BIZMANDU
www.bizmandu.com

हुवावेमाथि अमेरिकी प्रतिबन्धको लाभ उठाउँदै साओमी, स्टार्टअप कम्पनी लाइफस्टाइल ब्राण्ड बन्यो

२०७८ बैशाख २१

हुवावेमाथि अमेरिकी प्रतिबन्धको लाभ उठाउँदै साओमी, स्टार्टअप कम्पनी लाइफस्टाइल ब्राण्ड बन्यो
हुवावेमाथि अमेरिकी प्रतिबन्धको लाभ उठाउँदै साओमी, स्टार्टअप कम्पनी लाइफस्टाइल ब्राण्ड बन्यो


Tata
GBIME
Nepal Life

सुरुवातमा आफ्नो एमआईयूआई एन्ड्रोइड सफ्टवेयरबाट फ्यान कमाएको साओमी हाल विश्वमै उच्च माग भएको मोबाइल कम्पनीका रुपमा  स्थापित भैसकेको छ।

स्टार्टअपका रुपमै चर्चित साओमीले चीनमा भने जापानी ब्राण्ड “मोजी”जस्तै लाइफस्टाइल ब्राण्डका रुपमा आफूलाई परिवर्तन गर्न सफल भएको हो।  छोटो समयमै साओमीले आफूलाई चिनियाँ स्मार्टफोन बजारमा सस्तो तर हाइ इण्ड सेट उत्पादन गर्ने कम्पनीका रुपमा पुर्याउन सफल भयो। सन् २०१० मा स्थापना भएको कम्पनी हाल चीनको टप स्मार्टफोन मेकर र  सबैभन्दा मूल्यबान स्टार्टअप कम्पनी बनिसकेको छ।

सुरुवातदेखि नै आफ्नो आक्रमक बजार रणनीतिका कारण उसले मोबाइल सेटका बिभिन्न संस्करणहरुलाई सफलतापूर्वक बेच्न सक्यो। सन् २०१६ सम्म आइपुग्दा कम्पनीले आफूलाई लाइफस्टाइल प्रोडक्टको उत्पादनमा लक्षित गर्यो। त्यस क्रममा उसले ‘स्मार्ट प्रोडक्ट’ र ‘नट-सो-स्मार्ट’ प्रोडक्टहरु जस्तै: छाता र लगेजहरु पनि बजारमा ल्यायो। तर साओमीले जुन हिसाबले सुरुवात गरेको थियो त्यसबेलासम्म आइपुग्दा उसले आफ्नो चमक गुमाउँदै लैजान थाल्यो।

त्यसै क्रममा चिनियाँ बजार हुवावे र  ओप्पो जस्ता स्मार्टफोन उत्पादक कम्पनीहरु साओमीका तीब्र प्रतिस्पर्धीका रुपमा बजारमा उसलाई उछिनेर अघि पुगिसकेका थिए।

हुवावे टेक्नोलोजिज कम्पनीलाई साओमीको बृहद प्रतिस्पर्धीका रुपमा हेरिन थालियो। त्यसै क्रममा बिबिके इलेक्ट्रोनिक्सको ओप्पो र भिभो दुबै बजारमा साओमीको कडा प्रतिस्पर्धीका रुपमा उभियो।तर यतिबेला फेरि साओमी नै चिनियाँ बजारमा टप ब्राण्डका रुपमा आएको छ। बिबिध उत्पादनहरुसँगै हाल साओमीको पहिलो बिद्युतीय कार समेत पाइपलाइनमा रहेको छ।

बेइजिङमा सन् २०१० मा ६ जनाको समूहले साओमीलाई एक स्टार्टअपका रुपमा सुरुवात गरेका थिए। ५१ वर्षका उद्यमी लेइ जुनले उक्त टिमलाई नेतृत्व गरेका थिए। लेइ हाल कम्पनीका सिइओ हुन्।

