BIZMANDU
www.bizmandu.com

थप कडाई गर्दै एक हप्ता थपियो काठमाडौंमा निषेधाज्ञा, खाद्यान्न पसल २ घण्टा मात्रै खोल्न पाइने

२०७८ बैशाख २१

Tata
GBIME

काठमाडौ। काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा हुने भएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक पछि २९ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको बैठकमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भने उपस्थिति थिएनन्। कोरोना सङ्क्रमण देखिएपछि ललितपुरका सिडिओ अनुपस्थित भएका हुन्।

कोरोना सङ्क्रमण बढेको भन्दै स्थानीय प्रशासनले वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो।

तर कोरोना सङ्क्रमण दर झनै बढेकाले थप एक साता निषेधाज्ञा गरिएको हो। थप गरिएको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ। मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्न समेत निषेध गरिएको छ। अब मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ।

त्यस्तै खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। यसअघि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइएको थियो।