BIZMANDU
www.bizmandu.com

खेतमै पुगेर तरकारी र फलफुल किन्दै ‘मेरो किसान’, बिचौलिया घटाउँदै सस्तोमा काठमाडौंका भान्छामा

२०७८ बैशाख २०

खेतमै पुगेर तरकारी र फलफुल किन्दै ‘मेरो किसान’, बिचौलिया घटाउँदै सस्तोमा काठमाडौंका भान्छामा
खेतमै पुगेर तरकारी र फलफुल किन्दै ‘मेरो किसान’, बिचौलिया घटाउँदै सस्तोमा काठमाडौंका भान्छामा


Tata
GBIME
Nepal Life

काठमाडौं। भारतको प्रख्यात सप्लाइ चेन तथा टेक कम्पनी निन्जाकार्टबाट प्रेरित भएर २०७६ चैतदेखि 'मेरो किसान' प्लाटफम संचालनमा आएको थियो। मेरो किसानले सुरुवातमा बिजनेस टू बिजनेस (बीटूबी) मोडलबाट तरकारी तथा फलफुल बिक्री गर्ने योजना बनाएको थियो।

तर लकडाउनका कारण संस्थागत विकास र बजारीकरणलाई असर नपुगोस् भनेर बिजनेस टू कस्टुमर (बीटूसी) पनि थप गर्दै दुवै सेवा सुरु गरेको कम्पनीका संस्थापक एवं सीईओ अविनास सिलवालले जानकारी दिए।

बीटूबी मोडलअन्तर्गत कम्पनीले काठमाडौं उपत्यकाका विभिन्न रेष्टुरेन्ट, तरकारी पसललगायतमा तरकारी तथा फलफुल डेलिभरी गर्दै आएको छ।

कम्पनीले माग व्यवस्थापन र ग्राहकको विश्वास कायम राखिराख्न तरकारी तथा फलफुलको माग धान्न नसकेको अवस्थामा बजारबाट खरिद गरेर बिक्री गर्ने गरेको सिलवालले जानकारी दिए।

'हाम्रो मुख्य प्राथमिकता भनेको स्थानीयस्तरमा (लोकल) उत्पादित तरकारी तथा फलफुललाई उपभोक्तासम्म पुर्‍याउनु हो। सधैं सबै सिजन वा नेपालमा निश्चित तरकारी वा फलफुल उत्पादन हुँदैन। त्यस्तो समयमा हामी बजारबाटै तरकारी तथा फलफुल खरिद गरेर बिक्री गर्ने गरेका छौं,' सिलवालले भने।

कम्पनीले नेपालका विभिन्न जिल्लाहरुमा पाइने तरकारी तथा फलफुलजन्य स्थानीय उत्पादनहरु काठमाडौं ल्याएर बिक्री गर्छ। केही महिनाअघि कम्पनीले सुदूरपश्चिमको डडेलधुराको मौसम पहिलोपटक काठमाडौं ल्याएर बिक्री गरेको सिलवालले बताए। 

कम्पनीले नवलपरासीको मेवादेखि विभिन्न क्षेत्रमा फलेका ६-७ हजार किलो किबी उचित मूल्यमा किसानसँग किनेर बजारमा बिक्री गर्ने गरेको छ। भाटभटेनीलगायतका सुपरस्टोरहरुले पनि कम्पनीकै लेभलिङसहितको किबी बिक्री गरिरहेको सिलवालले जानकारी दिए। 

कम्पनीले आफ्नै कृषि फार्म पनि सञ्चालन गरिरहेको छ। प्रत्यक्ष रुपमा ३० जना किसानहरुलाई आबद्ध गराएर उनीहरुले गर्ने उत्पादन बिक्री गरिरहेको सिलवालले जानकारी दिए। 

अहिलेसम्म साढे दुई करोड रुपैयाँ लगानी भइसकेको बताएका सिलवाल आफैंले तार्केश्वरको लोलाङ हाइटमा १४ रोपनी क्षेत्रफल लिजमा लिएर मौसमी खेती गरिरहेको बताए।

किसानले आफ्नो मूल्य पाउन र कमभन्दा कम बिचौलियाले ग्राहकसम्म सस्तोमा गुणस्तरीय तरकारी तथा फलफुल पुगोस् भन्ने उद्देश्य  रहेको सिलवालले बताए। 

कम्पनीले अहिले काठमाडौं उपत्यका भित्र मात्रै तरकारी तथा फलफुल होम डेलिभरी गरिरहेको जनाएको छ।

किसानले पाउँछन् कालिमाटी बजारको उच्चतम मूल्य
कम्पनीले कृषि मन्त्रालयअन्तर्गतको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले दैनिक सार्वजनिक गर्ने मूल्यलाई आधार बनाएर किसानलाई भुक्तानी दिने सिलवालले जानकारी दिए। 

कम्पनीले कुनै पनि तरकारी वा फलफुलको उच्चतम विन्दूको मूल्य नै कृषकलाई भुक्तानी गर्ने जनाएको छ। 

'कुनै तरकारीको मूल्य ६० देखि ७० रुपैयाँको रेन्जमा छ भने हामी किसानलाई ७० रुपैयाँमा खरिद गर्छौं। उदाहरणका लागि हामीले पाँच सय किलो काउली खरिद गर्दा एक केजीमा १० रुपैयाँ किसानलाई बच्यो भने पनि पाँच हजार रुपैयाँ नाफाकै रुपमा बस्ने रहेछ। यसले किसानलाई उचित मूल्यसँगै हामीसँग व्यापार गर्न उत्प्रेरित गर्छ,' सिलवालले भने।

किसानको खेतमै पुगेर कम्पनीले तरकारी तथा फलफुल ढुवानी गर्ने भएकाले उनीहरुको खर्च जोगिने सिलवालले बताए। यसले किसानहरुलाई ठूलो राहत पुगेको दाबी गरे।

किसानलाई बीमाको सुविधा!
कम्पनीमा आबद्ध हुने किसानहरुका लागि कम्पनीले कृषि बीमाको सुविधा दिने तयारी गरिरहेको सिलवालले जानकारी दिए। 

सरकारले कृषि बीमाको करिब ७५ प्रतिशत प्रिमियम भुक्तानी गरिरहेको छ। बाँकी २५ प्रतिशत पनि किसानहरुले विभिन्न झन्झट मानेर नतिरेको बताउँदै सिलवालले कम्पनीमा आबद्ध हुने किसानलाई कम्पनीले आफैं २५ प्रतिशत प्रिमियम भुक्तानी गर्ने बताए।

'केही साता अघि देशभर चलेको हावाहुरीले हाम्रो स्टील स्ट्रक्चरको फार्मका सामाग्री त उडायो। सामान्य फार्महरुमा झन् बढी क्षति पुग्यो। हाम्रो सामान्य प्लास्टिकहरु उडाउँदा पनि डेढ दुई लाख रुपैयाँ खर्च लाग्यो। धेरै किसानहरुले कृषि बीमा नगरेकाले यस्ता प्राकृतिक विपद्ले पारेको क्षतिबाट उब्रिन सक्ने अवस्था हुँदैन,' सिलवालले भने।

कम्पनीले कृषकहरुलाई बैंक कर्जाको प्रक्रियामा सहजीकरण समेत गर्ने तयारी गरेको छ। कम्पनीले आफुसँग आबद्ध हुने किसानहरुलाई आफ्नै कम्पनीका प्राविधिक कर्मचारीहरुले कृषि बीमा, कर्जालगायतका सुविधामा सहजीकरण गर्ने सिलवालले बताए। जसका कारण किसानहरुलाई सहज हुने बताइएको छ।