स्मार्टफोन मेकर कम्पनी साओमीले सुरुवातमा डेडिकेटेड फ्यान बेस तथा यूजर्स अनलाइन मार्फत सुरुवाती ग्रोथ हासिल गर्यो। कम्पनीले उस्तै किसिमको तर तीब्र गतिको सफ्टवेयर तयार गरी एन्ड्रोइड समुहमा समेत लोकप्रियता कमायो।

साओमीको तीब्र बिस्तार हुनुमा उसको पहिलो उत्पादन नै थियो। त्यो वास्तवमा एउटा सफ्टवेयर थियो ‘एमआईयूआई रोम’ साओमीको पहिलो उत्पादन थियो जसलाई अन्य व्राण्डका  मोबाइल सेटहरुमा प्रयोग गर्न सकिन्थ्यो। यसबाट प्रयोगकर्ताले जुनसुकै ब्राण्डका फोन मेकरको पनि सफ्टवेयर रिप्लेस गरी यो सफ्टवेयर राखी काम गर्न सक्थे। साओमीका स्मार्टफोनहरुमा एमआईयूआई अहिले पनि प्रयोग हुन्छ।

साओमीको उक्त रोमहरु स्मार्टफोन बजारभित्र मात्र छरिएर रहेको भएपनि त्यसले ‘एक्सडिए डेभलपर’ फोरमहरुमा समेत उत्सुकता पैदा गरिदिएको थियो। अनलाइन फोरमहरुमा चर्चा बटुल्न थाल्दा साओमीले उक्त सफ्टवेयर प्रयोगकर्ताहरुको माग अनुसारको नयाँ नयाँ प्रोडक्ट बनाउन थाल्यो। साओमीको सफ्टवेयरप्रति प्रतिबद्ध फ्यान समूहकै बलमा उसले आफ्नो पहिलो स्मार्टफोन एमआई वान बजारमा ल्यायो। बजारमा ल्याएको पहिलो ३४ घण्टाले उसले एमआई वानको ३ लाख सेटको प्रि अर्डर समेत प्राप्त गर्दै आफ्नो लोकप्रियतालाई पुष्टि गर्यो।

उसले आफ्नो सेटमा क्वालकमको प्रोसेसर स्न्यापड्र्यागन एस थ्रि प्रयोग गरेको थियो जुन तत्कालीन सामसङको ग्यालेक्सी एस टु सेटमा प्रयोग भएको थियो। तर एमआई वान १९९९ युआन अर्थात जम्मा ३ सय अमेरिकी डलरको सस्तो मूल्यमा साओमीले यो सेटलाई बजारमा ल्याएको थियो।

उसले आफ्ना प्रतिस्पर्धी कम्पनीहरुले लिने भन्दा आधा सस्तो दाममा उस्तै स्तरको सेट बजारमा उपलब्ध गराएको थियो। सस्तो मूल्य र प्रयोगकर्ताहरुसँगको नियमित सम्पर्कबाट साओमीका उपकरणहरु ब्यापक बन्न थाले। साओमीका प्रयोगकर्ताहरु आफ्नो मोबाइल सेट प्रति असाध्यै प्रतिबद्ध देखिन्थे। सन् २०१४ को जनवरीमा आइफोनका प्रयोगकर्ताहरुले भन्दा बढी साओमी प्रयोगकर्ताहरुले आफ्नो सेटमा धेरै एपहरु चलाएको फ्लुरीको एक अध्ययनले देखाएको छ।

साओमीले सँधै आपूर्तिमाथिको नियन्त्रण कायम राखी सस्तो मूल्यमा सेटहरु बजारमा पठाउने चलाख नीति पनि अपनाएको थियो। उसका सुरुवाती मोडलहरु सिमित संख्यामा उत्पादन हुन्थे र अनलाइनमार्फत तत्काल बिक्री हुने गर्थे। यो चलाखीले उसका मोबाइल सेटहरु ‘फ्ल्यास सेल’का नाममा सेकेन्डभरमा बिक्री हुन थाल्यो। 

