.jpg)
विराटनगर। कडा लकडाउन र निषेधाज्ञाका कारण पूर्वका चामल उद्योगीले आफ्ना उद्योगको उत्पादन क्षमता ७० प्रतिशतसम्मले घटाएका छन्।
कोरोना प्रकोपका डरले कर्मचारी र श्रमिक नआउँदा, नियमित डिलरहरूले अर्डर नपठाउँदा र खाद्यान्न सामग्री स्थानीय बजारमा बिहान ९ बजेभित्र मात्र ढुवानी गर्न पाइने भन्ने सरकारी उर्दीका कारण चामल उद्योगले उत्पादन घटाएका हुन्। यसरी कोभिड कहरले गर्दा मुख्य खाद्यान्न चामलको कारोबारमा समेत मन्दी छाएको छ।
विराटनगरस्थित राधाकृष्ण राइस मिल प्रालिका सञ्चालक सुधीर तोदीले आफ्नो उद्योगले ७० प्रतिशतसम्म उत्पादन घटाएको बताए।
राधाकृष्ण राइसले जिरा मसिनो, बासमती लगायतका मसिनो चामलको उत्पादन गर्दै आएको छ।
‘स्टाफ आए श्रमिक र श्रमिक आए स्टाफ आउँदैनन्,’ उद्योगी तोदीले बिजमाण्डूसित भने, ‘उत्पादनको श्रमिक आयो भने प्याकेजिङको आउँदैन, दुवै श्रमिक आए भने गोदाममा ओसार्ने श्रमिक अनुपस्थित हुन्छ। भ्यागुताको धार्नी नपुगेझैं कोरोनाको महामारीका कारण उद्योगमा कामदार र श्रमिकको पनि धार्नी पुग्न सकिरहेको छैन।’
सुधीरका उद्योगमा प्रति दिन ८० देखि १ सय टन चामलको उत्पादन गरिँदै आएकोमा लकडाउन सुरु भएछि दैनिक १५ देखि २० मा साँघुरिएको छ। चामलको अटोमेटिक मेसिन भएकाले १० श्रमिकमात्र छन्।
दैनिक १ सय टन चामलको उत्पादन गर्दै आएको मोरङ कटहरी गाउँपालिकाको बोहरा इन्डस्ट्रिजको उत्पादन पनि ३० देखि ४० टनमा खुम्चिएको छ।
सञ्चालक अंकित बोहराका अनुसार डिलरले चामलको माग ह्वात्तै घटाएका छन्। अर्डर आए पनि उधारो आउँछ, यस्ता बेलामा उधारो दिनु अझ जोखिमपूर्ण छ।
उद्यमी बोहराले निषेधाज्ञाले ढावा, रेस्टुरेन्ट, होटल, होस्टल, विवाह, व्रतबन्ध सबैमा असर पुगेकाले मसिनो चामलको बिक्रीमा ७० प्रतिशतले ह्रास आएको दाबी गरे।
उनले भने, ‘हाम्रो चामलको बजार देशभरि हो। तर कतैबाट अर्डर आउँदैन। ढुवानीमा पनि समस्या छ।’
गत वर्षको निषेधाज्ञाका अवधिमा हुनेखानेले ३/४ महिनासम्मको मौज्दात राखेका थिए। त्यस्तै र सरकार तथा निजी क्षेत्रका सामाजिक संघसंस्थाले प्रभावकारी रूपमा राहत वितरण गरेका थिए। त्यसैले चामलको बिक्रीको अवस्था सन्तोषजनक थियो। तर यसपटक मानिस डरले निस्कनै सकेका छैनन्। ठिक्क मात्र खरिद गरिरहेका छन्। राहत वितरण पनि ठप्पजस्तै छ। यसले कारोबारमा असर पुर्याएको छ।
अर्का उद्योगी नरेश राठीले पनि आफ्नो उद्योगले दैनिक ५० टन उत्पादनबाट १० मा झारेको दाबी गरे। राठीको सञ्चालनमा रहेको शिवचन्द राइस मिलले बासमती लगायतका मसिनो चामलको उत्पादन गर्दै आएको छ। यस उद्योगमा ५० श्रमिक छन्।
उनले भने, ‘बैंकमा समयमा भुक्तानी जम्मा गर्न र झिक्न पाइँदैन। धानका बिक्रेताले नगद भुक्तानी नै नपाई धान पठाउँदैनन्। यता बैंकिङ कारोबारमा व्यवधान उत्पन्न भएको छ।’
