BIZMANDU
www.bizmandu.com

काठमाडौंमा निषेधाज्ञा थप गर्न सिडिओको बैठक बस्दैः खाद्यान्न पसल समेत बन्द गरेर थप कडाइ गरिने

२०७८ जेठ ११

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एक साता थप निषेधाज्ञा गर्ने सहमत भएका छन्। आज बस्न लागेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्ने छ।

'अहिलेसम्म एक साता निषेधाज्ञा थप गर्ने सहमति भएको छ। बैंठक बोलाएका छौं, आज निर्णय हुन्छ,' काठमाडौं जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

पछिल्लो पटक काठमाडौं उपत्यकाभित्र थपिएको निषेधाज्ञा जेठ १३ गतेबाट सकिँदैछ। काठमाडौं उपत्यकाभित्र निषेधाज्ञामा पनि मानिसको आवतजावत कम नभएको भन्दै अब थपिएको निषेधाज्ञा भने थप कडाइ गर्ने तीन वटै प्रमुख जिल्ला अधिकारीको निष्कर्ष रहेको छ।

त्यसो त सोमबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने मानिसको आवतजावत नियन्त्रण नहुँदा कोरोना संक्रमण चाहेको अनुसार नियन्त्रणमा नआएको बताएका थिए।

देशभर दैनिक औसत  ८ हजार ३ सय जना संक्रमित थपिरहँदा काठमाडौं उपत्यकाभित्र दैनिक २५ सय भन्दा बढी संक्रमित थपिरहेका छन्।तरकारी पसलमा मानिसको भिडभाड भएकाले त्यहाँबाट संक्रमण फैलिएको हुनसक्ने आशंकामा यस पटक थप गरिएको निषेधाज्ञामा तरकारी पसललाई कडाइ गर्ने विषयमा छलफल भइरहेको छ। त्यस्तै खाद्यान्नका पसल भने एक साता पूर्ण ठप्प गर्ने तयारी भइरहेको छ।

'खाद्यान्न मानिसले जोहो गरेका होलान्। त्यसैले एक साता चाँहि खाद्यान्नका पसल पूरै बन्द गर्ने सहमति भएको छ। हरियो तरकारीको विषयमा के गर्ने भन्ने छलफलमा नै छौं,' प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।

अहिले बिहान ७ देखि १० बजेसम्म तरकारी तथा खाद्यान्न किनबेच गर्न पाइन्छ। तर, ७ बजेभन्दा पहिले र भिडभाड गरेर बिक्री गरिएको भन्दै प्रशासनले कडाइ गर्ने भएको हो। त्यस्तै, अनुगमन र कारबाहीलाई पनि कडाइ गर्ने तयारी गरिएको छ।

बैंक वित्तीय सस्थाहरुको कारण पनि मानिसको भिड सडकमा देखिएको प्रशासनको निष्कर्ष छ। काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा जारी छ।