BIZMANDU
www.bizmandu.com

सरकारी निकायले अनुमति नदिँदा इ-कमर्सबाट खाद्यान्न डेलिभरी बन्द, भीडभाड हुने ठाउँलाई भने खुला


सरकारी निकायले अनुमति नदिँदा इ-कमर्सबाट खाद्यान्न डेलिभरी बन्द, भीडभाड हुने ठाउँलाई भने खुला
सरकारी निकायले अनुमति नदिँदा इ-कमर्सबाट खाद्यान्न डेलिभरी बन्द, भीडभाड हुने ठाउँलाई भने खुला


Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना महामारी भयावह बन्दै गएपछि स्थानीय प्रशासनले काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा निषेधाज्ञा लगाएपछि इ-कमर्स कम्पनीहरु अन्योलमा परेका छन्।

पसल वा बजार नगई विद्युतीय माध्यमबाटै अत्यावश्यक सामाग्री घरको ढोकासम्मै मगाउन सकिने भए पनि सरकारले इ-कमर्सलाई सञ्चालन अनुमति दिएको छैन।

गत भदौमा लगाइएको निषेधाज्ञामा काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खाद्यान्न डेलिभरीलाई अत्यावश्यक सेवामा राख्दै सञ्चालन अनुमति दिएका थिए। तर, प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै इ-कमर्ससँगै फुड डेलिभरी गर्ने कम्पनीका सञ्चालकहरुलाई कार्यालयबाटै पक्राउ गरेको थियो।

अहिले पनि त्यही घटना दोहोरिने डरले खाद्यान्न डेलिभरी गर्न पनि इ-कमर्स कम्पनीहरु प्रशासनको स्पष्ट निर्देशनको पर्खाइमा छन्।

बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्रै खाद्यान्न पसल खोल्न स्थानीय प्रशासनले अनुमति दिएकाले इ-कमर्सलाई पनि ग्राहकको घरसम्म खाद्यान्न डेलिभरीको सुविधा दिँदा भीड कम गर्न सहयोग पुग्ने कम्पनीहरुको दाबी छ। 

सहरका उपभोक्ताहरु अनलाइनबाट सामान खरिद गर्न अभ्यास्त हुँदै गएको साथै महामारी नियन्त्रण गर्न कम्पनीहरुले आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै डेलिभरी गराउने हुनाले बजारमा भीड कम गराउने प्रभावकारी उपाय इ-कमर्स प्लाटफम भएपनि सञ्चालन अनुमति दिएको छैन।

सीडीओहरुले निषेधाज्ञाको आदेशमा इ-कमर्स सञ्चालन गर्न दिने स्पष्ट निर्देशन नदिँदा कम्पनीहरु अन्योलमा परेको बताएका छन्।

अत्यावश्यक खाद्यान्नलगायतका वस्तुको डेलिभरी गर्न छुट दिनुपर्ने भन्दै इ-कमर्स कम्पनीहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयदेखि उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) मा सुझाव पेश गरेका छन्। तर, सरकारले शुक्रबार मध्यान्नसम्म इ-कर्मस प्लाटफमबाट डेलिभरी सञ्चालन गर्न अनुमति दिएको छैन।

इ-कमर्स प्लाटफम दराजले तत्काल कुनै पनि सामाग्रीको डेलिभरी सञ्चालन नगरेको कम्पनीकी मार्केटिङ प्रमुख सलिना नकर्मीले जानकारी दिइन्। विहीबार साँझसम्म सरकारी निकायसँगको छलफलमा अत्यावश्यक सेवा सञ्चालन र डेलिभरी गर्न कुनै पनि प्रकारको पास आवश्यक नपर्ने जानकारी आएको भन्दै नकर्मीले अब कसरी अगाडी बढ्ने भन्ने बारे छिट्टै निर्णय लिने बताइन्। कम्पनीले निषेधाज्ञा अघिका अर्डरहरु पनि डेलिभरीमा ढिलाइ हुन भन्दै सूचना जारी गरेको छ।

