BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकको ‘स्पीड ब्रेकर’ पछि बजार घट्यो, कारोबार रकममा नयाँ रेकर्ड, करिब १२ अर्बको किनबेच

२०७८ जेठ ५

राष्ट्र बैंकको ‘स्पीड ब्रेकर’ पछि बजार घट्यो, कारोबार रकममा नयाँ रेकर्ड, करिब १२ अर्बको किनबेच
राष्ट्र बैंकको ‘स्पीड ब्रेकर’ पछि बजार घट्यो, कारोबार रकममा नयाँ रेकर्ड, करिब १२ अर्बको किनबेच

Tata
GBIME
Nepal Life

काठमाडौं। सेयर धितो ऋणमा कडाइ गर्ने राष्ट्र बैंकको घोषणापछि सेयर बजारमा ५३ अंकको उतारचढाव देखिएको छ।

मंगलबार २७९३ अंकमा बन्द भएको बजार बुधबार २८१६ अंकमा खुलेको थियो। त्यसपछि पनि बजार निरन्तर बढेर २८२२ अंकसम्म उक्लिएको थियो। त्यसपछि केहीबेर २७९८ अंकसम्म आयो। पुनः बढे २८१९ अंकसम्म पुगेपछि बजार निरन्तर ओरालो लागेको हो। 

डेढ बजेपछि बजारले रातो दिशा समात्न थालेको हो। अन्ततः बजार १३ अंक घटेर २७८० अंकमा बन्द भएको छ। बजारले रातो रङ समाए पनि कारोबार रकमले फेरि रेकर्ड राखेको छ।

हिजो अहिलेसम्मको उच्चतम अर्थात ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको थियो। आज ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। सुरुमा बजारमा सूचक बढे पनि कारोबार रकम सुस्त थियो। पछि भने सूचक घटेपछि कारोबार रकम बढ्न थालेको थियो।

'बजार छिर्ने मौका घट्दाखेरी हो। घटेका बेला लगानी गर्ने बढेका कारण कारोबार रकम ह्वात्त माथि गएको हो,' एक ब्रोकरले भने, 'कारोबार रकम बढ्नुले बजारप्रति आशा अझ बढेर गएको देखाउँछ। रकम घटेको भए चिन्ताको विषय हुने थियो।'

हिजो बजार बन्द भएपछि राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गर्ने घोषणा गरेको थियो। १२० दिनको औसत मूल्यलाई गणना गर्ने व्यवस्था परिवर्तन गर्दै १८० दिन पुर्‍याउने घोषणा गरेको थियो। यसले गर्दा बजार घट्ने अनुमान थियो। 'अनुमान अनुसार नै बजार घटेको छ,' ती ब्रोकरले भने, 'कारोबार रकमले भने सबैलाई आश्चर्यमा पारेको छ। यसले एकाधदिनमै बजार माथि जाने संकेत गर्छ।'

बजारमा बहुमत उपसूचक घटेका छन्। तर वाणिज्य बैंक सूचक हरियो हुँदा बजार धेरै घट्न भने पाएन। वाणिज्य बैंक समूह ७.३४ अंकले बढेको छ। व्यापार ३५.७२ अंकले बढेको छ भने होटल १४ अंकमाथि उक्लिएको छ। फाइनान्स र सामूहिक लगानी कोष समूह पनि बढेको छ। बाँकी सूचक रातो भएको छ। 

समता घरेलु लघुवित्त र रुरु जलविद्युतको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। रुरुको सेयर निरन्तर बढिरहेको छ। जलविद्युत समूहमा सर्वाधिक सेयर मूल्य रुरुको पुगेको छ। कम्पनीको मूल्य ११७० रुपैयाँ पुगेको हो।

गोर्खा फाइनान्स, नेपाल फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर ९ प्रतिशतभन्दा बढिले बढेको छ। ङादी ग्रुप, युनाइटेड मोदी, नेपाल हाइड्रो, युनिभर्सल पावर र रैराङ हाइड्रोको सेयर मूल्य सर्वाधिक घटेको छ। त्यो भनेको सात प्रतिशतभन्दा कमै हो।

बजारमा सर्वाधिक सेयर किनबेच नेपाल रिइन्स्योरेन्सको भए पनि पछिल्ला दिनको तुलनामा कमै छ। कम्पनीको बुधबार ५५ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसपछि नेशनल लाइफको ४५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

लाभांश नदिएको दशकै भएको र अझै कति वर्ष दिने पक्का नभएको नेशनल हाइड्रोको सेयर एक महिनायता निरन्तर बढिरहेको छ। कम्पनीको बुधबार ३० करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। 

एक वर्षअघि ४९ रुपैयाँ मूल्य भएको कम्पनीको एक महिनाअघि १४६ रुपैयाँ थियो। बुधबार २०५ रुपैयाँ अन्तिम मूल्य कायम भएको छ। ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको सगरमाथा इन्स्योरेन्सको २२ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ भने लाभांश घोषणा गरेको राधिको २९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। 

घाटामा रहेका तारागाउँ, ओरेन्टल र सोल्टीको सेयर मूल्य बढेको छ। सुरुमा यी कम्पनीको मूल्यमा बढेर सर्किट पनि लागेको थियो। केही समय बढेको चन्द्रागिरि हिल्स भने घटेर बन्द भएको छ।