स्टकमाथि कडा नियन्त्रण राखी साओमीले आफूले बिक्री गर्न सक्ने जति मात्र नयाँ सेटहरु निर्माण गर्न थाल्यो। उसले एउटा सेट जम्मा दुई वर्ष मात्र बजारमा राख्थ्यो र त्यसपछि अझ सस्तो राम्रो सेट उत्पादनमा लक्षित रहने नीति अंगिकार गर्यो। उसको यो रणनीति यति सफल भयो कि अन्य चिनियाँ स्मार्टफोन कम्पनीहरुले पनि यही नीति पछ्याउन थाले।

तर बिदेशी प्रयोगकर्ताका लागि भने फ्ल्यास सेल मोडल उपयुक्त भएन। यसबाट बिदेशी खरिदकर्तालाई विशेष लक्षित गर्ने स्मार्टफोन निर्माता ‘वान प्लस’ जस्ता कम्पनीहरु भने फ्लप भए।

कम्पनी बिस्तार हुँदै गएपछि साओमीलाई नै फ्ल्यास सेल मोडल कम आवश्यक देखियो। उसले आफ्नो बिक्री बढाउन अन्य उपायहरु खोज्न थाल्यो। साओमी रिटेल ब्यापार तथा स्मार्ट होम प्रोडक्टमा पनि आफूलाई बिस्तार गर्नतिर लाग्यो।

सन् २०१५ को सेप्टेम्बरमा साओमीले आफ्नो पहिलो आउटलेट बेइजिङमा खोल्यो। सुन्दर र सफा सजावट सहितको यो आउटलेटमा काठका टेबलमा उत्पादनहरु सजाइएका थिए। यो एप्पलको कुनै आउटलेट भन्दा कम  थिएन। सस्तो मूल्यका स्मार्टफोन उत्पादक भएरपनि साओमीले इ कमर्स मोडल पछ्याउँदै आफूलाई अग्रस्थानमा पुर्याएको थियो। तर बजेट फोन उत्पादन गर्दै उसले रिटेल ब्यापारमा पनि उत्तिकै तीब्र गतिमा बिस्तार गर्दै साइबर स्पेसबाट बाहिर निस्कन उत्तिकै धेरै प्रयोगहरु पनि गर्यो।

साओमीकै  बिक्री रणनीतिलाई पछ्याउँदै सन् २०१६ ताका साओमीका प्रतिस्पर्धी ब्राण्डहरु ओप्पो र भिभोले पनि आफ्नो ध्यान मुख्य शहरहरुबाट बाहिरका साना शहरहरुमा रिटेल स्टोरहरु खोल्न केन्द्रित गरेका थिए।

विश्वभर बिस्तार हुँदै जाँदा साओमीका रिटेल स्टोरहरु पनि तीब्र बिस्तार हुँदै गैरहेका थिए। भारतमा यो बिशेष रुपमा सफल भयो जहाँ उसले सन् २०१८ को नोभेम्बरमा एकैपटक ५ सय नयाँ स्टोरहरु खोल्दै गिनिज वर्ल्ड रेकर्ड नै राख्यो। सन् २०२० मा आइपुग्दा साओमीका चीनभर १८ सय र बिश्वभर ६ हजार स्टोर पुगिसकेका छन्।

एप्पलको ‘कपी क्याट’?

