BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय वित्त निगमसहित अन्य तीन संस्थाको लगानी डोल्मा इम्प्याक्ट फन्ड दोस्रोमा

२०७८ बैशाख २८

अन्तर्राष्ट्रिय वित्त निगमसहित अन्य तीन संस्थाको लगानी डोल्मा इम्प्याक्ट फन्ड दोस्रोमा
अन्तर्राष्ट्रिय वित्त निगमसहित अन्य तीन संस्थाको लगानी डोल्मा इम्प्याक्ट फन्ड दोस्रोमा


Tata
GBIME
Nepal Life

काठमाडौं। डोल्मा इम्प्याक्ट फन्डले नेपालमा थप चार अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने भएको छ। फण्ड दोस्रोले यो लगानी गर्ने भएको हो।

दोस्रोको पहिलो चरणमा नेदरल्यान्डको एफएमओ बैंक, बेलायतको सीडीसी ग्रुप, स्वीडेनको स्वेडफन्ड र अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी) सहभागी भएर चार करोड अमेरिकी डलर (चार अर्ब ७० करोड रुपैयाँ) लगानी गर्ने भएका छन्। 

एफएमओ बैंकले उद्यम विकासमा लगानी गर्दै आएको छ। यसको लगानी एनएमबि बैंकमा पनि छ। सीडीसी ग्रुप बेलायत र स्वेडफन्ड स्वीडेनको वित्तीय विकास संस्था हुन्। सीडीसीले भर्खरै वर्ल्डलिंकमा लगानी गरेको छ। यसबाहेक पनि यसको अन्य क्षेत्रमा लगानी छ। वित्त निगमले निजी क्षेत्रका परियोजनामा लगानी गर्दै आएको छ। 

नेपालमा मुख्यगरी नवीकरणीय ऊर्जा, स्वास्थ्य तथा प्रविधि क्षेत्रमा लगानी गर्ने गरी चार वटा संस्थाहरु सहभागी हुने गरी डोल्मा इम्प्याक्ट फन्ड दोस्रोले स्रोत सुनिश्चितता गरेको हो। फन्ड बन्द हुँदासम्म करिब साढे सात करोड डलर (आठ अर्ब ८२ करोड रुपैयाँ) लगानी संकलन गर्ने लक्ष्य रहेको आइएफसीले जनाएको छ।

भारतको कोभिड संक्रमण दरलाई पछ्याइरहेको नेपालका लागि फन्ड निकै समयसापेक्ष रहेको आइएफसीले जनाएको छ। डोल्मा दोस्रो फन्डले प्रत्यक्ष रुपमा स्वास्थ्य क्षेत्रको क्षमतामा आइपरेको दबाब र अभावलाई डिजिटल माध्यमबाट समाधान गर्ने सहयोग पुग्ने बताइएको छ।   

सन् २०१७ देखि १९ सम्म नेपालको आर्थिक वृद्धि ६.७% र ८.२% सहित विश्वको तीब्र आर्थिक वृद्धि भएको मुलुक रहँदै मध्यम आयस्तर तर्फ अघि बढेको विश्व बैंकले जनाएको छ। 

डोल्मा इम्प्याक्ट फन्ड एकले सन् २०१४ देखि उच्च वृद्धि हुने इमर्जिङ बजारको संस्थागत क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी, वातावरणीय र सामाजिक मापदण्ड विकासमा टेवा पुर्याएको आइएफसीले जनाएको छ। पहिलो इक्विटी फन्डको सफलतालाई  हेरेर डोल्मा दोस्रोले पछ्याएको बताइएको छ।

डोल्मा इम्प्याक्ट फन्ड एकले ५० मेगावाटको नवीकरणीय ऊर्जा, आर्टिफिसियल इन्टिलिजेन्स र इकमर्स फर्म र अत्यावश्यक औषधि उत्पादन र स्वास्थ्य क्षेत्रमा लगानी गरेको थियो। 

