BIZMANDU
www.bizmandu.com

बिल गेट्स र मेलिन्दाको २७ वर्षे वैवाहिक जीवन टुङ्ग्याउने घोषणा, भने ‘अब सँगै अघि बढ्न नसक्ने भयौं

२०७८ बैशाख २१

Tata
GBIME
Nepal Life

झन्डै डेढ दशक विश्वका धनाढ्यको शीर्ष स्थानमा रहिसकेका बिल गेट्स (६५) र पत्नी मेलिन्दा गेट्स (५६) को सोमबारको एउटा घोषणाले संसारलाई चकित तुल्याएको छ । जो जोडीले २७ वर्ष लामो वैवाहिक जीवनलाई टुङ्गयाउने निर्णय गरेका छन्।

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले ट्विट गर्दै भनेका छन्, 'हाम्रो सम्बन्धका लागि दुवैले थुप्रै काम गर्दागर्दै पनि हामीले अब वैवाहिक सम्बन्ध टुङ्ग्याउने निर्णय गरेका छौं, किनकि जीवनको यो अर्को चरणमा जोडीका रुपमा हामी सँगै अघि बढ्न सक्ने विश्वास अब रहेन ।'

गेट्स दम्पत्तीको यो अविश्वसनीय घोषणाले परोपकार, सार्वजनिक स्वास्थ्य र व्यवसायिक जगतमा असर पर्ने चिन्ता गरिएको छ ।

के होला गेट्स फाउन्डेशनको भविष्य

यी दुवैले संयुक्त रुपमा विश्वकै ठूलो परोपकार संस्था 'बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशन' संचालन गरिरहेका छन् । यो परोपकारी संस्थाले सार्वजनिक स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा विश्वभर २९ अर्ब डलर खर्च गरिसकेको बताइएको छ ।

कोभिड-१९ विरुद्धको खोपको अनुसन्धान तथा विकासका लागि पनि फाउन्डेशनले गत वर्ष १.७५ अर्ब डलर दान दिएको थियो । विश्वका ९२ गरिब देशसहित अन्य विभिन्न मुलुकका लागि कोभिड-१९ को खोप खरिद गरेर उपलब्ध गराउने पहल लिएको कोभ्याक्स कार्यक्रमलाई अघि बढाउन गेट्स फाउन्डेशनले नै सबैभन्दा पहिले अनुदान दिएको थियो ।

संसारभर १६०० कर्मचारी कार्यरत गेट्स फाउन्डेशनले विश्वव्यापी सार्वजनिक स्वास्थ्य र विकासका लागि हरेक वर्ष ५ अर्ब डलर दान दिँदै आएको छ ।  सन् २००० मा स्थापना भएको बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग अहिले ४९.८ अर्ब डलर बराबरको नेट वर्थ रहेको जनाइएको छ ।

वैवाहिक सम्बन्ध अन्त्य गरेपनि संसारभरका मानिसको स्वस्थ र उत्पादनशील जीवनका लागि फाउन्डेशनमार्फत गरिरहेको कार्यलाई भने संयुक्तरुपमा निरन्तरता दिने दुवैले सार्वजनिक गरेका छन्। फाउन्डेशनले जारी गरेको वक्तव्यमा पनि भनिएको छ – 'बिल र मेलिन्दा गेट्स कानुनी रुपमा अलगिएपनि संस्थाको सह-अध्यक्ष र संरक्षकका रुपमा कायम रहने र संस्थामा कुनै पनि परिवर्तन नहुने अपेक्षा गरिएको छ ।'

गेट्सलाई भेट्नुअघि माइक्रोसफ्टमै प्रडक्ट म्यानेजर थिइन् मेलिन्दा

बिल र मेलिन्दाको भेट पहिलोपटक सन् १९८७ मा भएको थियो । त्यतिबेला मेलिन्दाले बिल गेट्सको कम्पनी माइक्रोसफ्टमा प्रडक्ट म्यानेजरको रुपमा काम गर्न सुरु गरेकी थिइन् ।

त्यसपछिको सात वर्ष डेट गरेपछि सन् १९९४ मा उनीहरुले विवाह गरेका थिए ।  गेट्स जोडीका १८ र २५ वर्ष उमेरका तीन सन्तान छन् ।

गेट्स आफ्नै बुँतामा बनेका थिए संसारका युवा अर्बपति

सन् १९८६ मा माइक्रोसफ्टले सर्वसाधारणमा २१ डलर दरका २९ लाख सेयर जारी गरेपछि बिल गेट्स संसारकै कम उमेरका 'सेल्फ मेड बिलिओनाइर' बनेका थिए । सन् १९९५ मा उनी पहिलोपटक  विश्वकै सर्वाधिक धनी व्यक्तिमा उक्लिए । त्यतिबेला ३९ वर्ष पुगेका गेट्ससँग १२.९ अर्ब डलरबराबरको सम्पत्ति थियो।

उनी सन् २००० यताका २१ वर्षमध्ये १३ वर्ष विश्वका धनाढ्यको सूचीमा पहिलो नम्बरमा रहे । पछिल्लोपटक २०१४ देखि २०१७ सम्मको चार वर्ष र त्यसअघि सन् २००० देखि २००७ सम्मको आठ वर्ष लगातार गेट्स धनाढ्यको शीर्ष स्थानमा थिए । सन् २००८ मा वारेन बफेटले उछिने पनि २००९ मा पुनः उनी विश्वका धनीको सूचीमा उक्लिए । 

२०१० देखि १०१३ सम्मको चार वर्ष भने कार्लोस स्लिम सबैभन्दा धनी व्यक्ति बन्दा गेट्स सूचीको दोस्रो स्थानमा रहे । 

सन् २०१८ यता भने धनाढ्यको सूचीमा सबैभन्दा अगाडि अमेजनका संस्थापक जेफ बेजोस छन् भने गेट्स त्यसयताका अधिकांश वर्ष दोस्रो स्थानमा रहेपनि यो वर्ष चौथोमा झरेका छन् । यद्यपि, उनीसँग अहिले करिब १३० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । 

परोपकारी काममा केन्द्रित हुने भन्दै बिल गेट्सले गत वर्ष माइक्रोसफ्टको अध्यक्षता छोडिसकेका छन् भने सीईओको भुमिका सन् २००० मा नै स्टिभ बालमरलाई सुम्पिएका थिए । वालमरपछि सन् २०१४ यता भने भारतीय मुलका सत्य नाडेल्ला माइक्रोसफ्टका सीईओ छन् ।

सम्बन्ध बिच्छेदको महँगो मूल्य

विगत चार वर्षदेखि स‌ंसारकै धनी रहेका अर्का अर्बपति दम्पत्ती जेफ बेजोस र म्याकेन्जी स्कटको सम्बन्ध बिच्छेदको दुई वर्षपछि गेट्स दम्पत्ती पनि अलग हुने भएका हुन् । बेजोस् दम्पत्ती छुट्टिँदा म्याकेन्जीले अमेजनको ४ प्रतिशत सेयर पाएकी थिइन्, जसको मूल्य त्यतिबेला ३६ अर्ब डलर बराबर थियो ।

गेट्स दम्पत्ती छुट्टिँदा मेलिन्दाले बिलबाट कति बराबरको सम्पत्ति पाउँछिन् भन्ने अहिले नै टुंगो लागिनसकेको भए पनि बिल गेट्सका लागि पनि यो सम्बन्ध बिच्छेद महँगो पर्ने पक्का छ ।