सुरुवाती दिनहरुमा साओमीले एप्पलकै डिजाइनहरुलाई लाजै नमानी कपी गर्दै स्मार्टफोन उत्पादन गरी चर्चा कमाएकै हो।

कम्पनीका सिइओ लेईले नै एप्पलका संस्थापक स्टिभ जब्सकै जस्तो कालो सर्ट र निलो जिन्स लगाएर एप्पल जस्तै देखिने साओमीका उत्पादनबारे प्रेजेन्टेसन दिएर यसलाई अझ बढी चर्चामा ल्याएका थिए।  सन् २०१९ को अन्त्यमा आएको एमआई वाचले पनि साओमीको यो पक्ष कम्पनीकै डिएनएका रुपमा सँधै रहिरहने पुष्टि गरिसकेको छ।

साओमीका ल्यापटप पनि म्याकबुक प्रयोगकर्ताहरुका लागि नौलो नहुने निश्चित छ। तर साओमी एप्पलका जस्तै उपकरण सस्तो दाममा दिने कम्पनीमात्र भने होइन। साओमीले आफ्नो कारोबारमा बृद्धि गर्दै लैजाँदा उसले ठूलो रकम अनुसन्धान र विकासमा खर्चिएको छ र विल्कुलै नयाँ नयाँ प्रविधि र डिजाइनहरुलाई पनि बजारमा ल्याइरहेको छ।

यसको उदाहरणका रुपमा कम्पनीको ‘मि मिक्स’ फोनलाई लिन सकिन्छ। साओमीले ल्याएको एयर चार्ज प्रविधिलाई पनि नविनतम आविष्कार मानिन्छ जसमा उपकरणहरु केही मिटर परैबाट चार्ज गर्न सकिन्छ। अन्य कम्पनीहरुले पनि यस्तै प्रविधिमा काम गरिरहेका छन् तर हालसम्म यसको ब्यापारिक संभाव्यता भने देखिएको छैन।

स्मार्ट फोन बिक्रेता मात्र रहेन साओमी

'साओमीले कहिल्यै स्मार्टफोन बिक्रेताका रुपमा मात्र रहन चाहेन।’- सन् २०१६ मै कम्पनीका सिइओ लिले भनेका थिए –‘बरु हामी सँधै उपभोक्तालाई बिबिध किसिमका उत्पादनहरु सस्तो मूल्यमा उपलब्ध गराउन लक्षित रहनेछौं।’

त्यसयता साओमीले आफूलाई बिबिध उत्पादनका लागि स्थापित गराइसकेको छ। हाल उसले स्मार्टफोन बाहेक बिबिध इन्टरनेट उपकरणहरुका साथै सामान्य वाल आउटलेटदेखि एयर प्युरिफायर तथा राइसकुकरहरुसम्म उसले उत्पादन गर्दै आएको छ।

सन् २०१६ मै सिइओ लेईले कम्पनीले ४० बिबिध किसिमका विद्युतीय सामाग्रीको उत्पादन गरी उपभोक्तालाई आफ्नो स्टोरमा सपिङ गर्नका लागि लोभलाग्दो वातावरण बनाउने बताएका थिए। उनले त्यति नै बेला कम्पनीले बिभिन्न ५५ फरक स्मार्ट हार्डवेयर उत्पादक कम्पनीमा लगानी समेत गरेको जानकारी दिएका थिए।

हाल साओमीले ४० भन्दा बढी उत्पादनहरु बजारमा ल्याइसकेको छ। तर ती सबै विद्युतीय वा स्मार्ट नै भने छैनन्। इन्टरनेटसँग सम्बन्धित सामाग्री उत्पादन गर्ने कम्पनीका रुपमा सुरुवात भएको साओमीले पछिल्लो समयमा जापानको लाइफस्टाइल रिटेलर मुजी ब्राण्डकै मोडल पछ्याएको छ।

साओमीका केही ‘बेस्टसेलिङ प्रोडक्ट’ असाध्यै सामान्य ब्याकप्याक, लगेज तथा छाताहरु रहेका छन्। हाल चीनका मुख्य शहरहरुमा जताजतै  साओमीको ‘बिजनेस ब्याकप्याक’ बोकेका मानिसहरु देखिनु सामान्य हो।

