BIZMANDU
www.bizmandu.com

अब कति दिन थपिएला काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा? कुन क्षेत्रमा हुँदैछ थप कडाई?

२०७८ बैशाख २१

अब कति दिन थपिएला काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा? कुन क्षेत्रमा हुँदैछ थप कडाई?
अब कति दिन थपिएला काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा? कुन क्षेत्रमा हुँदैछ थप कडाई?

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं उपत्यकाभित्र बिहीवारदेखि जारी भएको एक साता लामो निषेधाज्ञा भोलिबाट सकिँदैछ। निषेधाज्ञाको अवधि सकिनै लाग्दा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू निषेधाज्ञा थप गर्ने तयारीमा जुटेका छन्।

मङ्गलवार बिहान गृह मन्त्रालयमा गृह सचिवसँगको छलफलपछि कति समय निषेधाज्ञा थप भन्ने विषयमा टुङ्गोमा पुग्नेछन्। 'आज वा भोलि बिहानसम्म थप निषेधाज्ञाको समय सार्वजनिक गर्छौँ,' जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

देशभर निषेधाज्ञा भएका अधिकांश जिल्लाहरूमा सात दिन निषेधाज्ञा गरिएको छ। केही जिल्लामा मात्र १५ दिनको लागि निषेधाज्ञा गरिएको छ। काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा गरिएको थियो। अब भने निषेधाज्ञाको समय थप एक साता वा दश दिनसम्म गर्ने भन्ने छलफल भइरहेको छ। तर, टुङ्गो नलागिसकेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

मन्त्रिपरिषद्को बैठकले निषेधाज्ञाको समय १५ दिनसम्म पुर्‍याउन यसअघि नै निर्देशन दिइसकेको छ। देश भरीसँगै काठमाडौं उपत्यकाभित्र दिनदिनै बढ्दै गएको संक्रमितको सङ्ख्यालाई हेरेर यो पटक निषेधाज्ञा जारी गर्दा थप कडाई गर्ने तयारी समेत भइरहेको छ।

स्थानीय प्रशासनले जारी गर्ने निषेधाज्ञाको थप कडाइमा यस पटक सरकारी कार्यालय, बैङ्क वित्तीय संस्थाहरू पर्नेछन्। सडकमा सवारीको भिड कम गर्ने सरकारी कार्यालयका कर्मचारी र सवारीको सङ्ख्या घटाउन स्थानीय प्रशासनले निर्देशन दिनेछ। त्यस्तै बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी समेत कटौती गर्ने गरी निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ।

त्यस्तै, सडकमा हिँड्ने मानिसलाई समेत कम गर्ने गरी निषेधाज्ञाको मोडालिटी तयार भइरहेको छ। मानिसलाई सकभर अत्यावश्यक कामबाहेक घरबाट ननिस्कने गरी निषेधाज्ञा थप गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।

त्यस्तै, आवश्यकता अनुसार अन्य क्षेत्रमा समेत थप कडाई गरिने भएको छ। सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै देश भरी जारी भएको निषेधाज्ञा थप कडा बनाइने जानकारी दिएका थिए।