BIZMANDU
www.bizmandu.com

एक वर्षमा खानेतेलको मूल्य ५६ प्रतिशतसम्म बढ्यो, कसरी घटाउन सकिन्छ मूल्य?

२०७८ जेठ २४

एक वर्षमा खानेतेलको मूल्य ५६ प्रतिशतसम्म बढ्यो, कसरी घटाउन सकिन्छ मूल्य?
एक वर्षमा खानेतेलको मूल्य ५६ प्रतिशतसम्म बढ्यो, कसरी घटाउन सकिन्छ मूल्य?

Tata
GBIME
Nepal Life

काठमाडौं। एक वर्षको अवधिमा ६ वटा खानेतेलको मूल्य (तोरी, वनस्पति, सोयाविन, सनफ्लावर, पाम र बदाम) २० देखि ५६ प्रतिशतसम्म बढेको छ।

भारतको उपभोक्ता संरक्षण विभागका अनुसार मे २८ मा तोरीको तेल ४४ प्रतिशत वृद्धि भएर २७३ रुपैयाँ(१७१ भारु) पुगेको छ।

गत वर्ष यही अवधिमा तोरीको तेलको मूल्य १ सय ८८ रुपैयाँ(११८ भारु) थियो। यस्तै सोयाविन र सनफ्लवार तेलको मूल्य पनि ५० प्रतिशत भन्दा बढीले बढेको  छ। 

वास्तवमा भन्नुपर्दा मासिक औसत खुद्रा मूल्य ६ वटा खानेतेलको मूल्य ११ वर्षयताकै उच्च भएको छ। यो मूल्यवृद्धिले कोभिडका कारण समस्यामा परेका घरपरिवारको आम्दानीमा थप संकट पारेको छ।

खानेतेलको उपभोगमा आएको परिवर्तन
बढ्दो आम्दानी र खानेकुरा उपभोगमा आएको परिवर्तनले खानेतेलको खपत बढ्दो क्रममा छ। तोरीको तेल ग्रामीण क्षेत्रमा बढी उपभोग हुन्छ भने प्रशोधित सनफ्लावर र सोयाविन तेल सहरी क्षेत्रमा। १९९३/९४ र २००४/०५ मा ग्रामीण क्षेत्रमा तेलको मासिक प्रतिव्यक्ति खपत ०.३७ किलोबाट ०.४८ र सहरी क्षेत्रमा ०.५६ किलोबाट ०.६६ किलो पुगेको थियो। 

अझ २०११/१२ मा यो बढेर ग्रामीण क्षेत्रमा ०.६७ र सहरी क्षेत्रमा ०.८५ किलो पुगेको छ। प्रतिव्यक्ति खपतसँगै स्वदेश र आयातित तेलका कारण पर्याप्तता भने सहज भएको अध्ययनबाट देखिन्छ। 

कति स्वदेशमा उत्पादन हुन्छ? कति आयात हुन्छ?
कृषि मन्त्रालयका अनुसार वनस्पति तेलको माग सन् २०१५/१६मा २ करोड ३४ लाख ८० हजार टन थियो भने सन् २०१९/२० मा २ करोड ५९ लाख २० हजार टन पुगेको छ। 

तर स्वदेशी उत्पादन जम्मा १ करोड ६ लाख ५० टन मात्रै छ। स्वदेशी उत्पादनबाट तोरीको दाना, बदामको दाना, नरिवल, पाम तेल र राइस ब्रेन आयल, कटन सिड गरेर १ करोड ६ लाख ५० हजार मात्रै हो। 

यो आधारमा भारतमा खपत हुनेमध्ये १ करोड ३३ लाख ५० हजार टन विदेशबाटै आयात गर्नुपर्छ। भारतमा ७० लाख टन पाम तेल, ३५ लाख सोयाविन, २५ लाख टन तेल विदेशबाट आयात हुन्छ। यो तेलका लागि आवश्यक कच्चा पदार्थ सोयाविन अर्जेन्टिना र ब्राजिलबाट, इन्डोनेसिया र मलेसियाबाट पाम तेल र सनफ्लावर तेल युक्रेन र अर्जेन्टिनाबाट आयात हुन्छ।