साओमीको स्मार्ट होम को लक्ष्य भने वास्तविक देखिन्छ। सामसङ र एप्पलले जस्तै उसले पनि मिजिया अर्थात एमआई होम इको सिस्टम तयार गरेको छ जसले बिबिध उत्पादनहरु जस्तै टेलिभिजन, प्रोजेक्टर, स्मार्ट स्पिकर, राउटर तथा रेफ्रिजरेटरहरुको उत्पादन गर्छ। उसले हुवामी जस्ता अन्य ब्राण्डहरुमा पनि लगानी गरेको छ जसले साओमीका लागि एमआई ब्याण्डको उत्पादन गर्छ। ‘एमेज फिट वेरेबल्स’ लाइनको निर्माता कम्पनी हुवामीले साओमीका लागि बनाएको एमआई ब्याण्ड एकताका विश्वकै बेस्ट सेलिङ वेरेबल्सका रुपमा चर्चित थियो।

सामोमीले बेइजिङ बेस्ड नाइबोट कम्पनीमा पनि मुख्य लगानीकर्ताका रुपमा रहेको छ। कम्पनी बिद्युतीय स्कुटर निर्माणका लागि चर्चित थियो। पछि त्यो कम्पनी प्याटेन्ट सम्बन्धी विवादका कारण बन्द भयो।बिबिध उत्पादनहरुका साथ बजारमा रहेको साओमी इ-कमर्स प्लाटफर्ममा उत्तिकै प्रतिस्पर्धी कम्पनीका रुपमा देखिएको छ।

सिइओ लेईले सन् २०१३ मै साओमी चीनको तेस्रो ठूलो इ-कमर्स प्लाटफर्म भएको बताएका थिए। तर आजका मितिमा चीनमा फैलिएका सयौं प्लाटफर्महरुबीच विद्यमान तीब्र प्रतिस्पर्धाका कारण साओमी त्यही स्थानमा भने टिकिरहन सकेको छैन। तर साओमीले हाल बिबिध प्लाटफर्महरुबाट सामाग्री बिक्री गर्दै लोकप्रिय ब्राण्डका रुपमा भने टिकिरहन सफल छ।

साओमी कसरी विश्व चर्चित बन्यो?

साओमी नाम चीनमा लोकप्रिय हुनु र ग्लोबल ब्राण्ड बन्न सक्नु फरक कुरा हो किनभने सुरुवातमा नै यसको नाम ग्लोबल पहिचानका लागि प्रत्युत्पादक बन्न सक्थ्यो।

यसको वास्तविक अर्थबाट धेरै पश्चिमाहरु बेखबर हुनु वा यसको सही अर्थबारे जानकार नहुनुले पनि साओमीका लागि राम्रो काम गर्यो। खासमा साओमीको अंग्रेजी अर्थ मिलेट अर्थात कोदो भएपनि चीनमा भने साओमीलाई “मिलेट विथ राइफल” भन्ने चिनियाँ क्रान्तिकारी नेता माओत्से तुङले प्रयोग गरेको पदावलीका रुपमा लिइन्छ। त्यसकारण चीनमा यो नाम लोकप्रिय हुनु सामान्य हो भने विश्वभर यो नामलाई ब्राण्डिङ गर्ने क्रममा सानो असावधानी भएको भए यसलाई सामान्य रुपमा नलिन पनि सकिन्थ्यो।

तर सन् २०१३ मा साओमीले गुगलको उत्पादन ब्यवस्थापनतर्फका तत्कालिन उपाध्यक्ष हुगो बारालाई कम्पनीको अन्तराष्ट्रिय बिभागका उपाध्यक्षका रुपमा गरेको नियुक्ती साओमीलाई विश्व बजारमा तीब्र उदय हुन सहयोगी सावित भयो। हुगोले  चिनियाँ ब्राण्ड साओमीको ग्लोबल फेसका रुपमा बहन गरेको जिम्मेवारी अन्तर्गत नयाँ बजारहरुमा साओमीलाई स्थापित गर्दै लैजानु पर्ने थियो।

