BIZMANDU
www.bizmandu.com

नयाँ वर्षपछि बैंक ऋण: एलसी निरन्तर खुल्दै, आन्तरिक माग घटेपनि ऋण जाँदै

२०७८ बैशाख २१

नयाँ वर्षपछि बैंक ऋण: एलसी निरन्तर खुल्दै, आन्तरिक माग घटेपनि ऋण जाँदै
नयाँ वर्षपछि बैंक ऋण: एलसी निरन्तर खुल्दै, आन्तरिक माग घटेपनि ऋण जाँदै


Tata
GBIME
Nepal Life

काठमाडौं। ज्ञानेन्द्र ढुंगानालाई चालु आर्थिक वर्षका लागि व्यापार गर्ने समय सकिएजस्तो लाग्छ। कोभिड संक्रमण फैलिएपछि सरकारले विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाएको छ।

त्यसैले नयाँ परियोजनाका लागि ऋणको माग हुनेवाला छैन। भएकैमा धेरथोर मात्र जाने हो।नयाँ साल (२०८७ बैशाख) लागेपछि आक्रामक ऋण विस्तार रोकिएको छ। निषेधाज्ञा लम्बिँदै जाने अवस्था देखिएकाले आगामी दिनमा ऋण जाँदैन की भन्ने अनुमान उनले गरेका छन्।

'जति भयो अगाडि नै भयो। अब नयाँ माग आउँदैन जस्तो छ,' नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले भने। 

हुन पनि बैंकहरुले मंसिरदेखि चैतसम्म सबैभन्दा बढी ऋण विस्तार गरेका थिए। त्यसअघि दसैंतिहारका लागि अलिअलि ऋण गए पनि लकडाउनको असरले असोजसम्म पैसा गएको थिएन।

मंसिर लागेपछि भने ह्वातहुत्तै बैंकहरुले ऋण विस्तार गरेका थिए। यही कारण बैंकहरुले नौ महिनामै ५० अर्ब रुपैयाँभन्दा बढी नाफा गरेका थिए। 

चालु आर्थिक वर्ष बैंकहरुले कुल ६ खर्ब ७० अर्ब रुपैयाँ लगानी गरेका छन्। यसमध्ये ५ खर्ब २१ अर्ब रुपैयाँ मंसिरदेखि वैशाख १० गतेसम्म भएको लगानी हो। यही लगानीका कारण बैंकहरुको नाफा उच्च दरले वृद्धि भएको हो।

'अहिले त अपरेशन (दैनिक सञ्चालन) नै महत्वपूर्ण हो,' सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले भने, 'ब्याक अफिसमा अलिअलि ऋणको काम होला। यस्तो बेलामा नयाँ माग हुने कुरा भएन। तर ऋण ठप्प नै चै छैन। गइरहेकै छ।'

अहिले बैंकहरुले कमभन्दा कम कर्मचारी प्रयोग गरेर नगद कारोबारको सेवा दिइरहेका छन्। काठमाडौं उपत्यकामा २० वटा शाखा हुने बैंकले एक दिनमा ८/१० वटा मात्र खोलेर सेवा दिइरहेका छन्।

'अन्योलको अवस्था छ। त्यसैले नगद कारोबार बाहेक ऋणको माग ठूलो हुने कुरा भएन। तर नियमित कारोबार केही घटेपनि तुलनात्मक रुपमा निक्कै कमी आएको अवस्था छैन,' नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले भने, 'ऋण पनि धेरथोर गइरहेको छ।'

इन्भेष्टमेन्ट बैंक तुलनात्मक रुपमा बढी प्रतितपत्र (एलसी) खोल्ने बैंक हो। बैंकले अहिले पनि एलसी खोलिरहेको छ। 'कागजपत्र ल्याउने सेवा सञ्चालनमा छँदैछ। अहिले पनि माल (वस्तु) कोलकाता पोर्टमा आइरहेको छ,' उनले भने, 'नियमित व्यापार भइरहेको छ। सामान्य समयजस्तो व्यापार चाहिँ छैन।'

उनले निषेधाज्ञा १४/१५ जिल्लाबाट बढ्दै गएको र समय पनि थपिन थालेकाले केही समयपछि ऋणको मागमा अझ कमी आउने बताए। 

पोहोर चैत ११ गते लकडाउनपछि अत्यावश्यक बाहेकका क्षेत्रमा ऋणको माग थिएन। यसपाली भने पोहोरजस्तो ऋण ठप्पै भने नभएको बैंकरको अनुभव छ। 'सरकारले पनि व्यवस्थित ढंगबाटै निषेधाज्ञा लगाएको छ। सबै क्षेत्र बन्द छैन,' एक बैंकरले भने, 'कारखानाहरु यसपाली चलेका छन्। दैनिक काम चलाउनका लागि ऋणको माग छ।'

निषेधाज्ञापछि ऋणको माग घटेका कारण तरलता सहज भएको छ। 'पैसा धेरै नचाहिने भएपछि भएकै पैसा पर्याप्त हुन्छ,' अर्का एक बैंकरले भने, 'निषेधाज्ञा लम्बिँदै गएमा तरलता अझ सहज हुन्छ। सामान्य अवस्थामा पनि वैशाखदेखि साउनसम्म तरलता सहज हुने बेला हो।'

अहिले अन्तर बैंक सापटी दर एक प्रतिशतभन्दा तल आइसकेको छ। निषेधाज्ञाअघि सापटी दर साढे चार प्रतिशतसम्म पुगेको थियो। अहिले कसैलाई पैसा नचाहिएकाले अन्तर बैंक सापटी कारोबार लगभग बन्द नै जस्तो छ।