आकसिँदो मूल्य
अहिले तेलको मूल्य आकासिएपछि सरकारले पनि नियन्त्रणका लागि प्रयास गरिरहेको छ। तर तेलको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय कारण नै मुख्य छ। 

इकोनोमिक टाइम्सका अनुसार भारतलाई आवश्यक तेल विदेशबाटै आयात हुन्छ। अन्तर्राष्ट्रिय बजारमा खानेतेलको मूल्य आकासिएको छ। मलेसियाको डेरिभेटिभ बजार बुर्सा मलेसियामा कच्चा पाम तेलको मूल्य मे २८ मा प्रतिटन ३ हजार ८ सय ९० रिंगेटमा फ्युचर कारोबार भएको छ। एक वर्ष अघि यो प्रति टन २ हजार २ सय ८१ रिंगेट मात्रै थियो। 

सिकागो बोर्ड अफ ट्रेडमा मे २४ मा सोयाविनको मूल्य ५ सय ५९ डलर प्रति टनमा कारोबार भयो। यो गत वर्ष ३ सय ६ डलर प्रति टन थियो। यो दुवै कमोडिटी एक्सचेन्जमा भएको कारोबारकै आधारमा आयात हुने भएकाले त्यसको असर उपभोक्ताको खानेतेलमा पर्ने गर्छ।

किन अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दैछ?
सोल्भेन्ट एक्सट्रयाक्टर एशोसिएसन अफ इन्डियाका कार्यकारी निर्देशक बिभी मेहताले वनस्पति तेलबाट जैविक इन्धन बनाएकोले मूल्य आकासिएको जानकारी दिए। 

‘खानेतेल खाद्यान्नको बास्केटबाट इन्धनको बास्केटमा सिफ्ट भएको छ,’ उनले भने, ‘सोयाविन तेलबाट अमेरिका र ब्राजिलमा जैविक इन्धन बनाउने क्रम बढ्दो छ।’  

कोभिड महामारीसँगै मलेसियाको पाम र सोयाविन खेती भएको क्षेत्रमा कामदार अभावले उत्पादनमा प्रभाव परेकोले पनि मूल्य बढेको उनले बताए। यो बाहेक चीनले खानेतेल धेरै किनेर पनि त्यसको प्रभाव परेको मेहेताको जिकिर छ। त्यो बाहेक इन्डोनेसिया र मलेसियाले कच्चा तेलको निकासी शुल्क बढाउँदा त्यसको असर मूल्यमा परेको उनले बताए। 

विश्व खाद्य तथा कृषि संगठन अनुसार सन् २०२१/२२ मा समेत अमेरिकामा तापक्रम उच्च हुँदा सोयाविन हुने क्षेत्रमा अपेक्षाभन्दा कम खेती भएकोले आपूर्ति कम हुनेछ। अर्जेन्टिनामा समेत सुक्खाका कारण अपेक्षाभन्दा कम मात्रै तेलहन बाली उत्पादन हुने उल्लेख गरिएको छ।

सरकारसँग के छ विकल्प?
तेलको मूल्य अन्तर्राष्ट्रिय बजारसँग निर्भर हुने भएकाले सरकारसँग अल्पकालीन विकल्प भनेको आयात भन्सार घटाउनु मात्रै छ। आयात भन्सार घटाउने वित्तिकै तेलको मूल्य तल झर्छ। अहिले तेलमा आयात भन्सार र कृषि पूर्वाधार र विकास गरेर ३७.७५ प्रतिशत भन्सार शुल्क छ। 

सोयाविन र  सनफ्लावरको कच्चा तेलमा क्रमश: ३८.५० र ४९.५० प्रतिशत शुल्क लाग्छ।  तर सोल्भेन्ट एक्सट्रयाक्टर एशोसिएसनले आयातको भन्सार घटाउन नहुने तर्क राखेको छ। त्यसरी भन्सार घटाउँदा सरकारले राजस्व नपाउने र उपभोक्ताले फाइदा पनि नहुने जनाएको छ। त्यसको सट्टा सरकारले सार्वजनिक वितरण प्रणालीमार्फत गरीबलाई अनुदानमा तेल दिनुपर्ने एशोसिएसनको माग छ।

