![]()
काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा थप एक साता थपिएको छ।
काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एक साता थप निषेधाज्ञा गर्ने निर्णय। आज बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गरेको हो।
'एक साता निषेधाज्ञा थप गर्ने निर्णय भएको छ। यस पटक थप कडाइ गर्ने निर्णय भएको छ,' काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने।
पछिल्लो पटक काठमाडौं उपत्यकाभित्र थपिएको निषेधाज्ञा जेठ १३ गतेबाट सकिँदैछ। काठमाडौं उपत्यकाभित्र निषेधाज्ञामा पनि मानिसको आवतजावत कम नभएको भन्दै अब थपिएको निषेधाज्ञा भने थप कडाइ गर्ने तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले निष्कर्ष निकालेको थियो। त्यसो त सोमबार स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले भने मानिसको आवतजावत नियन्त्रण नहुँदा कोरोना संक्रमण चाहेको अनुसार नियन्त्रणमा नआएको बताएका थिए।
यसपटकको निषेधाज्ञामा मानिसहरु मर्निङ र इभिनिङ वाकको नाममा घरबाट निस्किए कारबाही गर्ने गरि निर्णय गरिएको छ। तरकारी पसलमा मानिसको भिडभाड भएकाले त्यहाँबाट संक्रमण फैलिएको हुनसक्ने आशंकामा यस पटक थप गरिएको निषेधाज्ञामा तरकारी पसललाई कडाइ गर्ने भएको छ। त्यस्तै खाद्यान्नका पसल भने एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ।
'खाद्यान्नका पसल, डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्ण भएको छ। त्यस्तै अन्य तरकारीका पसल भने बिहान ९ बजेसम्म मात्र खुल्न पाउने छन्,' प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।
त्यस्तै, अनुगमन र कारबाहीलाई पनि कडाइ गर्ने तयारी गरिएको छ। विवाहमा पनि १० जनाबाट घटाइएर ७ जना मात्र सहभागी हुन पाउने छन्। जसमा एउटा गाडी मात्र प्रयोग गर्न पाइने छ।
बैंक वित्तीय सस्थाहरुको कारण पनि मानिसको भिड सडकमा देखिएको प्रशासनको निष्कर्ष छ। काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा जारी छ।