १६ देखि निषेधाज्ञा लागू भएयता बजारमा सर्वाधिक बिक्री भइरहेको खाद्यवस्तुमध्ये अण्डा र खसीको मासु अग्रणी छन्।रोग प्रतिरोधक क्षमता बढ्ने भन्दै बजार माग उच्च हुँदा खसीको मासु महँगिएन तर अण्डाको मूल्य बढ्यो। 

मागका तुलनामा आपूर्ति उच्च नभएकाले अण्डाको मूल्य नघट्ने देखिएको छ। निषेधाज्ञा अघिसम्म खुद्रामा प्रति क्रेट ३५० सम्ममा बिक्री भइरहेको अण्डा यतिबेला ४३० देखि ४५० रूपैयाँ प्रतिक्रेट छ। माग घटेर बोइलर कुखुरा भाउ घटेको छ तर अण्डाको मूल्यले घट्ने संकेत नदिएको व्यवसायीले बताएका छन्। 

'उत्पादन सीमित, माग उच्च छ अण्डाको,' अन्डा उत्पादक संघ केन्द्रिय अध्यक्ष शिवराम केसीले भने, 'अहिले मूल्य घट्ने अवस्था छैन।' मागको अनुपातमा आपूर्ति बढ्न नसक्दा मूल्य हालसम्मकै उच्च भएको उनले बताए। संघले ठूलो अण्डा प्रतिक्रेट ३ सय ७० र मिडियम ३ सय ५५ रुपैयाँमा बिक्री गरिरहेको छ। उक्त अण्डा उपभोक्ताले प्रतिक्रेट ४ सय २० देखि ४ सय ५० रुपैयाँमा खरिद गरिरहेका छन्। 

लागत मूल्य हेर्दा अण्डा अझै महँगिन सक्ने ठाउँ रहेको उनले बताए। 'कुखुराको दाना र औषधीहरुको मूल्य महँगिएकाले मूल्य घट्न नसकेको हो,' उनले भने, 'लागत खर्च हेरेर मूल्य तोक्ने समय छैन।' उत्पादन अनुसार बजारमा मूल्य बढ्ने-घट्ने भइरहन्थ्यो। सामान्य अवस्थामा होटल रेष्टुरेन्टहरुमा अण्डाको खपत धेरै हुन्थ्यो। 

निषेधाज्ञाले उक्त  क्षेत्र बन्द भएपछि कम उत्पादनले माग धानिरहेको छ। संघका अनुसार उत्पादन पहिले भन्दा ४ लाख कम भएको छ। पहिले ३२ लाखको हाराहारीमा अण्डा उत्पादन हुने गरेको थियो । गत वर्ष लकडाउनपछि प्यारेन्टको अभावले उत्पादन घटेर दैनिक २६ लाखमा आइपुगेको थियो। हाल दैनिक २८ लाखभन्दा बढी उत्पादन हुन सकेको छैन।

'माग धेरै भयो भनेर आपूर्ति बढाउन सकिँदैन। पहिलेको अनुपातमा उत्पादन हुन थाले मूल्य घट्न सक्थ्यो। अहिले प्यारेन्टको पर्याप्त नहुँदा त्यसको असर यता परेको हो,' केसीले भने। बजारमा कुखुराको सँगै बट्टाइको अण्डाको पनि माग उच्च छ।