यस्तै, सस्तोडिलले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँगको सहकार्यमा खाद्यान्न डेलिभरी गरिरहेको कम्पनीका सीइओ अमुन थापाले जानकारी दिए। तर, सरकारले अझैसम्म पनि इ-कमर्स कम्पनीले के गर्न पाउने नपाउने भन्ने स्पष्ट नगरेकाले अन्योलको अवस्था रहेको उनले बताए।

कम्पनीले काठमाडौं उपत्यकासँगै पोखरा, बुटवल, इटहरीसहितका सहरहरुमा खाद्यान्नबाहेक अन्य कुनै सामान डेलिभरी नगरेको जनाएको छ। थापाले अब अत्यावश्क वस्तुको परिभाषा सरकारले बदल्नु पर्ने बेला आएको जिकिर गरे। सरकारी आदेशको पालना गर्दै कार्यालय, शैक्षिक गतिविधिलगायतका संस्थाहरु घरबाटै सञ्चालन गर्नुपर्ने अवस्था भएकाले खाद्यान्न मात्रै अत्यावश्यक वस्तु नहुने थापाको तर्क छ। 

'घरबाटै पढ्न वा काम गर्न विद्युतीय ग्याजेट्स, स्टेसनरीलगायत अत्यावश्क पर्न सक्छ। किचेनमा रहेको इन्डक्सन वा चुलो बिग्रियो भने नयाँ किन्ने अवस्था छैन। मान्छे भोकै पर्न सक्छ। इ-कमर्सबाट यस्ता वस्तुहरु डेलिभरी गर्न दिनु पर्छ,' थापाले भने। 

सस्तोडिलले भ्यानबाट मात्रै खाद्यान्न डेलिभरी गरिरहेको छ। दुई वटा टिमलाई १५/१५ दिन बिराएर डेलिभरीमा परिचालन गर्ने तयारी सस्तोडिलको छ। पीसीआर परीक्षण नेगेटिभ भएपछि मात्रै कम्पनीले वितरणमा कर्मचारी खटाउने गरिको उनले बताए। 

त्यसैगरी, भाटभटेनीले पनि खाद्यान्न होम डेलिभरी गरिरहेको जनाएको छ। सरकारले औपचारिक रुपमा होम डेलिभरी गर्न कुनै निर्देशन नदिएकाले समस्या परेको कम्पनीका कार्यकारी निर्देशक कल्याण गुरुङले जानकारी दिए। शुक्रबार साँझसम्म यसबारे प्रशासनको निर्णय आउन सक्ने उनले बताए। 

भाटभटेनीले फुड डेलिभरी सेवा दिँदै आएको फुडबस्टरसँगको सहकार्यमा ग्रोसरी डेलिभरी गरिरहे पनि आफ्ना सवारी साधनमा प्रहरी प्रशासनले रोकतोक गरिरहेको बताए।

अर्को इ-कमर्स कम्पनी ग्यापुले निषेधाज्ञामा खाद्यान्नलगायतका सामाग्री होम डेलिभरी गर्ने जनाएको छ। पोहोर लकडाउनकै समयमा जन्मिएको ग्यापुले अनलाइनबाटै खाद्य सामग्रीसँगै फलफूल तथा तरकारी बिक्री वितरण गर्दै आएको छ। 

'महामारीको समयमा उपभोक्तालाई भीडभाडमा जान नपर्ने वातावरण सिर्जना गर्नका लागि अत्यावश्यक वस्तुको निःशुल्क होम डेलिभरी सुरु गरिएको हो,' ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले भने, 'स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै छिटो, सस्तो र भरपर्दो सेवा दिन हामी लागिपरेका छौं।'

कम्पनीले सुरुआती दिनबाटै कालिमाटी बजारको भन्दा सस्तो मूल्यमा तरकारी तथा फलफूल बिक्री गरेर छोटो समयमै आफ्नो दायरा फराकिलो पार्न सफल भएको छ।