BIZMANDU
www.bizmandu.com

शनिबार पनि सीडीओको अनुगमनः सरकारी र बैंक वित्तीय संस्थाका कर्मचारीले गर्दा भीड बढेको निष्कर्ष

२०७८ बैशाख १८

Tata
GBIME
Nepal Life

काठमाडौं। निषेधाज्ञा अझ त्यसमाथि शनिबार। त्यसैले गर्दा आज काठमाडौं उपत्यकाभित्रका सडक सुनसान देखिए। अत्यावश्यक मानिने सवारी साधन छिटपुट गुडेका छन्।

कार्यालय र बैंक तथा वित्तीय संस्था नखुलेकाले काठमाडौं उपत्यका अरु दिन भन्दा बढी सुनसान देखियो।

कोरोना संक्रमण रोकथाम गर्ने भन्दै स्थानीय प्रशासनले बिहीबार बिहानबाट एक साताका लागि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञा जारी भए पनि बिहीबार र शुक्रबार भने काठमाडौंका सडकमा केही भीड देखिएको थियो। त्यसैको परिणाम विभिन्न निकायहरूले गृह मन्त्रालयमा काठमाडौंको निषेधाज्ञा थप कडा गर्नुपर्ने ब्रिफिङ गरेका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुली, काठमाडौंका प्रहरी प्रमुख अशोक सिंह, महानगरीय ट्राफिक प्रहरी प्रमुख जनकराज भट्टराईको टोलीले बिहीबार काठमाडौंका विभिन्न ठाउँमा पुगेर अनुगमन समेत गर्‍यो। त्यहाँ पुग्दा सडकमा भीड, नागढुंगामा सवारीको जामसमेत देखेका थिए उनीहरुले।

त्यस्तै, शनिबार बिहान पनि यही टोलीले काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमन गर्‍यो। शनिवार गरेको अनुगमनमा काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य पनि थपिए। 

'शनिबार सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था नखुल्ने भएकाले पनि सुनसान भएको बुझियो। निषेधाज्ञा प्रभावकारी बनाउने हो भने यस्ता क्षेत्रलाई अझै कडाइ गर्नु पर्ने देखिएको छ। यस विषयमा छलफल हुन्छ,' काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

शनिबार बिदाको दिन भए पनि सडकमा केही सरकारी गाडीहरू गुडेको भने भेटियो। त्यस्ता गाडीहरूलाई सीडीओको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। त्यस्तै, मास्क नलगाइ हिँड्ने र काम बाहेक निस्किनेलाई समेत नियन्त्रणमा लिन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको निर्णयमा भएको एक साताको निषेधाज्ञा २२ गतेबाट सकिँदैछ। तर, थप एक साता निषेधाज्ञा लम्ब्याउन मन्त्रिपरिषदले निर्देशन दिएको छ। जारी निषेधाज्ञालाई थप कडाइ गर्न तीनै वटा जिल्लाका सीडीओहरूले गृह सचिवलाई जानकारी गराइसकेका छन्।

२० गते तीन वटै जिल्लाका सीडीओहरूको बैठक बोलाएर निषेधाज्ञा थप्ने र प्रभावकारी बनाउन केही सेक्टरलाई थप कडाइ गर्ने तयारी भइरहेको पराजुलीले बताए।

'यो पहिलो चरणको निषेधाज्ञा हो। २० गते बैठक बसेर थप केही क्षेत्रलाई कडा गर्ने तयारी भइरहेको छ,' सीडीओ पराजुलीले भने।

पछिल्लो समय देशभित्र कोभिड सङ्क्रमण फैलिने दर बढेर गएको छ। २२ वटा जिल्लामा कोभिड संक्रमितको संख्या धेरै भएकाले अति प्रभावित जिल्ला भनेर घोषणा भइसकेको छ। जसमा काठमाडौं पनि गरेको छ।

अहिले देशभर दैनिक ५ हजार भन्दा बढी संक्रमित थपिएका छन्। सबैभन्दा धेरै काठमाडौंमा संक्रमित थपिइरहेकाले पनि निषेधाज्ञालाई कडाइ गर्नुपर्ने सम्बन्धित निकायको सुझाव छ।

त्यस्तै, आज सीडीओको अनुगमन टोलीले काठमाडौंमा रहेको वीर अस्पताल नयाँ भवनमा तत्काल  बेड थपेर संक्रमितलाई उपचार गर्न निर्देशन दिएको छ।