BIZMANDU
www.bizmandu.com

कोभिड संक्रमण बढेपछि एयर लिफ्टिङको माग बढ्यो, तर काठमाडौंका हस्पिटलमा बेडनै छैन


कोभिड संक्रमण बढेपछि एयर लिफ्टिङको माग बढ्यो, तर काठमाडौंका हस्पिटलमा बेडनै छैन
कोभिड संक्रमण बढेपछि एयर लिफ्टिङको माग बढ्यो, तर काठमाडौंका हस्पिटलमा बेडनै छैन


काठमाडौं। कोभिड-१९ दोस्रो लहर बढेसँगै एयर लिफ्टिङको माग बढेको छ। माग बढेसँगै कोभिड संक्रमित विरामी ओसारपसार गर्न धौधौ भएको हेलिकोप्टर व्यवसायीले जनाएका छन्।

Tata
GBIME
Nepal Life

विभिन्न जिल्लामा सिकिस्त भएका विरामीलाई काठमाडौंमा उपचार गर्न ल्याउन चाहने धेरै छन्। तर काठमाडौंमा आइसीयू र भेन्टिलेटर अभाव भएपछि एयर लिफ्टिङ गर्न समस्या भएको उनीहरु बताउँछन्।एक साता यता कोभिड संक्रमित विरामी बढ्न थालेपछि विभिन्न अस्पतालमा बेड पाउनै मुस्किल रहेको अल्टिच्युड एयरका बजार प्रमुख सीताराम सापकोटाले बताए।

'संक्रमित विरामी ओसारपसारको माग आएसँगै सबै कम्पनीलाई भ्याइनभ्याइ छ। संक्रमित विरामी धेरै आउन थालेपछि अस्पतालले विरामी नै नलिने अवस्था आएको छ,' उनले भने। उनका अनुसार कम्पनीले एक साता यता पाँच वटा एयरलिफ्टिङ सेवा दिएको छ। एउटा हेलिकोप्टरमार्फत दैनिक अधिकतम दुई जना विरामीलाई सेवा दिन सकिने बताउँदै उनले भने,'यो उडानका लागि आइसोलेशन ब्याग, अस्पताल, चिकित्सक, स्वास्थ्य उपकरण लगायत तयार गर्नुपर्ने हुन्छ। प्रक्रिया अलि लामो हुने भएका कारण दैनिक अधिकतम दुईवटा उडान गर्न सकिन्छ,' उनले भने।

सापकोटाका अनुसार यतिखेर एयरलिफ्टिङको लागि प्रति घण्टाका आधारमा भाडादर १२ देखि १३ सय अमेरिकी डलर निर्धारण हुँदै आएको छ।संक्रमण बढेसँगै संक्रमित विरामीका लागि अस्पतालमा बेड पाउनै मुस्किल रहेको सिम्रिक एयरले जनाएको छ। पाँचवटा मध्ये संक्रमित विरामीलाई सेवा दिनका लागि दुईवटा डेडिकेटेड हेलिकोप्टर राखेको कम्पनीका बजार प्रमुख योगेश सापकोटाले बताए।

उनका अनुसार पछिल्लो दुई साता यता कम्पनीले करिब एक दर्जन एयरलिफ्टिङ सेवा दिइसकेको छ। 'हामीसँग दैनिक १० वटा सम्म एयरलिफ्टिङ सेवा दिने क्षमता रहेको छ। तर अहिले काठमाडौंका अधिकांश अस्पताल यहीँका विरामीले भरिभराउ भइसकेका छन्। आइसीयू, भेन्टिलेटर पाउनै मुस्किल छ, ' बजार प्रमुख सापकोटाले भने।

उनका अनुसार कम्पनीले महाराजगंजको टिचिङ हस्पिटल, नर्भिक, मेडिसिटी, ह्याम्स लगायत विभिन्न अस्पतालको सहकार्यमा कोभिड संक्रमित विरामीलाई आकस्मिक सेवा दिँदै आएको छ।जटिल अवस्थामा रहेका कोभिड संक्रमित विरामीलाई अस्पतालमा बेड पाउनै मुस्किल रहेको कैलाश हेलिकोप्टरका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए। 'उपत्यका बाहिरबाट क्रिटिकल अवस्थामा पुगेका विरामीलाई एयरलिफ्टिङ मार्फत काठमाडौं ल्याइन्छ। विरामी ल्याउन कुनै अप्ठ्यारो विषय रहेन। तर यहाँ रहेका अस्पतालमा बेड पाउनै मुस्किल छ,' प्रवन्ध निर्देशक पाण्डेले भने।

कोभिड संक्रमित विरामी बढेपछि मनाङ एयरले दैनिक पाँच वटा सम्म एयरलिफ्टीङ सेवा दिँदै आएको बजार प्रमुख शेचन सुवेदीले बताए। दुईवटा डेडिकेटेड जहाज मार्फत कोभिड संक्रमित विरामीलाई सेवा दिँदै आए पनि पछिल्लो समय अस्पतालमा बेड पाउनै मुस्किल रहेको बजार प्रमुख सुवेदीले जानकारी दिए।

यतिखेर कोभिड संक्रमित विरामीलाई एयरलिफ्टिङ सेवाका लागि अत्याधिक माग आएपनि अस्पतालमा विरामी राख्ने ठाउँनै नहुँदा समस्या भएको वायुसेवा संचालक संघका प्रवक्ता योगराज कंडेल शर्माले बताए। 'अस्पतालसँग बेड निश्चित भएपछि मात्र हामीलाई विरामी ल्याउनका लागि आदेश दिइएको छ। माग बढेको बढै छ। लिफ्टिङ गर्न समस्या छैन,' प्रवक्ता कंडेलले भने।

उनका अनुसार पछिल्लो समय दैनिक न्यूनतम २५ वटा एयरलिफ्टिङको माग आइरहेको छ। एयरलिफ्टीङमा क्याप्टेन, दुईजना चिकित्सक(प्यारामेडिक टोली) र विरामी लगायत चारजना राखिनेछ। बिरामी राख्नका लागि आइसोलेटेड उपकरण प्रयोग गरिनेछ। हेर्दा 'ट्रान्सप्यारेन्ट ब्याग' जस्तै उपकरणमा अक्सिजन सप्लाइ, एयर सप्लाइ लगायत भित्रै जडान गरिएको हुन्छ। कोभिड-१९को पहिलो लहर सुरु भएसँगै सिम्रिक, एयर डाइनेष्टी, प्रभु, हेली एभरेष्ट, श्री, अल्टिच्युड, कैलाश, मनाङ लगायत कम्पनीले एयर लिफ्टिङ सेवा गर्न स्वास्थ्य मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएका थिए।