BIZMANDU
www.bizmandu.com

एक अर्ब लगानी गरेर गुण एयरलाइन्स रिभाइभ, पर्यटन मन्त्रालयबाट पाँचवटा जहाज थप्न पायो अनुमति


एक अर्ब लगानी गरेर गुण एयरलाइन्स रिभाइभ, पर्यटन मन्त्रालयबाट पाँचवटा जहाज थप्न पायो अनुमति
एक अर्ब लगानी गरेर गुण एयरलाइन्स रिभाइभ, पर्यटन मन्त्रालयबाट पाँचवटा जहाज थप्न पायो अनुमति

Tata
GBIME
Nepal Life

काठमाडौं। घरजग्गा व्यापारमा  समस्यामा परेर उक्सिएका राजेन्द्र शाक्यले एक अर्ब लगानी गरेर गुण एयरलाइन्सलाई रिभाइभ गरेका छन्। उनले एक अर्बमा यती एयरलाइन्सको पाँच वटा जेट स्ट्रीम जहाज किनेर दुई महिनाभित्रै संचालनमा ल्याउँदैछन्।

पर्यटन मन्त्रालयले विहीबार गुणलाई पाँच वटा जहाज थप्न अनुमति दिएको छ। भानुभक्त ढकालको संयोजकत्वमा बसेको बैठकले गुणलाई जहाज थप्न अनुमति दिएको हो। २०६४ साल अघि घरजग्गा र सेयर कारोबारमा अर्बौ लगानी गरेका शाक्य राष्ट्र बैंकले ल्याएको नीतिका कारण आर्थिक संकटमा फसेका थिए।

उनले १३ वर्षको अवधिमा वित्तीय व्यवस्थापन गर्दै गुण एयरलाइन्सलाई आक्रामक रुपमा अघि बढाउन लागेका हुन्। आर्थिक रुपमा संकटमा परेका बेला गुण एयरलाइन्सको ब्यवस्थापन सञ्चालन बन्द भएको थियो। आर्थिक संकटबाट वाहिरिएपछि शाक्यले गुण एयरलाइन्सलाई ब्यूँताएर एग्रेसिभ रुपमा चलाउन लागेका हुन्।

 ‘मैले एक अर्ब लगानी गरेर पाँच वटा जहाज थपेको छु। योसँगै हामीसँग सात वटा जहाज हुनेछ,’ शाक्यले बिजमाण्डूसँग भने, ‘दुई महिनाभित्र हामी स्ट्रङ आन्तरिक हवाई क्यारियरको रुपमा आउनेछौं।’ जहाज संख्याका आधारमा गुण तेस्रो ठूलो आन्तरिक उडान कम्पनी बन्नेछ।

यसअघि कम्पनीसँग दुई वटा बिचक्राफ्ट जहाज थियो। शाक्यले जहाज संख्या बढाउने चिढी पाइसकेको र नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया सुरु गर्ने बताए।

'जहाज संख्या बढाउनका लागि हामीले बिहीबार मन्त्रालयबाट चिठी पायौं। अब नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया सुरु गर्छौं। दुई महिनाभित्रमा अहिले थपिएका पाँचैवटा जहाजमार्फत नियमित उडान सुरु गर्नेछौं,' उनले भने।

दुई वर्षभित्र नौवटा जहाजमार्फत सेवा दिने व्यवसायिक योजना छ। थप दुई ट्विनअटर सिरिजका जहाज थप्ने योजना पनि रहेको उनले जानकारी दिए। 'हामी दुई वर्षसम्म जेटस्ट्रिम र ट्विनअटरमार्फत सेवा दिनेछौं। त्यो अवधिमा बिजनेस र मार्केटको मागअनुसार थप जहाज विस्तारमा जाने योजना बनाएका छौं,' उनले भने।

हाल कम्पनीले आफूसँग भएको दुई बिचक्राफ्ट मार्फत एक महिनाभित्रै उडान गर्ने तयारी रहेको उनले बताए। 'अहिले भएको दुईवटा जहाजको डेन्टपेन्टको काम पूरा भएको छ। केही इन्टेरियरका कामहरु बाँकी छन्। बैशाखदेखि सेवा सुरु गर्ने योजना बनाएका थियौं तर कोभिड दोस्रो लहरका कारण समय थोरै लम्बिन गएको हो,' उनले भने।

हाल करिब एक सयजना जनशक्ति कार्यरत कम्पनीले पाँच जहाज थपेसँगै थप डेढ सय जनाभन्दा बढी कर्मचारी भर्ना गर्ने तयारी गरेको छ। जेटस्ट्रिम जहाज सञ्चालनका लागि कम्पनीले यतीमै कार्यरत पाइलट, प्राविधिक परिचालन गर्ने योजना रहेको उनले बताए।

जहाज संख्या विस्तार गरिएसँगै गुणले धनगढीबाहेक सिमरा, भरतपुर, जनकपुर, भद्रपुर, बिराटनगर, नेपालगन्ज, तुम्लिङटार लगायतका विभिन्न गन्तव्यमा उडान सेवा बिस्तार गर्नेछ। यसअघि कम्पनीले दुई बिचक्राफ्टमार्फत पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट लगायतका सेवा दिँदै आएको थियो।