BIZMANDU
www.bizmandu.com

बजारमा दिनदिनै नयाँ रेकर्ड: ५० अंकले बढ्दा सूचक हालसम्मकै उच्च, सवा १७ अर्बको किनबेच

२०७८ जेठ २३

बजारमा दिनदिनै नयाँ रेकर्ड: ५० अंकले बढ्दा सूचक हालसम्मकै उच्च, सवा १७ अर्बको किनबेच
बजारमा दिनदिनै नयाँ रेकर्ड: ५० अंकले बढ्दा सूचक हालसम्मकै उच्च, सवा १७ अर्बको किनबेच

Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर बजारले 'ओपनिङ' मै 'हाफ सेञ्चुरी' मारेको छ। ५० अंकको फराकिलो वृद्धिसँगै बजारले अर्को नयाँ रेकर्ड कायम गरेको छ।

कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ। दिनभरीमा १७ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

अघिल्लो साता बजेट र मौद्रिक समीक्षाका कारण केही दिन बजार घटेको थियो। तर साताको अन्तिमतिर फेर बजारले गति पकड्न थालेको थियो।

सरकारले पुँजीगत लाभकरमा गरेको परिवर्तनका अलावा राष्ट्र बैंकले बजारमा गरेको कडाइका बाबजुत आइतबार नयाँ रेकर्ड कायम भएको हो। २१८ कम्पनीको कारोबार हुँदा सूचक २९०६.८९ अंकमा पुगेको छ।

बजारलाई बैंकिङ समूहले डोहोर्याएको छ। बाणिज्य बैंकहरुको सूचक ६९.८५ अंकले बढ्दा ६ वटा अन्य सूचक घटेपनि समग्र बजार ५० अंकमाथि गएको हो। बीचमा बजार ६३ अंकसम्म बढेको थियो।

बजारको बृद्धिलाई विकास बैंक, फाइनान्स कम्पनी, अन्य, लघुवित्त, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूहका कम्पनीहरुले सघाएका छन्। 

दिनभरीमा सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्सकव एक अर्ब २१ करोड १४ लाख रुपैयाँको भएको छ। यसपछि निफ्राको ८३ करोड ९० लाख रुपैयाँको भएको छ। लुम्बिनी विकास बैंकको ५४ करोड ७५ लाख रुपैयाँका साथै कुमारी बैंकको ४६ करोड ५७ लाख र मेगा बैंकको ४४ करोड ७७ लाख रुपैयाँको भएको छ। नेपाल बंगलादेश बैंकको  पनि ४१ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सर्वाधिक सेयर कारोबार हुनेमा रि-इन्स्योरेन्स र निफ्राबाहेक सबै वाणिज्य बैक छन्।

महिला लघुवित्तका सेयरधनीहरुले सर्वाधिक १० प्रतिशतले सम्पति बढाएर प्रति कित्ता ५२२७ रुपैयाँ पुर्‍याएका छन्। यसपछि गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, रिडी हाइड्रो र नेपाल बंगलादेश बैंकको सर्वाधिक मूल्य बढेको छ। धेरै घट्नेमा राधि हाइड्रो, दिब्यश्वरी हाइड्रो, नारायणी डेभलपमेन्ट बैंकलगायत कम्पनी छन्। 

बैंकिङ समूहअन्तर्गत कारोबार भएका २५ वटाकै मूल्य बढेको छ। राष्ट्रिय वाणिज्य बैंक सूचीकृत छैन भने हिमालयन र इन्भेष्टमेन्ट मर्जरका कारण कारोबारयोग्य छैनन्। एनसीसीको साधारण र संस्थापक दुवै समूहको गणना गर्दा २५ वटा पुगेको हो।

किन बढ्यो सेयर?
बजार किन यस्तरी बढेको भनेर ब्रोकरहरुलाई सोध्दा उनीहरुको जबाफ एउटै आयो- घट्नु पर्ने कारण के छ र? 

अर्थतन्त्र लगभग ठप्प हुँदा त त्यसको असर बजारमा देखिनु पर्ने होइन र भन्ने अर्को प्रश्नमा बिजमाण्डूले कुराकानी गरेका ब्रोकरहरुको जबाफ छ- त्यही भएर त बजार बढेको हो नि।

उनीहरुका अनुसार, सबै क्षेत्र ठप्प हुँदा लगानीकर्ता फुर्सदिलो छन्। उनीहरुको काम अहिले बजारमा लगानी गर्ने मात्र छ। अनलाइनले गर्दा यसलाई अझ सजिलो बनाइदिएको छ। 

अघिल्लो लकडाउनपछि सुरु भएको 'बुल' का कारण पैसा कमाउन त सेयरमा पो लगानी गर्नु पर्ने रहेछ भन्ने मान्यता स्थापित भएको छ। यसले गर्दा अहिले सानासाना पसलेदेखि जुनसुकै क्षेत्रक ब्यवसायी आकर्षित भएका छन्। 

प्राविधिक विश्लेषकहरुले पनि साढे ३१ सय पुग्ने भन्दै आफ्नो आधारहरु सार्वजनिक गरिरहेका छन्। 'समग्रमा तरलताका कारण बजार उक्लिएको हो,' ती ब्रोकरले भने, 'मान्छेले सजिलै किनबेच गर्न सक्ने अवस्था बनेको छ। अरु ठाउँमा लगानी गर्ने अवस्था छैन। मालपोत बन्द भएर घरजग्गा किनबेच  पनि छैन।'

सबै पैसा पुँजी बजारतिर आउँदा कारोबार रकम र सूचक बढेको उनीहरुको तर्क छ।