BIZMANDU
www.bizmandu.com

नागरिक एपको फुल भर्सन सार्वजनिक, एपबाटै खोले प्रधानमन्त्रीले नेपाल बैंकमा खाता

२०७८ बैशाख १९

नागरिक एपको फुल भर्सन सार्वजनिक, एपबाटै खोले प्रधानमन्त्रीले नेपाल बैंकमा खाता
नागरिक एपको फुल भर्सन सार्वजनिक, एपबाटै खोले प्रधानमन्त्रीले नेपाल बैंकमा खाता

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार सूचना प्रविधिसँग सम्बन्धित विभिन्न निर्णयहरु गरेको छ। 

 सरकारले नागरिक एपको 'नागरिक एप' को फुल भर्सन (१.३.१) सावर्जनिक गरेको छ। सरकारी निकायहरुले विभिन्न सेवाहरुलाई डिजिटलाइज गर्दै लगेपछि सेवापिच्छे फरक फरक मोबाइल एप सञ्चालन गर्नुपर्ने झन्झटलाई ध्यानमा राख्दै गत माघ २ गते मन्त्रालयले एपको बेटा भर्सन सार्वजनिक गरेको थियो।

सम्पूर्ण व्यक्तिगत कागजात (सरकारी निकायले जारी गर्ने) वा सूचनालाई एउटै प्लाटफमबाट उपलब्ध गराएर सार्वजनिक सेवालाई चुस्त बनाउने उद्देश्यले सरकारले नागरिक एप सार्वजनिक गरेको थियो।

नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्डसहितका विवरण समावेश गरिएको छ।  

आव २०७५/७६ को नीति तथा कार्यक्रमले नागरिक एपको परिकल्पना गरेको थियो। राजस्व, यातायात, ट्राफिक, लोकसेवा जस्ता सेवाहरुका लागि झन्झटसँगै लामो समय र दु:ख व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालय नगइ विद्युतीय माध्यमबाटै काम हुने दिशामा नागरिक एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास सरकारको छ। 

नागरिक एपको प्रयोगले समयको बचत, झन्झट हट्ने, खर्च जोगिने र पारदर्शीता बढ्ने दाबी सरकारको छ।नागरिक एप प्रयोग गरी तीन हजारभन्दा बढीले प्रहरी रिपोर्ट र १० हजारभन्दा बढीले प्यान कार्ड लिएका छन्। सरकारले नागरिक एपबाटै सवारीसाधनको कर, स्थानीय निकायको कर तिर्न सकिने गरी विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। 

नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाइनबाट बैंक खाता, लोक सेवा फारम भर्न, सिम कार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नागरिक एपबाटै नेपाल बैंकमा खाता खोलेका छन्। अहिले नेपाल बैंकसँगै नागरिक एपबाट सिद्धार्थ बैंकमा खाता खोल्न सकिने बताइएको छ।