त्यसको सुरुवात हुगोले सिंगापुरबाट गरे। तर जब साओमीले भारत प्रवेश गर्यो त्यसपछि भने लाखौं भारतीयहरुलाई कम्पनीले अनलाइनमा पहिलोचोटी भित्र्यायो। उनीहरुलाई साओमीसँग जोड्नु नै कम्पनीको उच्च प्राथमिकता थियो। हुगो सन् २०१७ मा साओमीबाट बाहिरिए तर त्यसबेलासम्म साओमी भारतमा सबैभन्दा बढी प्रयोग हुने स्मार्टफोनको सूचीमा तेस्रो नम्बरमा पुगिसकेको थियो। हालैको स्टाटकाउन्टरको एक तथ्यांक अनुसार साओमी भारतमा सबैभन्दा बढी प्रयोग हुने स्मार्टफोनको सूचीमा पहिलो स्थानमा छ।

साओमीले आफूलाई भारतमा स्थापित हुने क्रममा चिनियाँ प्रविधि वा ब्राण्डका रुपमा भन्दा पनि फरक रुपमा बजारीकरणको नीति अपनायो। उसको बजारीकरणको सोही चलाखीका कारण साओमी भारतीयको आँखामा चिनियाँ कम्पनी भनेर बिझाउने बनेन। बरु अन्य प्रतिस्पर्धी ब्राण्डहरुको भन्दा बढी सहज रुपमा बजारमा स्थापित भयो।

यसकालागि साओमी भारतका म्यानेजिङ डाइरेक्टर मनु कुमार जैनले नेतृत्व गरेको टिमले गरेको चलाखीपूर्ण बजारीकरण नै थियो। मनुकुमार जैनलाई हुगो बाराले नै नियुक्त गरेका थिए जसले भारतमा साओमीका उत्पादनहरुलाई ‘मेड इन इन्डिया’ ब्राण्डका रुपमा स्थानीय बजारमा प्रवर्द्धन गरे। हाल साओमीले भारतमा बिक्री गर्नका लागि भारतमै  एसेम्बल गरी स्मार्टफोन बिक्री गर्दै आएको छ। भारतमै एसेम्बल भएपनि साओमी मोबाइल फोनका अधिकांश पार्टपूर्जा भने चीनबाटै जान्छ।

हुगो साओमीमा रहुन्जेल कम्पनीले यूरोपको टप टेन स्मार्ट फोनको सूचीमा पनि प्रवेश गर्यो। त्यसबेलासम्म यूरोपमा एप्पल र सामसङका डिभाइसहरु अमेरिकामा भन्दा महंगो हुने गर्थे। त्यसैकारण साओमीले यूरोपेली बजारमा सजिलै स्थापित हुने मौका पायो। चीनकै हुवावेले अमेरिकी प्रतिबन्ध खेपिरहँदा साओमीले सन् २०२० मा विश्वभर प्रयोग हुने चिनियाँ स्मार्टफोनको सूचीमा सबैलाई उछिन्यो।

हालैको तथ्यांक अनुसार विश्वकै सबैभन्दा धेरै प्रयोग हुने ब्राण्डको सूचीमा साओमी चौथो नम्बरमा रहेको छ। सामसङ, एप्पल र हुवावे भन्दा पछि रहेको साओमीका लागि हुवावेको विश्वभर भैरहेको बिक्री कटौती भावी दिनमा अझ बढी संभावनाका ढोका खोल्ने उपयुक्त अवसरका रुपमा पनि देखिएको छ।

हाल हुगो फेसबुकको भर्चुअल रियालिटी बिभागमा काम गर्छन् तर उनले साओमीलाई स्थापित गर्न निकै महत्वपूर्ण भूमिका खेलेका छन्। ग्लोबल ग्रोथमा साओमीलाई राम्रो अवस्थासम्म पुर्याउने श्रेय उनै हुगोलाई जान्छ।

