BIZMANDU
www.bizmandu.com

ल्याण्डिङ गियर बनाउन नेवानिको वाइडबडी मकालुलाई बाहिर पठाउने तयारी, ३० करोड बीमाको खर्च

२०७८ बैशाख १८

ल्याण्डिङ गियर बनाउन नेवानिको वाइडबडी मकालुलाई बाहिर पठाउने तयारी, ३० करोड बीमाको खर्च
ल्याण्डिङ गियर बनाउन नेवानिको वाइडबडी मकालुलाई बाहिर पठाउने तयारी, ३० करोड बीमाको खर्च

Tata
GBIME
Nepal Life

काठमाडौं। ल्याण्डिङ गियर बिग्रिएर ग्राउण्डेड रहेको  नेपाल वायुसेवा निगमको वाइडबडी जहाज 'मकालु' एक महिनाभित्रै मर्मतसम्भार हुने भएको छ।

यसका लागि लाग्ने ३० करोड रुपैयाँ इन्स्योरेन्स  कम्पनीले नै व्यहोर्न लागेको निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले बताए। निगमले जहाज मर्मत र आवश्यक पार्टपुर्जा फेर्नका लागि ग्लोबल टेण्डर अनुसार कम्पनी छनोट गरिसकेको उनले जानकारी दिए। 'हामीले रीइन्स्योरेन्समार्फत जहाज मर्मतसम्भार गर्ने भएका छौं। यसका लागि निगमको कुनै पनि खर्च हुँदैन। हामीले यो जहाज इण्डोनेशिया र मलेसियामध्ये एउटा मुलुकमा पठाउँछौं। त्यहाँ ल्याण्डिङ गियर खोलेर सिंगापुरमा लगिनेछ,' प्रबन्ध निर्देशक पौडेलले भने।

उनका अनुसार अबको एक सातामा जहाज मर्मतका लागि पठाइनेछ। जहाज लगेको १८ दिनमा जहाज मर्मत सकिएर नेपाल ल्याइने उनले बताए। 'यो जहाज एओजी (एयरक्राफ्ट अण्डर ग्राउण्ड) अनुसार मर्मत सम्भार गर्नुपरेको भए करिब एक अर्ब रुपैयाँ खर्च हुन आउँथ्यो। हामीले त्यो गरेनौं,' उनले भने, 'मर्मत गर्ने कम्पनीले पनि सुरुमा ४५ करोड रुपैयाँको माग गरेको थियो। हामीले बार्गेनिङ गरेर ३० करोड रुपैयाँ ल्याण्डिङ गियर मर्मत र पार्ट्स फेर्ने सम्झौता गरेका छौं।'

गत जनवरी ८ तारिखमा मापदण्ड विपरीत हेभी ल्याण्डिङ गरिएपछि जहाजको ल्याण्डिङ गियरमा समस्या आएको थियो। मापदण्ड विपरीत हेभी ल्याण्डिङ गरेर जानकारी नदिएको आरोपमा नेवानिले एयरबस-३३० मा कार्यरत क्याप्टेन र को-पाइलटलाई दुई महिनाका लागि ग्राउण्डेड गरिसकेको छ। 

कोभिड दोस्रो लहर आएसँगै हाल निगमसँग भएको तीनवटा उडानयोग्य जहाज 'एउटा वाइडबडी र दुईवटा न्यारोबडी' जहाज पर्याप्त मात्रामा प्रयोगमा नरहेको उनले जानकारी दिए। 'विभिन्न मुलुकमा उडानका लागि गरिएको अग्रिम बुकिङ धमाधम काटिन थालेका कारण अधिकांश उडानहरु नै रद्द भएका छन्। पछिल्लो समय हामीसँग भएका जहाजको युटिलाइजेसन भएको छैन,' उनले भने।