‘नेपालको अवस्था पनि भारतको भन्दा फरक छैन’
कच्चा पदार्थ विदेशमै निर्भर रहेकाले नेपालमा पनि खानेतेलको मूल्य आकासिएको छ। कोभिडको पहिलो लहरसँगै उकालो लाग्न थालेको तेलको मूल्य रोकिएको छैन। 

अहिले सातामै दुई पटक समेत तेलको मूल्य वृद्धि भइरहेको छ। अहिले धारा तोरीको तेल लिटरको ३ सय ३० रुपैयाँ पुगेको छ भने धारा हेल्थ २ सय ९५ रुपैयाँ पुगेको छ। केएल दुगडकै सनफ्लोको मूल्य २ सय ७५ रुपैयाँ पुगेको छ। 

निषेधाज्ञाकै अवधिमा तोरीको तेल लिटरमा ३० रुपैयाँ, सनफ्लावरको तेल लिटरको २५ रुपैयाँसम्म बढिसकेको छ। त्रिवेणी समूहको अन्नपूर्ण भेजिटेवलले उत्पादन गर्ने अमृत सनफ्लावरको मूल्य २ सय ७० रुपैयाँ पुगिसकेको छ। केही दिन अघि नेपाल वनस्पति घ्यू-तेल उत्पादक संघले खानेतेलको मूल्यवृद्धि हुनुको कारणसहित आफ्नो धारणासमेत सार्वजनिक गरेको थियो। 

संघले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकोले त्यसको असर आन्तरिक मूल्यमा परेको दाबी गरेको थियो। संघका अनुसार अर्जेन्टिनाबाट आयात हुने सोयाविनको कच्चा मूल्य प्रति टन १२ सय ७९ डलर पुगेको छ। गत वर्ष यो ६१४ डलर मात्रै थियो। 

युक्रेनबाट आयात हुने सनफ्लावरको कच्चा पदार्थ प्रति टन १५ सय ८० डलर पुगेको छ। गत वर्ष यसको मूल्य प्रति टन ६ य ५६ डलर थियो। संघका अनुसार क्रुड सोयाविनको तेल अप्रिल ८ मा प्रति टन ११ सय ९० डलर रहेकोमा अप्रिल २२ मै प्रतिटन १२ सय ७९ डलर पुगेको छ। दुई सातामा प्रतिटन ९० डलर मूल्य बढेको संघको जिकिर छ। 

सनफ्लावरको कच्चा तेलको मूल्य समेत एक साताको अवधिमा १५ सय ३० डलर प्रति टनबाट १६ सय ६० रुपैयाँ पुगेको छ। यो भारतको हल्दियासम्मको मूल्य हो। हल्दियाबाट नेपालसम्म ल्याउने ढुवानी शुल्क यसमा जोडिएको छैन। संघका निवर्तमान अध्यक्ष एवं स्वस्तिक आयलका सञ्चालक विकास दुगडले अन्तर्राष्ट्रिय बजारमा खानेतेलको कच्चा मूल्य लगातार बढेकोले बाध्य भएर मूल्य बढाउनु परेको बताए। 

‘हामीले अहिले नाफा धेरै राख्ने होइन मुनाफा नै कम राखेर तेल बिक्री गरिरहेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘अझ हामीले कतिपय अवस्थामा पुरानै कच्चा पदार्थ रहेकाले कम मूल्य राखेर तेल बेचिरहेका छौं।’ 

संघले मूल्यवृद्धि रोक्न कर घटाउनुपर्ने सुझाव दिएको छ। सरकारले कच्चा तेल आयातमा १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट लिने गरेको छ।

मूल्य बढेका कारण गत वर्ष २० रुपैयाँ कर पाउँदै आएको सरकारले अहिले लिटरमा ४० रुपैयाँ कर पाउँदै आएको छ। यो कर घटाउने वित्तिकै उपभोक्ताले सस्तोमा तेल पाउने सम्भावना हुन्छ।