नेपालमा विदेशी लगानीमा अन्य सफल परियोजनामा इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार र जलविद्युत परियोजना रहेको आइएफसीले जनाएको छ। यस्तै, स्ट्यान्डर्ड चार्टर्ड, युनिलिभर र कोकाकोलालगायतका बहुराष्ट्रिय कम्पनीमा भएको विदेशी लगानी पनि सफल भएका छन्। 

नेपालमा वैदेशिक लगानी विस्तार गर्न गत महिना सीडीसी, एफएमओ र स्वीस् एजेन्सी फर डेभलपेन्ट एण्ड कर्पोरेसन (एसडीसी) ले नेपाल इन्भेष्टमेन्ट प्लाटफर्म आयोजना गरेका थिए।

'हाम्रो डोल्मा दोस्रो फण्ड नेपालको निजी क्षेत्रका लागि विश्वासको मत हो। पहिलो फण्डले नेपालको व्यापारिक तथा अन्य अवसर प्रदर्शन गरेको,' डोल्मा फन्डका सीइओ टीम गल्चरले भने।

'प्राइभेट इक्विटी फण्ड स्थानीय उद्यमीका लागि पुँजी र विज्ञता प्राप्त गर्ने स्रोत हुन सक्छ। यसले उनीहरुको व्यापार, रोजगारी वृद्धि र अत्यावश्यक वस्तु तथा सेवा विस्तार गर्न सहयोग पुग्छ। आइएफसी नेपालमा प्राइभेट इक्विटी बजारमा गम्भीर भएर लागेको छ,' आइएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकर सेदिख फाएले भने। 

डोल्मा फण्डले नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा समेत लगानी विस्तार गरेको आइएफसीले जनाएको छ। लैङ्गिक समानता, काम, उद्योग र असमानतासँगै ग्रीन इनर्जी र जलवायुसम्बन्धि कार्यमा डोल्मा फण्डले लगानी गरिरहेको आइएफसीले जनाएको छ।

कसरी भयो डोल्मा नाम?
टीम गल्चरको नेतृत्वमा सुरु भएको प्राइभेट इक्विटी फर्मको नाम डोल्मा फण्ड किन रह्यो? यसपछिको कथा पनि कम रोमाञ्चक भने छैन।
उर्जा र प्रविधिको पृष्ठभूमि भएका गल्चर लण्डन विजनेश स्कुलबाट एमबिए गरेका छन्। उनले जेपि मर्गनमा नौ वर्ष काम गरेका थिए।

उनी पछि इन्भेष्टमेन्ट बैंक इन्टरगम कम्पनीको प्रवन्ध निर्देशक समेत भए। उनी सहसंस्थापक भएर एक्याडेमी आईपी सुरु भयो। यो न्युयोर्कमा आधारित भेञ्चर क्यापिटल कम्पनी थियो, जसले अमेरिकी विश्वविद्यालयसँग साझेदारी गर्दथ्यो।

उनै गल्चर सन् २००३ मा पहिलो पटक नेपाल घुम्न आएका थिए। उनी घुम्दै रसुवाको ब्रिदिममा पुगे। ब्रिदिम पुगेका बेला मौसम बिग्रियो, पानी परेपछि उनी स्थानीय एक घरमा बास बसे।

जुन घरमा बास बसे त्यही घरमा थिइन्, नौ वर्षकि बालिका डोल्मा। गल्चर डोल्माको मुस्कान, उनको साधरणपनबाट प्रभावित भए, उनले त्यसैबाट प्रभावित भएर सुरु गरे, डोल्मा डेभलपमेन्ट फण्ड।

डोल्मा डेभलपमेन्ट फण्डबाट पहिलो छात्रवृत्ती उनै डोल्माले पाइन्। छ वर्षको उमेरमा नेपालको ग्रामिण क्षेत्रमा विद्यालय सुरु हुन्छ। तर नौ वर्षको उमेरसम्म पनि डोल्माले राम्रोसँग अध्ययन थालेकी थिइनन्।

डोल्मा डेभलपमेन्ट फण्डले दीर्घकालीन विकासको अवधारणामा काम गर्छ। अहिले यसको दोस्रो चरण सुरु भएको हो।