BIZMANDU
www.bizmandu.com

माग घटेसँगै कुखुराको मूल्य निरन्तर ओरालो, निषेधाज्ञा लम्बिए मासुको खुद्रा मूल्य २५० मा झर्ने

२०७८ बैशाख २०

Tata
GBIME
Nepal Life

काठमाडौं। देशभरका आधाभन्दा धेरै जिल्लामा निषेधाज्ञा लागु भएसँगै बजारमा कुखुराको मासुको मूल्य ओरालो लाग्न थालेको छ। निषाेधाज्ञाका कारण माग नै घट्न थालेपछि कुखुराको मासुको मूल्य पनि निरन्तर ओरालो लाग्दै गएको हो। 

वैशाख १६ बाट निषेधाज्ञा लागु हुनअघि प्रतिकेजी खुद्रा मूल्य ४ सय ६५ रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासु अहिले ३ सय ७० रुपैयाँमा आइपुगेको छ। त्यतिबेला कुखुराको थोक मूल्य नै ४ सय ५ रुपैयाँसम्म पुगेको थियो।

सामान्यतया खुद्रा व्यापारीले किलोमा २० देखि ५० रुपैयाँसम्म नाफा राख्ने गरेका छन्। सोमबार कुखुराको थोक मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ रहेको व्यावसायी नेम नारायण श्रेष्ठले बताए।

उनका अनुसार अहिले जिउँदो कुखुराको मूल्य २ सय ८० देखि ३ सय रुपैयाँसम्म छ। यद्यपि  खुद्रा बिक्रेताले ठाउँअनुसार किलोको ३ सय ५० मा समेत बिक्री गरिरहेको पाइएको छ । 

गत वर्षको लकडाउनले ब्रोइलर कुखुराको मूल्यमा एकाएक गिरावट आउँदा तयारी मासु समेत किलोको २ सय २० रुपैयाँसम्म झरेको थियो। अहिले केही दिनअघि निषेधाज्ञा नलाग्दासम्म होटल तथा रेष्टुरेन्टहरुमा कुखुराको मासुको माग बढ्दै जाँदा मूल्य पनि उकालो लाग्दै गएको थियो । यस्तै विवाहको सिजन समेत रहेकाले पनि केही दिन अघिसम्म मासुको माग बढ्दै गएको थियो । यसले पनि कुखुराको मासुको मूल्य बढाएको थियो । 

अहिले स्थानीय प्रशासनले बिहान र बेलुकाको निश्चित समयबाहेक मासु पसल खोल्न अनुमति दिएको छैन। यसबाट पनि व्यापार प्रभावित भएको व्यवसायीहरुले बताएका छन् । 

बजारमा माग कम हुँदा सिस्टममा रहेका चल्ला नै फ्याक्नुपर्ने अवस्था आएको नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष एवं अविनाश ह्याचरीका अध्यक्ष गुणचन्द्र बिष्टले बताए। उनका अनुसार दैनिक ७ लाख चल्ला उत्पादन हुनुपर्ने यतिबेलाको सिजनमा डेढ लाखमा झरेको छ। उनी भन्छन्, 'पोल्ट्री व्यवसायमा केही सन्तुलन नहुँदा व्यवसायी र कृषकसँगको स्टक बढिरहेको छ । जबकी, साढे २ किलो कटेपछि कुखुरा मर्ने सम्भावना बढ्दै जान्छ । यसरी कुखुरालाई स्टोर गर्न नसक्दा उत्पादक र उपभोक्ता दुबैलाई असर गरिरहेको छ।'

कोभिडको संक्रमण बढ्दै गए कुखुराको मूल्य अझै ओरालो लाग्ने उनको भनाइ छ। सामान्य अवस्थामा नेपालभरमा दैनिक १० लाख केजी कुखुराको मासु खपत हुँदै आएको छ। कोभि संक्रमण बढेसँगै ठाउँठाउँमा निषेधाज्ञा लगाउन क्रम बढेसँगै कुखुरा तथा मासुको मागको दर पनि क्रमशः घट्दै गएको पोल्ट्री तथा मासु व्यवसायीहरुको भनाइ छ ।

कुनै पनि कोल्ड स्टोरसँग ठूलो परिमाणमा कुखुरा भण्डारण गर्न सक्ने क्षमता छैन। यसैले बजारको तत्कालको माग र आपूर्तिले कुखुराको मासुको मूल्य निर्धारण हुँदै आएको व्यावसायी विष्टको भनाइ छ।

दैनिक ३५ सय कुखुरा काटिरहेको काठमाडौंको सितापाइलास्थित बुढाथोकी कोल्ड स्टोरले अहिले एक हजारदेखि १५ सयवटा मात्रै कुखुरा काटिरहेको जानकारी दिएको छ। बजारमा माग कम हुदैं गएपछि कुखुरा बध कम गरेको हो। यस्तै कर्मचारी अभावले पनि कोल्ड स्टोरले काम गर्न सकेको छैन। कम्पनीका एक कर्मचारीले भने 'अहिले कुखुरा जति पनि उपलब्ध रहेको छ तर बिक्री ह्वातै घटेको छ, अहिले स्टोरमा बोनलेस बनाएर प्याकिङ गर्ने काम भैरहेको छ।'  

कुखुराको मूल्य अझै घट्ने

कोभिडको दोस्रो चरणको लहर सुरु भएपछि कुखुराको मूल्य निरन्तर ओरालो लाग्दै गइरहेको छ। संक्रमण सुरु हुनुभन्दा पहिले खुद्रा मूल्य ४ सय ६५ सम्म पुगेको थियो । यो मूल्य घटेर अहिले ३ सय ७० सम्म आइसकेको छ। लकडाउन लम्बिँदै जाँदा यो मूल्य २ सय ५० सम्म आइपुग्ने अनुमान व्यावसायीहरुले गरेका छन्। अहिले कुखुरा ३७ देखि ४० दिनमा तयार हुन्छ।

कुखुरा तयार भैसकेपछि जति ढिलो भयो कृषकलाई नोक्सानी हुने भएकाले छिट्टै बजार पठाउने गरिन्छ। चालु वर्षको भदौ महिनामा यो मूल्य घटेर २ सय २० सम्म आइपुगेको थियो। अहिले ब्रोइलर कुखुरा उत्पादन हुने उपयुक्त समय हो । लकडाउन लम्बिदै जाँदा मूल्य पनि घट्दै जाने निश्चित छ। 

अहिले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। यसले होटल तथा रेस्टुँरा पूर्णरुपमा बन्द भएकोले यसको मूल्यलाई प्रभाव गर्नेछ।