हुगोले साओमी छोडेको एक वर्षमै कम्पनी हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भयो। चीन अमेरिका ट्रेड वारको अवस्थामा भएको उक्त सूचीकरणमा साओमीका सिइओ लेईले आशा गरे अनुरुप कम्पनीले १०० अर्ब डलरको मार्केट डेब्यू गर्न नसकेपनि त्यसको आधासम्म पुग्न सक्यो। प्रारम्भिक अवस्थामा शेयर बजारमा साओमीले खासै राम्रो प्रदर्शन गर्न नसकेपनि विश्व बजारमा भने उपभोक्ताहरु यसका उत्पादनप्रति आकर्षित छन्।

सन् २०२० को चौथो त्रैमासमा साओमी विश्वको तेस्रो ठूलो स्मार्टफोन भेन्डर बन्न सफल भयो। सन् २०१९ मा अमेरिकाको प्रतिबन्धमा परेपछि गुगल सेवाबाट बञ्चित रहेको हुवावेको पतनबाट फाइदा उठाइरहेको साओमी एप्पल र सामसङपछि तेस्रो भेन्डरका रुपमा देखियो।

विद्युतीय कार बनाउँदै

हाल टेक जायन्टहरु विद्युतीय सवारी निर्माणमा हाफालिरहेका बेला साओमी अपवादका रुपमा रहेन। प्रतिस्पर्धी कम्पनीहरु वाइडी र हुवावे यसअघि नै  इभी प्रोजेक्टमा काम गरिरहेका बेला साओमी पनि यस क्षेत्रमा आएको हो। सिइओ लेई कारलाई “ठूलो ग्याजेट”कै रुपमा ब्याख्या गर्छन्। साओमीको कार लक्ष्यबारे जानकारी दिने क्रममा उनले भने-‘स्मार्ट कार भनेको चार ढोका भएका स्मार्टफोन नै हुन्।’

लिका अनुसार कम्पनीको पहिलो विद्युतीय सवारी एसयूभीका रुपमा आउनेछ। यसको मूल्य एक लाखदेखि तीन लाख युआनभित्रै पर्नेछ। टेस्लाले मोडल ३ लाई चीनमा २ लाख ९९ हजार युआन र पेङ मोटर्सले पि सेभेन ब्राण्डलाई २ लाख ४० हजार युआन पर्ने बताइरहेका बेला तुलनात्मक रुपमा सस्तो विद्युतीय सवारी निर्माणको लक्ष्य साओमीको छ।

साओमीले आफ्नै ब्राण्डमा कार बिक्री गर्ने योजना बनाएपनि उसले एक्लै नभई कुनै कार उत्पादक कम्पनीको साथ लिने बुझिएको छ। यसअघि ग्रेटवाल मोटर्ससँग काम गर्ने खबर सार्वजनिक भएपनि कम्पनीले यसलाई केवल हल्ला मात्र भनेको छ। साओमीले गत वर्षमात्रै आफ्नो प्रिमियम टेलिभिजन ओएलइडी सार्वजनिक गरिसकेको छ। २ हजार डलर पर्ने उक्त टिभीका साथै उसले सोसल मिडियामा पनि ‘एमआई टक’ नामको मेसेजिङ एप बनाएर नयाँ नयाँ क्षेत्रमा आफ्नो उपस्थितीलाई निरन्तर अघि बढाइरहेको छ।

बिबिध क्षेत्रमा उत्पादनहरुलाई निरन्तरता दिएकै कारण सफल भैरहेको साओमीलाई अमेरिकाको प्रतिबन्धका कारण हुवावेको ब्यापारमा आएको संकुचनले पनि आगामी दिनमा विश्वबजारमा नम्बर एक चिनियाँ ब्राण्ड बन्नबाट कसैले रोक्न नसक्ने निश्चित छ। (साउथ चाइना मर्निङ पोष्टबाट)