BIZMANDU
www.bizmandu.com

निषेधाज्ञाको पहिलो दिन २६ अंकले बढ्यो बजार, घर बसेर सेयर किनबेच गर्न थालेका हुन् लगानीकर्ताले ?

२०७८ बैशाख १६

निषेधाज्ञाको पहिलो दिन २६ अंकले बढ्यो बजार, घर बसेर सेयर किनबेच गर्न थालेका हुन् लगानीकर्ताले ?
निषेधाज्ञाको पहिलो दिन २६ अंकले बढ्यो बजार, घर बसेर सेयर किनबेच गर्न थालेका हुन् लगानीकर्ताले ?


काठमाडौं । सरकारले कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा १५ दिनका लागि लागु गरेको निषेधाज्ञाको पहिलो दिन सेयर बजार करिब २६ अंकले बढेको छ ।

Tata
GBIME
Nepal Life

निषेधाज्ञाको एक दिनअघि बुधबार कारोबार रकम र सूचक दुवै घटेको सेयर बजारमा आज यो सातको अन्तिम कारोबार दिन भने कारोबार रकम र बजार सूचक नेप्से दुवैमा सुधार भएको हो ।

मंगलबार ९२ अंकभन्दा बढीले छलाङ मारेको नेप्से बुधबार १३ अंकले ओर्लिएको थियो । कारोबार रकम पनि चार अर्बभन्दा केही कम नै रहेको थियो। आज बिहीबार भने बजार सूचक नेप्से २५.८३ अंकले उक्लिँदा नेपाल स्टक एक्सचेन्जमा चार अर्ब ३६ करोड रुपैयाँ बरारबका धितोपत्र किनबेच भए । झन्डै ५१ हजार पटक कारोबार हुँदा २१७ कम्पनीको ९८ लाख १८ हजार कित्ताभन्दा धेरै धितोपत्र कारोबार भएको हो ।

बिहीबार कारोबार भएकामा सामुहिक लगानी कोष (म्युचुअल फन्ड) योजनाका एकाइबाहेक अन्य १८३ कम्पनीको सेयर कारोबार भयो । जसमा १३९ कम्पनीको सेयर मूल्य बढ्यो भने १२ वटाको यथावत रह्यो । ३२ कम्पनीको सेयरका लगानीकर्ताले गुमाए ।

मूल्य बढ्ने १३९ कम्पनीका लगानीकर्ताको सेयर मूल्य कम्तिमा ०.१२ प्रतिशतदेखि १० प्रतिशतसम्मले वृद्धि भएको छ । गुमाउनेलाई बढीमा २.८३ प्रतिशत मात्र नोक्सानी पुग्यो । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको हो ।

दोस्रो बजारमा सूचीकृत भएयता लगातार उकालो लागेको महिला लघुवित्तको सेयर मूल्य आज पनि १० प्रतिशतले बढ्दै सर्किट ब्रेकर लाग्यो । ४३८ रुपैयाँबाट पहिलो कारोबार सुरु भएको महिला लघुवित्तको प्रतिकित्ता मूल्य आज ३० कारोबार दिनमा ३१२५ रुपैयाँ पुगिसकेको छ ।

बुधबारबाट कारोबार सुरु भएको सिंगटी हाइड्रो इनर्जीको मूल्य पनि १० प्रतिशतले बढेर सर्किट ब्रेकर लाग्दा ३६३ रुपैयाँ प्रतिकित्ता पुगेको हो । यस्तै, प्रतिकित्ता ५०९९ रुपैयाँ पुगेको विशाल बजार कम्पनीको सेयर कारोबारमा पनि आज सकारात्मक सर्किट लाग्यो ।

सान्जेन जलविद्युत, एनआरएन इन्फ्रास्टक्चर पनि आज मूल्य सर्वाधिक वृद्धि हुनेमध्येक हुन्। यसपछि सेयर मूल्य सबैभन्दा धेरै बढ्ने १० कम्पनीमध्ये आठवटा जलविद्युत कम्पनीहरुको रहेको छ ।

नेपाल क्रेडिट एन्ड कमर्श बैंकको सेयर सबैभन्दा धेरै रकम (रु. ३० करोड ९७ लाख) को र सबैभन्दा बढी संख्या (८,८४,२४८ कित्ता) खरिद बिक्री भएको छ । कारोबार संख्याका हिसाबले भने निफ्राको अगाडि (२६४८ पटक) रह्यो । बिहीबार शिवम् सिमेन्टको पनि एक करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । हिमालयन पावर, माथिल्लो तामाकोशी, नेपाल रिइन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, निफ्रा लगायतका कम्पनी यसपछि  सर्वाधिक रकमको सेयर कारोबार हुनेमा रहेका छन् ।

निषेधाज्ञाबीच भेट्ला नयाँ उचाइ ?

बैंक तथा वित्तीय संस्थाहरुको प्रकाशित तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय प्रतिवेदनले अधिकांश कम्पनीको नाफा तथा अन्य सूचकमा राम्रो सुधार देखिएकाले सेयर बजारले नयाँ उचाई भेट्ने अनुमान सेयर बजारका विश्लेषक तथा ठूला लगानीकर्ताहरुको छ । तर पछिल्लो दुई सातादेखि सेयर बजारमा ठूलो करेक्शनको संकेत देखिँदा निषेधाज्ञाका बीच बजार अझ ओरालो लाग्ने हो कि भन्ने संशय धेरै लगानीकर्ताहरुमा छ । तर मंगलबार र आज बिहीबार बजारमा आएको वृद्धिले लगानीकर्ताहरुको मनोबललाई ढाडस दिएको छ ।

यसैले अहिले सेयर खरिद बिक्री र यसका लागि आवश्यक खाता खोल्ने लगायतका सम्पूर्ण काम अनलाइनबाटै गर्न सकिने भएकाले  निषेधाज्ञाका बीच पनि लगानीकर्ताहरुले घर बसेरै सेयर बजारमा सक्रियता बढाउने हुँदा बजार सकारात्मक लयमा अघि बढ्ने विश्वास बजार विश्लेषकहरुको छ ।

पोहोर चैतमा कोभिड नियन्त्रणका लागि लकडाउन लगाएपछि घरै बसेर सेयरमा लगानी गर्नेहरुको संख्या ह्वात्तै बढेको थियो । नयाँ लगानीकर्ताहरुको प्रवेशसँगै अनलाइनबाटै सेयर किनबेच गर्ने क्रम बढेपछि सेयर बजारलाई २७३५ को ऐतिहासिक उचाइसम्म पुग्न ठूलो मद्दत पुगेको थियो ।