चामलका आयातकर्ता जितु बोथडाले यस पटकको लकडाउनमा चामलको पैठारी पनि घटेको उल्लेख गरे।
आयातकर्ता बोथडाले यस वर्ष भारतमा सरकारले जनतालाई राहतमा चामल वितरण नगरेकाले पनि चामलको पैठारीमा ह्रास आएको चर्चा गरे।
गत वर्षको लकडाउनका अवधिमा भारत सरकारले त्यहाँका निरपेक्ष गरीबीको रेखामुनि रहेका जनतालाई वितरण गरेको राहतको चामल नेपाल भित्रिएपछि चामल पैठारीको तथ्यांक दोब्बरभन्दा बढीले बढेको थियो।
भारत सरकारले गत वर्षको कोभिड संक्रमणका बेला २०२० मईदेखि अक्टोबरसम्म आफ्नो देशका ८० करोडभन्दा बढी जनतालाई प्रति किलोग्राम १ रुपैयाँका दरले एक जनालाई महिनामा १० किलोग्रामका हिसाबले रासनको चामल वितरण गरेको थियो।
भारतको फुड कर्पोरेसन अफ इन्डिया (एफसीआई)मार्फत् त्यहाँका जनतालाई रासनको चामल वितरण गरिएको थियो।
तर ६० प्रतिशतभन्दा बढी भारतीय जनसङ्ख्या राहतको चामल खाँदैन। यो चामल उनीहरूले स्थानीय पसलेलाई बिक्री गरे। त्यही चामल संकलन भएर निर्यातको अवस्थासम्म आइपुगेको थियो।
विराटनगर नाकाबाट २०७६ को साउनदेखि असोज मसान्तसम्ममा ३१ करोड १२ लाख मूल्यको ७ हजार ४ सय ३४ मेट्रिक टन चामल पैठारी गरिएको थियो। तर २०७७ को ३ महिनामा ७३ करोड ६४ लाख मूल्यको १८ हजार मेट्रिक टन चामल आयात भयो।
पैठारीकर्ता बोथडाले चामलको मूल्य लकडाउन पहिले र अहिले स्थिर अवस्थामा रहेको स्पष्ट पारे। त्यस्तै मसिनो चामलको पनि मूल्य स्थिर रहेको उनको भनाइ छ।
‘मसिनो चामल भनेको ‘एक्स्पोर्ट आइटम’ हो,’ उनले भने, ‘मसिनो चामलको माग युरोप, अमेरिका, बेलायत र खाडीका सबै धनी र विकसित मुलुकमा पर्याप्त छ। त्यसैले यसको मूल्य घटेको छैन।’
गोल्छा अर्गनाइजेसनअन्तर्गतको भूदेव खाद्य उद्योगका सञ्चालक सुरेन्द्र गोल्छाले कोभिड-१९ को विश्वव्यापी महामारीका कारण पर्यटकको आगमन ठप्प भएको हुँदा मसिनो र बासमती चामलको बिक्रीमा ह्रास आएको जानकारी दिए।
गोल्छाले भने, ‘नेपालमा अफ सिजनमा पनि सबैतिर मिलाएर कम्तीमा ५० हजार पर्यटक घुमिरहेका हुन्थे। मुख्य सिजनमा त १ लाखभन्दा बढीकै संख्यामा हुन्थे। उनीहरूले उपभोग गर्ने भनेको मसिनो जातको बासमती र लङ ग्रेन राइस नै हो। तर यतिका मानिस देशमा नभएपछि अधिक मूल्यको चामलको बिक्रीमा ह्रास आएको हो।’
गोल्छाका अनुसार नेपालमा धेरै पर्यटक भारतका हुने र उनीहरूले एक छाक भात नै खाने भएकाले मसिनो जातको महँगो चामलको बजार नेपालमा राम्रो छ।
उद्यमी सुरेन्द्रले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, सिँचाइ, मल र बीउको सहज आपूर्ति र व्यवस्था नहुन्जेल नेपाल धान र चामलमा परनिर्भर भइ नै रहनुपर्ने र नेपालको युवाशक्ति पनि बेरोजगार भएर विदेसिइरहने धारणा प्रकट गरे।